इलाम २ : शहरी क्षेत्रमा ह्वात्तै भोट बढ्ने रास्वपाको सपना, मुढा पनि ‘कोर एरिया’ पर्खिँदै – Nepal Press

इलाम २ : शहरी क्षेत्रमा ह्वात्तै भोट बढ्ने रास्वपाको सपना, मुढा पनि ‘कोर एरिया’ पर्खिँदै

काठमाडौं । इलाम २ उपचुनावको प्रारम्भिक मतगणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । अहिलेको रुझान हेर्दा रास्वपा र मुढा (स्वतन्त्र) तेस्रो स्थानको दौडमा छन् ।

इलाम २ मा चुनाव जित्ने दावीसहित चार उम्मेदवारहरु मुख्य प्रतिस्पर्धामा थिए । फाकफोकथुम गाउँपालिकाबाट सुरु भएको मतगणनामा कांग्रेसका डम्बर खड्काले प्रारम्भिक अग्रता लिए । तर, पछिल्लो मतगणनामा एमालेका सुहाङ नेम्वाङले खड्कालाई उछिनिसकेका छन् ।

यो गाउँपालिकाका ४ वडाको मतगणना भइसक्दा अहिलेसम्म रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाभन्दा अगाडि मुढा चुनावचिन्ह भएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् । तर, एमाले–कांग्रेससँग रास्वपा र मुढाको अन्तरलाल निकै फराकिलो छ ।

रास्वपाले पहिचानवादीको भोट तान्ने अभिप्रायले मिलन लिम्बुलाई टिकट दिएको थियो । यता पहिचानवादीको साझा उम्मेदवारका रुपमा डकेन्द्र खडा भएका हुन्, जसलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका छन् । मिलन र डकेन्द्र दुवैले चुनाव जित्ने दावी गर्दै आएका थिए ।

त्यसो त अहिले पनि उनीहरुले हार मानिसकेका छैनन् । रास्वपाले ग्रामिण क्षेत्रबाट मतगणना सुरु भएकाले आफूहरु पछि पर्नु अपेक्षित रहेको बताएको छ । रास्वपा नेताहरु शहरी क्षेत्रको मतगणनामा घन्टीको भोट ह्वात्तै बढ्ने दाबी गर्छन् ।

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले फेसबुकमै लेखेकी छन्, ‘४२ वडामध्ये जम्मा ३ वडाको मत गनिँदै छ, त्यो पनि गाउँ एरियाको । तसर्थ समर्थक नआतिदा हुन्छ, विरोधी नमातिदा हुन्छ । हिरोको रोल पछि आउँछ ।’

यता डकेन्द्र समर्थक हर्क साम्पाङले पनि उस्तै स्टाटस लेखेका छन् ।

‘हिरोको खेल लास्टमा आउँछ । १००० मत गन्दा किन रमाको ?’ उनी लेख्छन्, ‘माङ्सेबुङ, चुलाचुली, इलाम र मंगलबारे, यी चारको नतिजा हेर्न मन लाको छ !’

साङपाङले उल्लेख गरेकामध्ये माङ्सेबुङ गाउँपालिकामा राई–लिम्बुका ७० प्रतिशत मतदाता छन । चुलाचुली पनि जनजाति बाहुल्ययता भएको गाउँपालिका हो । जनजाति बहुल पालिकाबाट मुढामा व्यापक भोट खस्ने साम्पाङले संकेत गर्न खोजेका हुन् । यी दुई पालिकाबाट मुढाले राम्रै भोट ल्याउन सक्ने आँकलन गरिए पनि नतिजालाई नै प्रभावित पार्न सम्भव नरहेको विश्लेषण गरिएको छ ।

तर, उनले सोचअनुसार नहुन सक्छ । साम्पाङले सोचेजस्तो हुन्थ्यो भने फाकफोकथुङमा पनि मुढाले लिड गर्ने थियो । त्यहाँ पनि राई–लिम्बु बाहुल्यता छ । स्वयम् थेगिमले पनि यहीँबाट मत हालेका हुन् । तर, यो पालिकामा अहिलेसम्म मुढा तेस्रो स्थानबाट उक्लिन सकेको छैन । मा

फाकफोकथुङ गाउँपालिकामा अपेक्षित नतिजा नआएपछि साम्पाङले रिसाउँदै फेसबुकमा लेखेका छन्, ‘त्यो ख्वाक खुक थुम भन्ने ठाउँ इलाम मै थो ???’

इलाम र मंगलबारे (देउमाइ नगरपालिका) मा भने मिश्रित जनसंख्या छ । क्षेत्री–बाहुनकै बढी बसोबास रहेको इलाममा यहाँ मुढाको बलियो प्रभाव छैन । देउमाइमा पनि पहिचानवादी धार कमजोर नै छ । इलाम नगरपालिका, देउमाइ नगरपालिका र माइ नगरपालिकाको तीनवटा वडा इलाम २ मा पर्छन् । कुल मिलाएर इलाम २ मा ६ गाउँपालिकाका ४२ वटा वडा छन् ।

रास्वपाले चाहीँ इलाम र देउमाइ नगरपालिकाबाट भोट बढाउने आशा राखेको छ । यी दुवै पालिकाबाट सबै पार्टीको भोट आफूहरुमा आउने भन्दै रास्वपा नेताहरु मुख मिठ्याइरहेका छन् । इलाम बजारबाट कांग्रेसको असन्तुष्ट मत घन्टीमा गएको चर्चा पनि चलेको छ । त्यसो त माङ्सेबुङबाट पनि एउटा समूहको मत घन्टीमा गएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर