डोटीमा १२ हजारलाई आईपीभी खोप लगाइने – Nepal Press

डोटीमा १२ हजारलाई आईपीभी खोप लगाइने

डोटी । डोटी जिल्लाका १२ हजार दुई सय ३७ बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको छ ।

जेठ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने आईपीभी खोप अभियानमा सो संख्यामा खोप लगाइने स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । अभियानका लागि जिल्लाभरिमा ४ सय ३८ खोप केन्द्र तोकिएका छन् ।

२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्मको अवधिमा जन्मिएका बालबालिकालाई लक्षित गरी सो अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले बताए ।

पोलियो खोप अभाव भएका कारण देशभरका १४ लाख ६२ हजार ७ सय १२ बालबालिकाले खोप नपाएको उनले जानकारी दिए ।

पोलियो खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियोको जोखिम बढी हुने हुँदा अभियानमार्फत खोप लगाइन लागिएको हो । नेपालमा पोलियो विरुद्धको खोप २०७१ सालदेखि सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार जेठ १३ गतेदेखि सुरु हुने अभियान बडिकेदार, बोगटान फुड्सिल, पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिकामा १८ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, सायल गाउँपालिकामा १९ गतेसम्म, दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकामा २० गतेसम्म, केआई सिंह गाउँपालिकामा २१ गतेसम्म र आदर्श गाउँपालिकामा २२ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर