‘जस्तोसुकै मान्छेको अगाडि पर्दा पनि हिरोइन त सामान्य हुँदा रहेछन् भन्ने परोस् न’ – Nepal Press

‘जस्तोसुकै मान्छेको अगाडि पर्दा पनि हिरोइन त सामान्य हुँदा रहेछन् भन्ने परोस् न’

ऋचासँग पहिरनका कुरा- मलाई साडी लगाउन सासूआमाले प्रेरित गर्नुहुन्छ

पहिरन (फेसन) मानिसको सौन्दर्य, अनुशासन, संस्कृतिको कसी हो । पहिरनका कुरा गर्दा विशेषत: महिलाहरूको चासो बढी हुन्छ । कतै जानुछ भने के लगाउने ?, कसरी लगाउने ? कस्तो लगाउने ? र अरुभन्दा नराम्री पो देखिने हो कि भन्नेजस्ता कुराले उनीहरूलाई पिरोलिरहन्छ । दराजमा जति कपडा भए पनि छ भन्न सक्दैनन् भनेर महिलामाथि सदाबहार टिप्पणी पनि हुने गरेको छ । के साँच्चै महिलालाई लुगा छान्न समस्या नै पर्छ त ?

साधारण महिलालाई पहिरनको विषयले यति टाउको दुख्छ भने कलाकारलाई झन् कस्तो होला ? दिनमै कैयौं कार्यक्रममा पुग्नुपर्ने, आफ्नो सुन्दरतालाई मेन्टेन गरिराख्नुपर्ने उनीहरूलाई पहिरनबारे चिन्तित हुनु स्वाभाविक नै हो । कलाकारले हरेक दिन नयाँनयाँ पहिरन कसरी व्यवस्थापन गर्छन् भन्ने चासोकै विषय बन्छ ।

हामीले सेलिब्रेटीसँग उनीहरूको नजरमा परेका ठाउँ, खाना, फिटनेस, बाल्यकाल, जीवनका भोगाईमध्ये कुनै एक विषयमा केन्द्रित भएर कुराकानीसहितको एपिसोड सुरू गरेका छौं ।

आज भने अभिनेत्री ऋचा शर्मासँग उनले लगाउने र मन पर्ने पहिरन केन्द्रित भएर कुराकानी गरेका छौं । आमा बनेपछि पनि कलाकारिता क्षेत्रमा भ्याइनभ्याई ऋचाले विभिन्न कार्यक्रम र रियालिटी शोलाई कसरी म्यानेज गरिरहेकी छिन् । उनीसँग पहिरन विशेष कुराकानी :

– कस्तो पहिरन रुचाउनुहुन्छ ?

म स्टाईलिस यताउता भन्दा पनि कतै हिँड्दा सहज हुने खालका पहिरनहरू लगाउन रुचाउँछु ।

– पहिरनमा मनपर्ने रंग ?

मलाई पपिङ कलरहरू मनपर्छ । रातो, हरियो, अरेन्ज, यस्तै यस्तै ।

– कहिँ निस्कनुअघि भोलि के लुगा लगाउने होला भन्ने कुराले कतिको चिन्ता हुन्छ ?

मलाई साडी लगाउने बेलामा अलिकति टेन्सन लाग्छ तर भोलि के लगाउने होला भन्ने चाँहि हुँदैन । साडी मेरो मन पर्ने पहिरनमध्येको एक हो तर त्यही साडी लगाएर कतै तीनदेखि चार घण्टाभन्दा धेरै बस्नुपर्‍यो भने कतिखेर घर गएर सहज हुने कपडा लगाउँ भने जस्तो हुन्छ । मलाई प्लेन चढ्न औधी मनपर्छ तर प्लेनको हल्लाईदेखि असाध्यै डर लाग्छ भने जस्तै । खासमा मलाई साडी लगाउन मेरो सासूआमाले प्रेरित गर्नुहुने हो । कतै जानुअघि मेरो सासूले मलाई टीपटप भएर जाऊ किनकी तिमीले हामी सबैलाई प्रतिनिधित्व गरेर हिँडिरहेको छौ भन्नुहुन्छ । तर, मलाई भने सहज कपडा लगाएर हिँड्न मनपर्छ । कतै हिँड्दा यता कपडा तान्ने, उता मिलाउने गरेको मलाई मन पर्दैन । मलाई त्यस्तो एकदमै झ्याउ लाग्छ ।

– कलाकार भएपछि आफ्नो स्ट्यान्डर्ड कायम राख्नुपर्छ वा टीपटप भएर हिँड्नुपर्छ भन्ने कुरामा कति सहमत जनाउनुहुन्छ ?

यसमा म सहमत छैन । कलाकार हुनेबित्तिकै पूरै हाइफाई देखाउनै पर्छ भन्ने छैन । कोही सामान्य व्यक्तिसँग भेट्दा उसलाई असहज नहोस् भन्ने धारणा राख्ने मान्छे हो म । जस्तोसुकै वर्गका मान्छेहरूको अगाडि पर्दा पनि ‘हिरोइन त यस्तो सामान्य हुँदा रहेछन्, हामी त यत्तिको ठीकै छौं’ भन्ने भाव पलाओस् । ‘हिरोइनहरू कस्तो खतरा हुन्छन, हामी कहिले त्यस्तो हुने’ भन्ने नहोस् । मलाई देख्ने हरेक मान्छेमा ऋचा कति साधारण छ भन्ने सोचाइ होस् जस्तो लाग्छ । मान्छेमा कलाकार देख्नेवित्तिकै यो कुन ग्रहबाट आएको हो वा सुनचाँदीले धपक्कै बलेर हिँड्न पर्छ भन्ने नहोस् । जति सक्दो साधारण हुनु नै कलाकारमा हुने एक विशेषता हो जस्तो लाग्छ ।

म सामग्रीमा भन्दा सहजता र सामान्यतामा विश्वास गर्ने मान्छे हो । कहिल्यै पनि पेन्सिल हिल लगाउँदिन । नक्कली परेला लगाउँदिन । किनकी मलाई सहज लाग्दैन । म रियालिटी शोको निर्णायकको कुर्सीमा बसिसकेको मान्छे। तर मज्जाले विचार गर्नुस म कहिलेपनि नक्कली परेला लगाउँदिन। म त्यो लगाएर बस्नै सक्दिन। धेरैबेर लगाएर बसे भने एकछिनमा नै म झुल्न थाल्छु। हेर्ने दर्शकहरुलाई पनि ऋचा आज झ्याप भएर आईछे कि क्या हो भन्ने लाग्न सक्छ। त्यसैले असहज हुने कुरा मलाई मन पदैँन ।

– कुनै काममा जाँदा लुगाको रंगले शुभ-अशुभ हुन्छ भन्ने मान्यतामा कति विश्वास गर्नुहुन्छ ?

विश्वास गर्छु । केही विशेष कार्यहरूमा निस्किँदा कालो वा कुनै निश्चित रंगका पहिरनहरू नलगाउनु भन्ने मान्यता छ । तर, कालो मेरो मनपर्ने रंग भएकाले म लगाइरहेको हुन्छु । मेरो दराजमा हेर्न आउनुभयो भने तपाईँले मेरा अधिकतम कपडाहरू कालो रंगको देख्नुहुन्छ । जाडो मौसममा त झन् कालो पहिरनलाई बेवास्ता नै गर्न सकिँदैन । मनमा विश्वास भएता पनि म चाँहि सबै रंगका कपडाहरू उत्तिकै प्रयोग गर्छु । अझ बार अनुसार भिन्न-भिन्न रंगका कपडाहरू लगाइरहेकी हुन्छु ।

– कतै जाँदा लुगाले गर्दा अप्ठ्यारो परेको क्षणहरू छन् ?

म त्यस्तो अप्ठ्यारो पार्ने खालका लुगा नै लगाउँदिन । मार्केटमा थुप्रै प्रकारका भित्रबाट लगाउने पहिरनहरू छन- लेगिज, स्टकिङलगायत बरु म त्यस्तोमा धेरै खर्च गर्छु । यदि म कहिँकतै दुर्भाग्यवश लडिहालेँ भने पनि लाजमर्दौ हुने अवस्था सिर्जना नहोस् भनेर घरबाट नै तयार भएर निस्किन्छु । स्कर्ट र हाफपाइन्टहरू लगाउँदा पनि आफूलाई मात्र होइन हेर्नेलाई पनि सहज होस् भन्ने कुरालाई मध्यनजर गरेर कपडाहरू लगाउँछु । लगाउनेलाई भन्दा देख्नेलाई लाज नहोस् ।

– बाटोमा आफ्नो जस्तै पहिरन अरुले लगाएको देख्दा कस्तो महसुस हुन्छ ?

मलाई त मतलबै लाग्दैन । म एकचोटि एउटा विवाह समारोहमा सामेल भएको थिए । त्यहीँ उपस्थित हुनुभएको अर्को एकजना महिला पात्रले पनि मेरो जस्तै साडी लगाएर आउनुभएको रहेछ । मात्र ब्लाउज फरक थियो र मैले सल लगाएको थिएँ । मैले उहाँसँग गएर फोटो पनि खिचेँ । सामान्य हो । मलाई त्यस्तो अनौठो केही लाग्दैन ।

– कुनै समारोहमा कसैको लुगाबारे साथीहरूसँग बसेर कत्तिको कुरा काट्नुहुन्छ ?

कुरा समारोहमा बसेपछि र मान्छे देखेपछि भइहाल्छ । ग्ल्यामर क्षेत्र हो, कुनै समारोहमा कसैको कुरा हुनु स्वाभाविक नै हो । तर, त्यस्तो बसेर कुरा काट्ने नै भन्ने चाहिँ हुँदैन । कसैले आफ्नो बारेमा कुरा गरेको सुनेको छु तर लुगालाई नै विषय बनाएर बसेर आफूले कसैको बारेमा कुरा गरेको भने मलाई याद छैन । चित्त बुझेन भने कुनै कुरामा आफ्ना तर्कहरू भने राख्छु । जस्तै ब्राको स्ट्रापहरूको विषयमा । हाम्रो समाजमा अहिलेपनि ब्राको स्ट्राप देखिँदा के-के नै भएजस्तो गर्नुहुन्छ । त्यसलाई ठूलो मुद्दा बनाइदिनुहुन्छ । ब्रा स्ट्राप देखियो, छोप यता उता। देखियो त देखियो । के भयो त ? सबैले लगाउने कुरा हो ।

– कसैले दिएको उपहार मन नपरेर नलगाई राखेको वा अरु कसैलाई दिनुभएको छ ?

छ, मेरो भाइले मलाई लुगा उपहार दिएको थियो तर उसले ल्याएका लुगाहरू कि त मेरो जीउमा नमिल्ने कि त नसुहाउने । त्यसपछि मैले उसलाई सीधै ‘भाइ अबदेखि तैँले मलाई लुगा गिफ्ट नदे, तेरो च्वाइस मलाई मनपरेन’ भन्दिएँ । मन नपरेको अवस्थाहरू छ धेरै । मन परेन भने त्यो लुगा अरु कसैलाई दिन्छु ।

– कस्तो खालको ड्रेसअप गर्ने पुरुष एकदमै आकर्षित लाग्छ ?

मलाई छोरा मान्छेहरूले सुट अथवा टक्सिडो लगाएको एकदमै मनपर्छ । आकर्षित लाग्छ । मेरो श्रीमान् हरेक दिन सुट लगाउनुहुन्छ । मलाई एकदमै मनपर्छ । छोरा मान्छेले सुट लगाउँदा उसको जस्तो व्यक्तित्व छ, त्यो झन् निखारिएर आउँछ जस्तो लाग्छ मलाई । र, अर्को नेपाली लबेदा सुरुवाल लगाउने ।

– कतै श्रीमान्‌सँगको पहिलो भेटमा सुटकै कारणले आकर्षित हुनुभएको त हैन ?

त्यो त हैन (हाँस्दै) उहाँ त्यत्तिकै आकर्षित व्यक्तित्व भएको मान्छे हो, उहाँलाई आकर्षित देखिन सुट नै लगाउनु पर्छ भन्ने छैन । उहाँलाई खासमा एकदमै कलरफूल लुगाहरू लगाउन मनपर्छ । फ्लोरल अनि पपिङवालाहरू । हाम्रो विवाह अगाडि एउटा साथीको विवाह समारोहमा मैले पहिलोपटक मेरो श्रीमान्‌ले सुट लगाएको देखेको थिएँ । त्यतिखेर उहाँलाई देखेर म आफैँ मोहित भएको थिएँ । उहाँलाई फेरि चट्ट परेर हिँड्न मनपर्छ । मज्जाले आइरन लाएर, जुत्तादेखि लुगासम्म मिलाएर ।

– पहिलोचोटि श्रीमान्‌सँग भेट् हुँदा उहाँले के लगाउनुभएको थियो भन्ने याद छ ?

मज्जाले । पहिलोचोटि भेट्दा उहाँले फन्कि खालको स्वेटसट लगाउनुभएको थियो । ड्रागन प्रिन्ट भएको, निलो जिन्ससँग । जम्मा पाँच मिनेटको भेट थियो तर मलाई रामोसँग याद छ । म मान्छेले के लगाएको छ भनेर एकदमै याद गर्ने मान्छे हो । विशेष गरी पुरुषहरूले ।

– पुरुषहरूले कस्तो रंगको लुगा लगाएको मनपर्छ ?

त्यो त अब मान्छे हेररे हुन्छ। एउटालाई सुहाएको रंग अर्कोलाई नसुहाउन सक्छ ।

– तपाईँले लगाएको कस्ता रंगका कपडाहमा मान्छेले तारिफ गर्छन् ?

मलाई मान्छेहरूले उज्यालो रंगको कपडाले एकदमै सुहाउँछ भन्नुहुन्छ ।

– दराजभरि लुगा भए पनि हिँड्ने बेलामा एउटा पनि छैन भन्ने महिलाका गुनासा सुनिन्छ नि ?

मेरो त त्यस्तो कहिले पनि हुँदैन । मसँग प्रसश्त मात्रामा कपडाहरू छन् । साँच्चै भन्ने हो भने, म त अब लुगा किन्नेबारे सोच्न पनि सक्दिनँ । तर, पनि कहिलेकाँही बाहिर कतै जाँदा केही मन पर्‍यो भने उठाइहालिन्छ । मेरो विवाहका कतिवटा साडी त अझैपनि ट्यागसहित मेरो दराजमा झुण्डिरहेको छ । लुगा छैन र लुगा किन्छु भन्न पनि मलाई लाज हुन्छ । मसँग पर्याप्त लुगा, ब्याग र जुत्ताहरु छन् । (हाँस्दै) मैले त दराज दराज ११-११ भने झैँ ऋचा-ऋचा नाम राखेर सेल नै लगाएपनि हुन्छ अब त ।

– कलाकार भएपछि भिन्नभिन्न ठाउँमा नयाँनयाँ लुगा लगाउनुपर्छ भन्ने मान्यता छ । तपाईँका लुगा कत्तिको रियुज हुन्छ ?

मेरो अन्तर्वार्ता हेर्नुस्, म एउटै लुगा तीन ठाउँमा लगाइरहेको हुन्छु । कुनै लुगा मन पर्‍यो भने त झन् दोहोर्‍याई-दोहोर्‍याई त्यही लुगा लगाउँछु ।

– पछिल्लो समय कुनै पहिरन लगाउँदा श्रीमान्‌ले मन खोलेर तारिफ गरेको पल याद छ ?

छ, अस्ति मिस युनभर्सको कार्यक्रम हुँदा म जज बनेर त्यहाँ उपस्थित थिए । त्यति बेला उहाँले मेरो दिल खोलेर तारिफ गर्नुभएको थियो । एकदमै प्रसन्न भएर म चाहिँ मिस युनिभर्स जस्तो दखिएकी छु भन्नुभएको थियो (हाँस्दै) मैले पनि म तपाईँको मिस युनिभर्स हो भन्दिएँ । उहाँले जे होस् तारिफ गरिरहनु हुन्छ । केही मिलेन वा केही कमी भयो भने पनि दिल खोलेर भन्नुहुन्छ । अचेल म अलि कुप्री परेर हिँड्न थालेकी छु । त्यसैले योगाहरू गर भन्दै हुनुहुन्थ्यो । जे होस्, हरेक कुरामा सल्लाह र प्रतिक्रिया दिइराख्नुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर