मधेशमा एमाले नेतृत्वको सरकार बन्ने : माओवादी, जनमत र लोसपाको साथ – Nepal Press

मधेशमा एमाले नेतृत्वको सरकार बन्ने : माओवादी, जनमत र लोसपाको साथ

जसपाका सरोजकुमार यादवलाई एमालेका सरोजकुमार यादवले मुख्यमन्त्रीमा प्रतिस्थापन गर्दै

जनकपुरधाम । मधेश प्रदेशमा अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त सरकार बनाउने भएको छ ।

एमालेका केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले चारै दलका नेता हात मिलाएको संयुक्त तस्विर सामाजिक सञ्जालमा शेयर गरेका हुन् । उनले लेखेका छन्- अब एमालेको नेतृत्वमा माओवादी, लोसपा र जनमतसहितको नयाँ गठबन्धनको मधेश सरकार बन्नेछ ।

मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ ।

मधेशमा अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । माओवादी र एमाले सरकारबाट समर्थन फिर्ता लिएसागै उनी अल्पमतमा परिसके । सरकारबाट कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एमालेका एक नेताले भने, ‘मुख्यमन्त्रीले अब विश्वासको मत लिनुपर्ने हुन्छ । तर त्यसअघि बहुमत पुर्‍याएर प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दा नयाँ सरकार बन्छ कि बन्दैन भन्ने विषयमा छलफलमा छौं ।’

उनका अनुसार बहुमत पुर्‍याएर तत्कालै नयाँ सरकार बनाउने व्यवस्था छ भने आजै दाबी पेश गरिने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर