जसपाका महासचिव राईले गृहजिल्लाकै उपमेयरको पाएनन् साथ, लुम्बिनीका अधिकांश जनप्रतिनिधि संस्थापनतिरै – Nepal Press

जसपाका महासचिव राईले गृहजिल्लाकै उपमेयरको पाएनन् साथ, लुम्बिनीका अधिकांश जनप्रतिनिधि संस्थापनतिरै

रूपन्देही । जनता समाजवादी पार्टी नेपालबाट फुटेर बनेको जसपाका महासचिव इस्तियाक राईको गृहजिल्ला बाँकेका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राई संस्थापन पक्षमै रहने भएका छन् ।

उपप्रमुख राईले विज्ञप्ति जारी गर्दै आफू पार्टी विभाजनको पक्षमा नभई पुरानै पार्टीमा रहने जनाएका छन् ।

उनले संसद अधिवेशन आह्वान भैसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक भन्दै जिल्लाका निर्वाचित जनप्रतिनिधि र बहुमत केन्द्रीय सदस्य, पार्टी नेता कार्यकर्ता संस्थापनमै रहेको उल्लेख गरेका छन् ।

लुम्बिनी प्रदेशमा रहेका जसपा नेपालका ३ सांसद सबै बाँकेका हुन् । उनीहरूले कुन पार्टी रोज्ने अझै निर्णय गरेका छैनन्, तर दुवै पक्षले आफ्नो सम्पर्कमा रहेको दाबी गरेका छन् ।

लुम्बिनीका संसदीय दलका नेता भण्डारीलाल अहिरले पार्टी विभाजन भएको भोलिपल्टै यसअघि राजीनामा दिएको कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए, तर बाँके जिल्लाका अध्यक्षले नै पुरानो पार्टी रोजेपछि यहाँको राजनीति थप पेचिलो बनेको छ ।

नयाँ बनेको जसपाका महासचिव इस्तियाक राईलाई पनि चुनौती थपिएको छ । जसपा नेपाल लुम्बिनीका अध्यक्ष अशोक यादवले पार्टीको प्रदेश कमिटीमा १-२ जनाबाहेक सबै पुरानो पार्टीमै रहने दाबी गरेका छन् । प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि पनि कतै नजाने उनको भनाइ छ ।

बाँकेबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सांसद बनेकी अम्बिका काफ्ले पनि संस्थापनमै रहने संकेत गरेकी छन् । उनले नेपाल प्रेससँग कुरा गर्दै आधिकारिक निर्णय केही दिनमा गर्ने बताइन् ।

त्यसैगरी नरैनापुर गाउँपालिका अध्यक्ष इस्तिहाक अहमत शाह र उपाध्यक्ष जयन्ती श्रीवास्तव पनि संस्थापनमै रहने प्रतिक्रिया दिएका छन् ।

लुम्बिनीमा जसपा नेपालबाट निर्वाचित कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल यादव समूहमै छन् । उपमेयर सुनिता गुप्ता भने राई समूहमा पुगेका छन् । रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले आफू पार्टीको संस्थापन समूहमै रहेको र अहिलेको अवस्थामा पार्टी विभाजन हुन नसक्ने प्रतिक्रिया दिए ।

कपिलवस्तु नगरपालिकाका मेयर, रोहिणीका अध्यक्ष, नरैनापुरका अध्यक्ष र उपाध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका उपमेयर यादव पक्षमा देखिन्छन् । कपिलवस्तु नगरपालिका उपमेयरमात्रै राई पक्षमा खेलेकी छिन् । तैपनि उनीहरूमध्ये कसैले आधिकारिक रूपमा यसलाई सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर