नेपाली क्रिकेटको बदलाव: जितको लत लागेको छ टीमलाई ! – Nepal Press

नेपाली क्रिकेटको बदलाव: जितको लत लागेको छ टीमलाई !

ब्याटिङमा चमत्कारिक सुधारसँगै नेपाल एसोसिएट क्रिकेटमा हाबी हुँदै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत शुक्रबार ओमानविरुद्ध खेल जितेपछि कुशल मल्ल भन्दै थिए, ‘मैले लुज बल हेर्दै खेलेँ । समय लिएँ।’

नेपालले खराब सुरूवात गरेर दबाबमा परेको अवस्थामा पनि तपाईँले त्यसरी, कसरी आक्रामक ब्याटिङ गर्न सक्नु भयो भनेर उनलाई प्रश्न गरिएको थियो ।

कुशल क्रिजमा आउनुअघि नेपालले २०.३ ओभरमा ४ विकेट गुमाएर केवल ७२ रन जोडेको थियो । त्यसमा पनि दुवै ओपनर ब्याट्सम्यान खाता समेत नखोली पेभिलियन फर्केका थिए । ओमानले सुरूका २७ बलमा नेपाललाई रन जोड्न दिएको थिएन । संकटमा ब्याट बोकेर ओर्लिएका कुशलले स्कोर बोर्डलाई वास्ता गरेनन् । कुशलले अर्धशतक हुँदै अन्तत पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय शतक पूरा गरे ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा धेरै रन बनायो । ३ सय ११ रनको लक्ष्य पाएको ओमान ८४ रनले पराजित भयो । अफगानिस्तानले झैँ एसियाली एसोसिएट क्रिकेटमा दबदबा बनाइरहेको ‌ओमानले सहजै नेपालसँग घुँडा टेक्यो ।

नेपालले खेलेको यो ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल सायद ओमानले पनि त्यति छिटो बिर्सने छैन । सन्दीप लामिछानेले यही खेलमार्फत छिटो एक सय एकदिवसीय अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका छन् ।

अन्य टोली झैँ ओमानले पनि नेपालको कति विकेट लिएमा हावी हुने भन्ने भेउ पाएन । यसले आगामी दिनमा पनि उसलाई हैरान बनाउने पक्का छ ।

सामाजिक सञ्जालहरूमा क्रिकेट समर्थकका विभिन्न समूहमा हुने कमेन्टमा आजकाल प्राय लेखिएको देखिन्छ,’ पहिला लाग्थ्यो- नेपाल हारिहाल्छ, अहिले हुन्छ- नेपाल जितिहाल्छ’ । यस्ता कमेन्ट जो नेपाल खेलिरहेको छ र कमजोर अवस्थामा छ भने पनि अक्सर देखिने गरेको छ ।

केही वर्षअघिसम्म नेपाललाई २ सय आसपासको लक्ष्य निकै भारी हुने गर्थ्यो । कतिबेला ब्याटिङ कोल्याप्स हुन्थ्यो पत्तो हुँदैन थियो ।

‘शरद भेषावकर, ज्ञानेन्द्र मल्ल र पारस खड्का टिकेनन् भने नेपाललाई प्राय गाह्रो हुन्थ्यो’, राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा हाल अन्तर्राष्ट्रिय खेलहरूमा कमेन्ट्री गरिरहेका परेस लोहनी भन्छन्, ‘विकेट रहेसम्म जित्ने आशा बनेको छ । आज हामीसँग मल्टिपल म्याच विनरहरू छन् ।’

नेपालले पछिल्ला १३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये १२ वटा जितेको छ । विश्वकप लिगका अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो भने विश्वकप छनोटमा पनि स्थान बनाएको थियो। नेपालको यो उपलब्धिलाई अकल्पनीय मान्न जो कोही पनि तयार छन् ।

नयाँ प्रमुख प्रशिक्षकका रूपमा भारतीय मन्टी देसाईको आगपछिले नेपाली क्रिकेट माथिल्लो उचाइमा पुगेको छ । उनको प्रशिक्षणमा नेपालले खेलेका कुल १३ एकदिवसीय अन्तर्राष्ट्रियमध्ये एउटामात्र हारेको छ । स्वयं प्रशिक्षक देशाईमा पनि अचम्मित छन् ।

‘मैले सिकाएको कुरा जसरी खेलाडीहरूहरूले अप्लाई गरिरहेका छन्, मेरा लागि यो विशेष छ किनभने जे भइरहेको छ त्यसलाई एक्जिक्युसन गर्न खेलाडीलाई समय लाग्ने थियो’, विश्वकप लिग दौरान देसाईले भनेका थिए। उनले खेलाडीको माइन्ड सेटमा काम गरेको लोहनी बताउँछन् ।

‘हाम्रा खेलाडीसँग ट्यालेन्ट नभएको होइन । उनीहरूलाई सपोर्ट मात्र चाहिएको थियो’, लोहनी भन्छन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा हालका सदस्य ज्ञानेन्द्र मल्ल पनि लोहनीसँग सहमत छन् । उनका अनुसार देसाईको मातहतमा खेलाडीले आफूलाई दिएको रोल राम्रोसँग निर्वाह गरिरहेका छन् ।

‘खेलाडीको आत्मविश्वास बढेको छ । आफ्नो क्षमतालाई हेरेर, धैर्य भएर, हरेक बललाई पढेर खेल्ने बानीको विकास भएको छ’, उनी भन्छन् ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को ब्याटिङ रेकर्ड बनाइरहेको छ । पछिल्लो एक वर्षमा मात्र एकपछि अर्को ‘इनिङ्स टोटल’ को कीर्तिमान भंग भइरहेको छ । ९ पटक इनिङ्स टोटलको कीर्तिमान भङ्ग भएको छ । सन् २०२२ को मार्चमा नेपालले यूएईविरुद्ध २ सय ४८ रन बनाएको थियो । त्यो नै त्यतिबेलासम्म नेपालको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय योगफल थियो ।

नेपालले गत फेब्रुअरीयता मात्र तीनपटक राष्ट्रिय कीर्तिमान तोडिसकेको छ । ओमानभन्दा अघि नामिबियासँग २ सय ८७ र पीएनजीविरुद्ध २ सय ९७ रन बनाएको थियो । पछिल्लो एक वर्षमा पहिलो, दोस्रो, तेस्रो, पाँचौं र छैटौं विकेटका लागि २/२ पटक शतकीय साझेदारी भएको छ ।

यसै वर्ष नेपालले आठौँ विकेटका लागि ७७ र नवौँ विकेटका लागि ७५ रनको साझेदारी गर्दै नाटकीय जित हात पारेको थियो । गत मार्चमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले ३७ रनमै ३ विकेट गुमाएको थियो । तर, ६ ओभर बाँकी रहेको अवस्थामा ६ विकेट गुमाएर २ सय ६९ रनको स्थित‍िमा पुगेको नेपाली टोली खराब प्रकाशका कारण खेल रोकिएपछि डकवर्थमा विजयी भएर विश्वकप छनोटमा पुग्न सफल भएको थियो ।

नेपालको यो लय कहाँसम्म कायम रहन्छ निश्चित छैन । तर, जारी एसीसी प्रिमियर कप र आसन्न विश्वकप छनोटमा नेपाल सबै टोलीका लागि टाउको दुखाई बन्ने पक्का छ । नेपालले पूरा गर्न नसक्ने लक्ष्य कति हो भनेर प्रतिद्वन्द्वीलाई अनुमान लगाउन गाह्रो जो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *