नेतृत्व छान्न एमाले कपिलवस्तुमा मतदान – Nepal Press

नेतृत्व छान्न एमाले कपिलवस्तुमा मतदान

रुपन्देही । नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशनबाट नेतृत्व छान्नका लागि मतदान भएको छ ।

अध्यक्षमा डम्बर शर्मा र बाबुराम खनाल दुवै समूहले उम्मेदवारी फिर्ता नलिएपछि आज बिहानबाट मतदान भएको हो । शर्मा र खनाल यसअघिको नवौँ अधिवेशनका पनि प्रतिस्पर्धी हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका विश्राम चौधरीले फिर्ता लिएसँगै शर्मा र खनालबीच प्रतिस्पर्धा हुने भएको हो । उम्मेदवारहरूले प्यानल बनाएर नभई स्वैच्छिक हिसाबले उम्मेदवारी दिएको दाबी गरेका छन् ।

उपाध्यक्ष पदमा शंकर पाण्डे, भेषराज पाण्डे र टोपलाल पोखरेलको उम्मेदवारी दिए पनि पोखरेलले फिर्ता लिएर दुई जनाबीच प्रतिस्पर्धा भएको छ । सचिवमा सिबी गहतराज र विश्व कार्कीको उम्मेदवारी परेको छ ।

एक जना उपसचिव खुला पदमा कमल क्षेत्री, गोविन्द आचार्य, देवी पोखरेल, छवि रेश्मीमगर, विष्णुप्रसाद गौतम, शारदानन्द यादव र विनोद चौधरी गरी ७ जनाको उम्मेदवारी परेकोमा छवि रेश्मीले फिर्ता लिएपछि ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

महिला उपसचिवमा सुशीला दर्लामी र माधुरी अग्रहरीको उम्मेदवारी परेको छ । १२० सदस्यीय जिल्ला कमिटीको १२ खुला सदस्यमा ५३ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्य डा। हरि भण्डारीले जनाएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले बुधवार उद्घाटन गरेको अधिवेशनमा ५ सय ५९ जना प्रतिनिधि रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर