कपिलवस्तु एमालेमा नयाँ नेतृत्वका लागि पुरानै प्रतिस्पर्धी दोहोरिने – Nepal Press

कपिलवस्तु एमालेमा नयाँ नेतृत्वका लागि पुरानै प्रतिस्पर्धी दोहोरिने

रुपन्देही । नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि पुरानै प्रतिस्पर्धी दोहोरिने तयारी गरेका छन् ।

वैशाख २६ र २७ गते हुने अधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्ने पार्टी नेताहरुले तयारी गरेपनि आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा त्यो सम्भावना कम रहेको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष डम्मर शर्मा पुनः एक कार्यकाल आफैले नेतृत्व लिने तयारीका साथ लागेका छन् । उनले आफ्नो कार्यकाल पूरा नभएका कारण पनि एकपटक नेतृत्वको अवसर आफूले पाउनुपर्ने तर्क नेताहरुसँग राखिरहेका छन् ।

शर्मा एमाले कपिलवस्तुको २०७८ पुसमा भएको ९ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । उनको यो कार्यकालमा स्थानीय तथा संघ र प्रदेशको चुनावमा पार्टीले यसअघिभन्दा राम्रो स्थान ल्याएको भन्दै नेताहरुले प्रशंसा गरेका छन् ।

यसैगरी आगामी नेतृत्वका लागि यसअघिकै प्रतिस्पर्धी बाबुराम खनाल पनि बलियो दावेदारका रुपमा अगाडि सरेका छन् । एमाले कपिलवस्तुका विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेका खनाल जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य बनिसकेका अनुभवी नेता हुन् ।

गत अधिवेशनमा अध्यक्षका लागि उम्मेदवार रहेका खनाल शर्मासँग पराजित भएका थिए । यसपटक आफूले जिल्लाको नेतृत्व पाउनुपर्ने उनको दाबी रहेको छ । कपिलवस्तु जिल्लाको उत्तर–दक्षिणी क्षेत्रमा पार्टीको संगठन विस्तार र विभिन्न निकायसँगको समन्वयकारी भूमिका राख्न दख्खल रहेका खनाल यसपटक जिल्लाको नेतृत्व आफूले पाउनेमा आशावादी छन् ।

यस्तै एमाले कपिलवस्तुका उपाध्यक्ष रहेका विश्राम प्रसाद थारु पनि अध्यक्षका दावेदार नेता हुन । संविधान सभा सदस्य रहेका उनले कपिलवस्तुको नेतृत्व आफूले पाउनुपर्ने र त्यो अवसर प्रदान गर्न पार्टीभित्र माहोल बनाउन लागिरहेका छन् । थारुले विभिन्न समयमा भएका संसदीय निर्वाचनमा एमाले कपिलवस्तुका तर्फबाट नेतृत्वदायी भूमिका खेलको उनी निकटका नेताहरु बताउँछन् ।

पार्टीको सेल कमिटी, गाउँ कमिटी, जिल्ला कमिटी उपसचिव हुँदै हालसम्म विभिन्न समयमा योगदान गरेकाले अहिलेको नेतृत्व आफूले पाउनुपर्ने उनको दाबी छ।

अधिवेशनबाट अन्य पदका आकांक्षीहरु पनि उस्तै बढी भएकाले सर्वसम्मत बनाउन चुनाती थपिएको छ । उपाध्यक्ष पदका लागि बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे, जिल्ला कमिटी सचिवालय सदस्य भेषराज पाण्डे र पिताम्बर खनालसहितका नेताहरुले तयारी गरेका छन् ।

सचिवमा पनि प्रतिस्पर्धा पेचिलो हुने देखिएको छ । सचिव पदमा समेत नेताहरु खुलेरै प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमाले सचिवालय सदस्य तथा जिल्ला निर्वाचन विभाग प्रमुख रहेका विश्व कार्की, हालका सचिव रहेका सिबी गहतराज र बुद्धभूमि नगर इन्चार्ज रहेका देवीप्रसाद बेल्वासे मुख्य आकांक्षीको रुपमा देखिएका छन् ।

अधिवेशन मितिसम्म यो संख्या पनि बढ्ने नेताहरुको आंकलन छ । जिल्लाको दक्षिणी क्षेत्रबाट नेताहरुले आफै उम्मेदवारको दाबी कम छ । जसका कारण पनि बाणगंगा क्षेत्रबाटै पदाधिकारीमा आकांक्षी बढी देखिएका छन् । उपसचिवका आकांक्षीहरु एक दर्जनभन्दा बढी छन् । उनीहरु व्यक्तिगत ढङ्गले प्रचारप्रसारलाई जोड दिएका छन् ।

अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने गरी तयारी तीव्र पारिएको एमाले कपिलवस्तुले जनाएको छ । अधिवेशनका लागि जिल्लाका ९६ वडा र २३ वटा जनवर्गीय संगठन तथा आयोजक कमिटी गरी ५ सय बढी प्रतिनिधिहरु सहभागी हुँदैछन् । अधिवेशन कपिलवस्तुको चन्द्रौटामा आयोजना गरिँदै छ ।

लुम्बिनी प्रदेशमा यसअघि रोल्पा, रुकुमपूर्व, बर्दिया, नवलपरासीपश्चिममा एमालेले जिल्ला अधिवेशन सकाएको छ । रोल्पा र बर्दियामा निर्वाचन भएको थियो भने रुकुमपूर्व र पशिचमनवलपरासीमा सर्वसम्मत नेतृत्व छानिएको हो । केन्द्रीय निर्देशनअनुसार लुम्बिनीमा जेठ महिनाभित्रै सबै जिल्लाको अधिवेशन सकिनेगरी तयारी भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर