नेपाललाई रुसले विगतदेखि गर्दै आएको सहयोग नबिर्सन रुसी राजदूतको आग्रह – Nepal Press

नेपाललाई रुसले विगतदेखि गर्दै आएको सहयोग नबिर्सन रुसी राजदूतको आग्रह

सम्पादकहरुसँग रुसी राजदूतले भने- युक्रेन युद्धमा पश्चिमा समाचार एजेन्सीलाई स्रोत नबनाउनुस्

काठमाडौं । नेपालका लागि रुसका राजदूत एलेक्स ए नोभिकोभले नेपाल र रुसबीचको विगतको आपसी सहकार्य र नेपालको विकासमा रुसले गरेको सहयोगलाई नबिर्सन आग्रह गरेका छन् ।

रुस-युक्रेन युद्धको सन्दर्भमा नेपाल सरकारले लिएको अमेरिकी पक्षधरता र नेपाली मिडियामा पश्चिमा समाचार एजेन्सीबाट प्रवाहित समाचारप्रति असन्तुष्ट रहेको रुसले नेपाललाई विगतमा आफूले गरेको सहयोग स्मरण गराएको हो ।

काठमाडौंमा वुधवार केही प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको ‘लञ्च मिटिङ’ मा राजदूत नोभिकोभले रुसको बारेमा पश्चिमा सञ्चारमाध्यमहरु पुर्वाग्रही रहेकाले उनीहरुलाई प्रमुख स्रोत नबनाउन आग्रह गरे ।

उनले भने– हामी चाहान्छौं, नेपालले विगतदेखिको हाम्रो द्धिपक्षीय सम्बन्ध, हाम्रा सहयोग र लामो समयदेखिको मित्रतालाई सम्मान गर्नेछ । अमेरिका र युरोपेली सञ्चार एजेन्सीहरुले एकपक्षीय समाचार दिइरहेका छन्, तपाईहरुले उनीहरुमा मात्र भर नपर्नुहोला । आवश्यक सूचना र जानकारी दिन हामी तयार छौं ।’

काठमाडौंस्थित रुसी दूतावासका अन्य चार उच्च अधिकारीहरुसहित सम्पादकहरुसँग अनौपचारिक कुराकानी गरेका राजदूतले नेपालमा रुसबारे पछिल्लो समय जनस्तरबाट प्राप्त प्रतिक्रियाहरुबारे समेत छलफल गरेका थिए ।

पश्चिमाहरुले रुस युक्रेन युद्धलाई गलत ढंगले अतिरन्जित गरेको र त्यसको वास्तविकता लुकाइरहेको भन्दै राजदूत नोभिकोभले यसबारेमा यथार्थ जानकारी दिन आफूहरु तयार रहेको बताए । उनले नेपालले विगतदेखि लिँदै आएको असंलग्न परराष्ट्र नीतिको रुसले सम्मान गर्ने भन्दै युक्रेन युद्धका सन्दर्भमा नेपाल सरकारको पोजिशनप्रति भने असन्तुष्टि जनाए ।

गठबन्धन सरकारले रुस युक्रेन युद्धको सन्दर्भमा अमेरिकाको पक्षधरता लिँदै युक्रेनको पक्षमा आफूलाई उभ्याएको थियो । सरकारको सो कदम नेपालको आफ्नै परराष्ट्र नीतिविपरीत रहेको र रुससँगको दौत्य सम्बन्धको प्रतिकुल रहेको भन्दै देशभित्रै आलोचना भइरहेको छ ।

विगतमा नेपालका ठूला पुर्वाधार विकासका साथै अन्य सांस्कृतिक क्षेत्रमा समेत रुसले उल्लेख्य सहयोग गरेको थियो । सोभियत संघको विघटन भएर रुसमा कम्युनिष्ट सत्ता ढलेसँगै आन्तरिक झमेलामा परेको रुसले पछिल्ला दिनमा नेपालमा ठूला आर्थिक सहयोगको परियोजना भने सन्चालन गर्न सकेको छैन ।

राजदूत नोभिकोभले सो अवसरमा नेपालमा आसन्न निर्वाचनले स्थिर सरकार दिने विश्वास व्यक्त गरे । रुस नेपालसँगको सम्बन्धलाई अझ मजबुत र विश्वासमा आधारित बनाउन इच्छुक रहेको उनले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर