प्रतिनिधिसभामा ४२ र प्रदेश सभामा ३२ प्रतिशत खस आर्यको उम्मेदवारी – Nepal Press

प्रतिनिधिसभामा ४२ र प्रदेश सभामा ३२ प्रतिशत खस आर्यको उम्मेदवारी

दुवै सभामा सबैभन्दा कम थारुबाट प्रतिशत भन्दा कम उम्मेदवार

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर खस आर्यकै बर्चस्व देखिएको छ । प्रतिनिधि सभामा जम्मा उम्मेदवारीको ४२.१६ प्रतिशत र प्रदेश सभामा जम्मा उम्मेदवारीको ३२.७२ प्रतिशत उम्मेदवारी खस आर्यकै परेको निर्वाचन आयोगले जनाएको हो ।

प्रतिनिधिसभामा १६५ वटा निर्वाचन क्षेत्रका लागि जम्मा २ हजार ४१२ जनाको उम्मेदवारी कायम रहेकोमा सबैभन्दा बढी खस आर्यबाट १ हजार १७ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभामा दोस्रोमा सबैभन्दा बढी आदिवासी जनजातिबाट २६.५७ प्रतिशत अर्थात ६ सय ४१ जनाको उम्मेदवारी परेको छ ।

यस्तै तेस्रोमा मधेशीबाट करिव २१ प्रतिशत अर्थात ५०६ जनाको उम्मेदवारी परेको छ भने चौथोमा दलितबाट ४ प्रतिशत अर्थात ९७ जनाको उम्मेदवारी पर्दा मुस्लिमबाट ३.३९ अर्थात ८२ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा कम थारुबाट २.८६ अर्थात ६९ जनाको मात्रै उम्मेदवारी परेको प्रवक्ता शर्माले बताए ।

यस्तै प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाको उम्मेदवारी पर्दा सबैभन्दा बढी खस आर्यबाट १ हजार ५५ जनाको उम्मेदवारी परेको छ । दोस्रोमा आदिवासी जनजातिबाट २८ प्रतिशत अर्थात ९०६ जनाको उम्मेदवारी परेको छ भने तेस्रोमा मधेशीबाट २७ प्रतिशत अर्थात ८७४ जनाको उम्मेदवारी परेको छ । यस्तै मुस्लिम र दलितबाट ४ प्रतिशत अर्थात मुस्लिमबाट १४५ जना र दलितबाट १४४ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा कम थारुबाट ३ प्रतिशत अर्थात सय जनाको मात्रै उम्मेदवारी परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *