२०० वर्ष अगाडि नै नेपालीमाथि बेलायतीको टिप्पणी: यस्ता अल्छी मान्छे मैले कतै देखेको छैन – Nepal Press
पुस्तक चर्चा

२०० वर्ष अगाडि नै नेपालीमाथि बेलायतीको टिप्पणी: यस्ता अल्छी मान्छे मैले कतै देखेको छैन

इटहरी । गत भदौ १२ देखि २५ गतेसम्म तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङको अगुवाइमा पालिकाको चोःलुङ पार्कदेखि संखुवासभा हुँदै ताप्लेजुङसम्मको मुन्धुमी मार्गको यात्रा भयो । चोःलुङ पार्क , गुफापोखरी, मिल्के डाँडा, सभापोखरी, साजु पोखरी हुँदै तोप्केगोलाबाट फुङफुङे (फङफङदेन) झरनासम्म यात्रा भएको थियो ।

यात्रामा सहभागी वनस्पतिविज्ञ कमल मादेनले करिब दुई सय वर्ष अगाडि बेलायती वनस्पतिविज्ञ जोसेफ डाल्टन हुकरको पूर्वी नेपाल भ्रमणको प्रसंग सबैलाई सुनाएका थिए । उनले ओलाङचुङगोलामा उनलाई खोजेको ठाउँमा जान गाह्रो पारिएको तर औषधिमुलो गर्दिएपछि दिएकोलगायतका रोचक प्रसंग सुनाएका थिए ।

संयोगबस सोही यात्रा अवधिमा उनै हुकरको पुस्तक काठमाडौंमा अनुवाद भएर लोकार्पण भएछ । किताब जात्राको अवसरमा बुक हिलले प्रकाशन गरेको पुस्तक अहिले बजारमा आइसकेको छ । पुस्तक हस्त गुरुङले अनुवाद गरेका हुन् । अब कमल मादेनले जस्तो हुकरको समयको कठिन अंग्रेजीमा मात्रै पढ्न सकिने पुस्तक नेपाली भाषामै आएको छ ।

सुगौली सन्धिपछि जंगबहादुर राणा सत्ताको समयमा सन् १८४८ मा पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ आदि घुमेका हुकरको अनुवादित २१० पृष्ठको पुस्तकमा नेपालको त्यो समयका केही चित्ताकर्षक प्रसंग आएका छन् । चाल्र्स डार्बिनका साथी हुकरले सन् १८६० मा डार्बिनले थ्योरी अफ नेचुरल सेलेक्सन र अन द ओरिजिन अफ स्पेसिस सिद्धान्तमा दह्रो रक्षा गरेका थिए । उनै डार्बिनका मित्र तथा नेपालका अनि दक्षिण एसिया खासगरी अहिलेको भारतका वनस्पतिको गम्भीर खोजकर्ता हुकरले आफ्नो विज्ञताको क्षेत्र वनस्पति तथा वातावरणका अतिरिक्त नेपालका समकालीन रोचक कुरा पुस्तकमा लेखेका छन् । यहाँ त्यसैको चर्चा गरिएको छ ।

‘अल्छे नेपाली-फोहोरी नेपाली’

दार्जिलिङबाट इलाम हुँदै हुकरको ५६ जनाको टोली सन् १८४८ अक्टोबर २७ मा नेपाल प्रवेश भएको थियो । उनीहरु तीन महिना नेपालका पूर्वी पहाड डुले । उनले डुल्दा नेपालको र नेपालीको तत्कालीन सामाजिक परिवेशमा आफ्नो निजी टिप्पणी दिएका थिए । उनले ताप्लेजुङको ‘तमोर नदी र खावा खोला दोभान’मा पुगेर त्यहाँको बारेमा टिप्पणी गरेका छन् । त्यो गाउँमा पुगेर उनको टिप्पणी छ, ‘यहाँका मानिस कतिसम्म अल्छी छन् भने माछा मार्न खोलासम्म जाँदैनन् । उनीहरुले उखुका लाँक्रा बेच्ने र बाँड्नेबाहेक अरु काम कहिल्यै गरेका छैनन् । यस्तो प्रचण्ड गर्मीमा यात्रा गर्ने बटुवालाई उखुका लाँक्रा टोक्न दिन्छन् । उखुको रस निकालेर पिउन जानेका छैनन् । यहाँ फलफूल खेती अति खराब तरिकाले गरिएको थियो ।’

अल्छीकै प्रसंग ओलाङचुङगोला पुगेर पनि हुकरले गरेका छन् । उनले भनेका छन्, ‘यहाँका जति अल्छी मानिस संसारमा अन्त कतै पाइँदैनन् होला ।’ सन् १८४८ नोभेम्बर २३ को दिन ओलाङचुङगोला पुगेका उनले गाउँको सुन्दरताको भने बयान गरेका छन् । करिब सय घर भएको ओलाङचुङगोलामा मानेहरु कतै हातले र कतै पानीले घुमाइएको हुकरले लेखेका छन् । सरसफाइमा पनि हुकरले गुनासो गर्दै लेखेका छन्, ‘यस गाउँमा असल व्यवहार भएका तर शरीर नै गन्हाउने गरी मैलाधैला भएर बसेका तिब्बती जातिको भीड छ ।’

दुई सय वर्ष अगाडि नै नेपालमा झोलुङ्गे पुल

अहिले नेपालमा जताजतैजसो झोलुङ्गे पुलहरु छन् । यस्ता पुल निर्माणमा नेपालको क्षमताको तारिफसमेत हुने गरेको छ । रोचक कुरा, दुई सय वर्ष अगाडि पनि नेपालमा झोलुङ्गे पुल भएको हुकरको यात्रा वृतान्तले प्रस्ट गरेको छ । त्यो वेलाका झोलुङ्गे पुल फलामको हुने हुकरले लेखेका छन् । मेवा खोलामा पुल भएको प्रसंग ल्याउँदै हुकर भन्छन्, ‘मेवा खोलामा राम्रोसँग जडिएको फलामको झोलुङ्गे पुल थियो । त्यो पुलमा फलामका साङ्ला तन्काएर, दुइटा लाछा समानान्तर रुपमा खोलामाथि टाँगिएका थिए । ती नै फलामे डण्डीमा सालका फल्याक तेर्सो पारेर ओछ्याइएका थिए ।’

पूर्वमा आलुको आगमनै भएको थिएन

अहिले नेपालमा जताजतै आलु पाइन्छ । हिमाल, पाहडदेखि तराईसम्म आलु छ । तर, दुई सय वर्ष अगाडि आलुको यस्तो उपस्थिति हुनु त परै जाओस् पूर्वमा आलुको प्रवेशसमेत नभएको रोचक तथ्य हुकरले लेखेका छन् । काठमाडौंमा बसेका अंग्रेजको करेसाबारीमा आलु भए पनि कञ्चनजङ्घा पूर्वमा आलुको प्रवेशै नभएको हुकरले लेखेका छन् । ‘यस भेगमा र कञ्चनजङ्घाभन्दा पूर्वतिर आलु खाने चलन बसिसकेको थिएन’, हुकरले लेखेका छन्, ‘आलु खाने चलन नेपालभन्दा पूर्वतिरको क्षेत्र वा दार्जिलिङको बाटो हुँदै छिट्टै नै तिब्बततिर पनि फैलने सम्भावना प्रबल थियो ।’

धनकुटा पूर्वको राजधानीः बनाउँथ्यो नेपाली कागत

धनकुटा बजारमै नआए पनि हुकरले धनकुटा बजार नजिकैबाट धनकुटा बजारको कुरा ल्याएका छन् । धनकुटालाई उनले शहर भनेका छन् । धनकुटाका बारेमा उनले भनेका छन्, ‘धनकुटा बजार हामी बसेको ठाउँभन्दा लगभग २५ माइल जति टाढा थियो । यो बजार कागतपाते लोक्ताको बोक्रा लुछेर त्यसबाट नेपाली कागत बनाउन प्रख्यात थियो ।’

रोचक हिमाली शैलीः जिब्रो निकालेर अभिवादन, चिम्टाले दाह्री उखेलाइ

हुकरले ओलाङचुङगोलाका हिमालबासीलाई तिब्बती भनेर सम्बोधन गरेका छन् । तर, उनीहरुले नेपाल र तिब्बत दुवैको शासन नमानेर आफूहरु अलग भएको भन्ने बताएका छन् । अरु त अरु ओलाङचुङगोला घुम्ने अनुमति नेपालका राजाले दिन नसक्ने भन्दै गोबा (गाउँका प्रमुख)ले आफूलाई दिएको दाबी गरेको हुकरले लेखेका छन् । हिमाल जनजीवनको व्याख्या गर्दै हुकरले लेखेका छन्, ‘यिनले आपसमा सम्मान दर्शाउने र अभिवादन गर्ने शैली पनि अनौठो खालको छ । एक-अर्कालाई आदर देखाउन कि त जिब्रो बाहिर निकाल्छन् कि मुसुक्क हाँस्छन् ।’

दाह्रीका बारेमा हुकरले लेखेका छन्, ‘यी मानिसले अनुहारमा कतैकतै रौं पनि सावधानीपूर्वक साना चिम्टाले उखेलेर अनुहार सफा पारेका हुन्छन् ।’ यस्तै अनुहारमा कालो पोतेर नाच्ने लामादेखि भेडा तथा च्याङ्ग्रालाई बोकाएर नून ल्याइएका हिमाली दृश्य हुकरले लेखेका छन् । एक वयस्क चौंरीको मूल्य तीन पाउण्ड पर्नेसमेत तत्कालीन मूल्य हुकरले लेखेका छन् ।

त्यो बेलै भूटानबाट मान्छेहरु धपाइएका थिए

भूटानबाट आफ्ना नागरिकहरु धपाइएका कुराहरुमा सन् १९९० को दशकबाट धपाइएका नेपाली भाषीको प्रसंगमा मात्रै आइरहेको छ । तर, यस्तो समस्या दुई सय वर्ष अगाडि समेत भएको हुकरको यात्रा वृतान्तले देखाउँछ । आफूले दार्जिलिङबाट नेपाल घुम्ने भरियाहरु खोज्ने क्रममा नेपाली, लेप्चा र भूटानीको प्रसंग ल्याउँदै हुकरले भूटानबाट निकालिएकाहरुको बारेमा कुरा उप्काएका छन् । उनले लेखेका छन्, ‘उनीहरु (भूटानीहरु) भूटानको दुःख र दासत्वबाट पन्छिन यता (दार्जिलिङ) आएका थिए ।’


प्रतिक्रिया

One thought on “२०० वर्ष अगाडि नै नेपालीमाथि बेलायतीको टिप्पणी: यस्ता अल्छी मान्छे मैले कतै देखेको छैन

  1. नेपाल भित्र हुकरले हिनेको बाटोबारे लेख्छु भनेर कसिएकाले भाइ देवेन्द्र शक्तिनलाइ कञ्चनजङ्गा जुहार पठाई दिएको अझसम्म चालचुल छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर