भ्रमण छोट्याएर फर्किए उपेन्द्र, केहीबेरमा संसदीय दलको बैठक बस्दै – Nepal Press

भ्रमण छोट्याएर फर्किए उपेन्द्र, केहीबेरमा संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति फर्किएका हुन् ।

कतार एयरवेजको जहाजबाट राति १ बजेतिर त्रिभुवन विमानस्थल उत्रिएका यादवलाई स्वागतका लागि पार्टीका नेता /कार्यकर्ता र मन्त्रालयका अधिकारी पुगेका थिए । उनी न्यूयोर्कस्थित यूएन सेक्रेटरियटमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार त्यता गएका थिए ।

यादवले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बैठकमा बोलाइएको छ । केहीबेरपछि बस्ने बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने उनले बताए ।

अशोक राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् । अब उपेन्द्रसँग प्रतिनिधिसभामा ५ जनामात्रै सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर