चलचित्र ‘सेतीवेणी’ वैशाख २९ देखि प्रदर्शनमा आउने – Nepal Press

चलचित्र ‘सेतीवेणी’ वैशाख २९ देखि प्रदर्शनमा आउने

रुपन्देही । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘सेतीवेणी’ यही वैशाख २९ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

बाबुराम घिमिरेको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा विश्वकै प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित सेतीवेणी र त्यहाँ रहेको विश्वकै ठूलो शिला शालिग्रामको धार्मिक, सामाजिक र सांस्कृतिक महत्वलाई समेटिएको छ ।

चलचित्र बैशाख २९ गते बिहान ९ बजे बुटवलको मिलन चलचित्र हलमा पहिलो प्रदर्शन गर्ने तयारी गरिएको छ । मोफसलमा बसेर कलाकारिताका क्षेत्रमा काम गरिरहँदा समाजमा केही नयाँ काम गरौं भन्ने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्देशक घिमिरेले बताए ।

धार्मिक आस्थाको केन्द्र, पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षण, प्रचारप्रसार र विकास गर्न यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्नैपर्ने चलचित्र बनेको दाबी गर्दै निर्देशक घिमिरेले चलचित्र बोर्डबाट सेन्सर पास भइसकेको बताए ।

आन्तरिक तथा बाह्य पर्यटनको समेत महत्व बोकेको शिला शालिग्राम र सेतीवेणी क्षेत्रको महत्वलाई यो चलचित्रले प्राथमिकता दिएर प्रस्तुत गरेको सहनिर्देशक कमलबहादुर गुरुङले बताए ।

‘नेपाल कला धर्म र संस्कृतमा धनी देश हो । विष्णुका रुपमा मानिने शालिग्रामको छुट्टै महत्व छ । यस्ता धार्मिक स्थल ओझेलमा पर्दै जाने हो भने हाम्रा धर्म, संस्कृति नै धरापमा पर्छन्’, उनले भने ।

चलचित्र स्याङ्जा, पर्वत, गुल्मी र पाल्पाका विभिन्न ठाउँमा छायांकन गरिएको छ । चलचित्रमा युनिक पोखरेल निर्माता तथा लक्ष्मी क्षेत्री सहनिर्माता छन् । चलचित्रमा कृष्णप्रसाद खनाल र सम्झना सुवेदीको मुख्य अभिनय रहेको छ । मनप्रसाद सुवेदी, शान्तराम गिरी, हरिहर श्रेष्ठ, मणिरत्न भण्डारी, जोखबहादुर खत्रीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर