बाल मन्दिर प्रकरणका आरोपीलाई पक्राउ गर्ने तयारी, सीआईबी प्रमुख ज्ञवाली भन्छन्- खोज्दै छौँ – Nepal Press

बाल मन्दिर प्रकरणका आरोपीलाई पक्राउ गर्ने तयारी, सीआईबी प्रमुख ज्ञवाली भन्छन्- खोज्दै छौँ

काठमाडौं । बाल मन्दिर जग्गा प्रकरणमा पूर्व पदाधिकारीसहितका आरोपीलाई प्रहरीले केही दिनभित्रै पक्राउ गर्ने तयारी गरेको छ ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो–सीआईबी स्रोतले आरोपीहरुको ‘लोकेट’ भइरहेको जानकारी दियो । ‘सम्भवत केही दिनभित्रै हामी केहीलाई पक्राउ गरिसक्ने छौँ’, स्रोतले भन्यो । सीआईबी प्रमुख श्यामलाल ज्ञवालीले भने पक्राउ पुर्जी जारी भएकालाई प्रहरीले खोजी रहेको बताए ।

‘हामी अनुसन्धान गरिरहेका छौँ । पक्राउ पुर्जी जारी भएकाहरुको खोजी पनि भइरहेको छ’, एआईजी ज्ञवालीले भने । बाल मन्दिरका पूर्व अध्यक्ष रिता सिंहसहित २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्राविधिक अनुसन्धानलाई बलियो बनाएर उनीहरुलाई नियन्त्रणमा लिने तयारी भएको अनुसन्धाना खटिएका एक सीआईबी अधिकृतले भने ।

प्रहरीले ठगी कसुरमा अनुसन्धान गरिरहेको छ । बाल मन्दिरको जग्गा कौडीको भाउमा भाडामा दिएको प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यसअघि बाँसबारी जग्गा प्रकरणमा सीआईबिले हतारमा पक्राउ गर्दा आरोपीहरुलाई हाजिरी जमानीमा छाड्नु परेको थियो ।

निर्धारित २५ दिनभित्र अनुसन्धान नसकिने भएपछि सीआईबीले पक्राउ परेकालाई बयान लिएर छाडेको थियो । अधिकांश कसुरमा पक्राउ गरेको २५ दिनभित्र कसुर गरेको भेटिए अभियोग पत्र दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *