भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा, पेनाल्टीमा उपविजेता बन्यो आर्मी – Nepal Press

भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा, पेनाल्टीमा उपविजेता बन्यो आर्मी

भोजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताकोे उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडाैंले आफनो पोल्टामा पारेको छ ।

शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडाैंलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै चर्च ब्वाइज युनाइटेडले उपाधी जितेको हो ।

पाँच हजार बढी दर्शकको उपस्थितीमा भएको प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजका तर्फबाट जर्सी नम्वर १२ का खेलाडी अर्माण्डले खेलको १८ औ मिनेटमा पहिलो खाता खोलेका थिए । यता त्रिभुवन आर्मी क्लवका तर्फबाट पनि जर्सी नम्वर ५९ का अनिल बम्जनले ५० औ मिनेटमा गोल गरेपछि खेल एक–एक वरावरीको अवस्थामा पुगेको थियो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट बरावरी गोल भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीकाक्रममा चर्च ब्वाइजका तर्फका जर्सी नम्वर ११ का नविन लामा, जर्सी नम्वर २५ का एकराज बुढाथोकी,  जर्सी नम्वर सातका अवोयमी र जर्सी नम्वर २२ का खेलाडी दिप कार्कीले चार गोल गरेका थिए भने त्रिभुवन आर्मीका तर्फबाट जर्सी नम्वर १९ का जितेन्द्र कार्की र जर्सी नम्वर ३५ का बसन्त जिम्माले दुई गोल मात्र गरेका थिए ।

आर्मीका तर्फबाट जर्सी नम्वर ३० का रिपु प्रधान र ४४ का खेलाडी मिलन योञ्जनले हानेको गोल चर्च ब्वाइजका गोल रक्षकले रोकेका थिए ।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका जर्सी नम्वर २२ का खेलाडी दीप कार्की भएका छन् । उनलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले र प्रयोजक अमृत लामाले नगद पाँच हजार र मेडल प्रदान गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेताले ट्रफी, मेडल, प्रमाणपत्र सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाएका छन भने अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कारको प्रदान गरिएको छ ।

विजेता टिम तथा खेलाडीहरुलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले, भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

गत वैशाख नौ गतेबाट सुरु प्रतियोगितामा ए डिभिजनका दुई टिम त्रिभुवन आर्मी क्लव, चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटवल क्लव, खोटाङ भगवती स्पोर्ट्स क्लब, सलहेश युवा क्लव सिरहा, राजारानी फुटवल क्लव धनकुटा, डाँगीहाट यूथ क्लव मोरङ र आयोजक भोजपुर जिल्ला फुटवल संघ गरी आठ टिमको सहभागिता थियो ।

भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भएको हो । करिब ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको थियो भने अन्य रकम सहयोग संकलन गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर