नेपालमा विश्वकप लाइभ हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने, ओटीटीबाट प्रशारण गर्ने मिडिया हबको तयारी – Nepal Press

नेपालमा विश्वकप लाइभ हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने, ओटीटीबाट प्रशारण गर्ने मिडिया हबको तयारी

काठमाडौं । कतारमा आगामी डिसेम्बरमा हुने विश्वकप फुटबलको नेपालमा प्रत्यक्ष प्रशारण गर्ने एकाधिकार मिडिया हबले प्राप्त गरेको छ । फिफासँग उच्च मूल्यमा मिडिया हबले ‘एक्सक्लुसिभ ब्रोडकास्टिङ राइट्स’ लिएको हो ।

यसअघिका विश्वकपहरु टेलिभिजनमा अतिरिक्त शुल्कबिना हेर्दै आएका दर्शकहरुले यसपालि भने कठिनाइ व्यहोर्ने भएका छन् । मिडिया हवले विश्वकपको लाइभ प्रशारण दर्शकका लागि सशुल्क बनाउने तयारी गरेको छ । त्यसो भएमा टेलिभिजनका लागि नियमित तिर्ने शुल्कभन्दा छुट्टै पैसा दर्शकले तिर्नुपर्ने हुन्छ ।

विज्ञापनको बजार कमजोर भएकाले यसपटक पैसा लिएर मात्र प्रशारण गर्ने तयारी भइरहेको मिडिया हबका प्रमुख सोम धितालले बताए । शुल्कका विषयमा ८/१० दिनभित्र टुंगोमा पुगिसक्ने उनको भनाइ छ ।

‘यो विषय टुंगिसकेको छैन । हामी छलफलमै छौं । ८/१० दिनभित्र टुंगिएला’, नेपाल प्रेससँग कुराकानी गर्दै धितालले भने ।

यसअघि विश्वकप फुटबल ‘पेड च्यानल’ को राइट्स पाउने च्यानलले कुनै अतिरिक्त शुल्क लिने गरेका थिएनन् । उनीहरुले आफ्नो लागत विज्ञापनबाटै उठाउने गर्थे । यसपालि भने विज्ञापन बजार कमजोर रहेको तर्क गर्दै मिडिया हबले शुल्क लिने तयारी गरेको हो ।

धितालले थपे, ‘पहिले त विज्ञापनबाटै म्यानेज गरेर प्रशारण गरिरहेका थियौं । तर अहिले प्रशारण अधिकार लिँदा पनि महँगो पर्यो । विज्ञापनको बजार पनि राम्रो छैन । त्यसैले पेड च्यानलमा जाँदा कस्तो होला भनेर छलफल गरिरहेका छौं ।’

उपभाेक्ताबाट कति शूल्क उठाउने भन्ने तय नभइसकेकाे धितालले बताए । तर, स्राेतका अनुसार एक उपभाेक्ताबाट ५ सय रुपैयाँ  शुल्क ताेक्ने तयारी छ ।

धितालले यसपटक मिडिया हबले गर्नेबाहेक अन्य कुनै पनि विदेशी च्यानलमा विश्वकपको प्रत्यक्ष प्रशारण नहुने बताए । ‘हामी पेड च्यानलमा गयौं भने एउटा टीभीबाट प्रशारणको व्यवस्था मिलाउँछौं । त्यसमार्फत दर्शकको टेलिभिजनसम्म पुग्छ । तर, यो सबै सशुल्क हुन्छ’, धितालले भने ।

उनले केवल व्यवसायी, डीटीएचलगायत धेरै स्टेकहोल्डरसँग सहकार्य गर्नुपर्ने भएकाले पेड च्यानलका हकमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बताए ।

ओटीटीबाट प्रशारण गरिने

मिडिया हबले यसपालि विश्वकपको प्रत्यक्ष प्रशारण ओटीटी (ओभर द टप) प्लेटफर्मबाट गर्ने तयारी गरेको छ । जबकि नेपालमा ओटीटीबाट टेलिभिजन सामग्री प्रशारण गर्न अहिलेसम्म कसैले पनि लाइसेन्स लिएको छैन ।

धितालले विश्वकपका सबै प्रशारण ओटीटीबाट गरिने बताए । तर, कुन ओटीटी भन्ने खुलाएनन् ।

नेपाल सरकारले हालै ल्याएको संशोधित प्रशारण नियमावलीमा ओटीटीमार्फत प्रशारण गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । तर, यसको निर्देशिका नबनिसकेकाले आजका दिनसम्म एउटा पनि ओटीटी प्लेटफर्मले लाइसेन्स पाएका छैनन् । यसर्थ अहिले सञ्चालित सबै ओटीटीहरु अवैध हुन् ।

४ वर्षअघि नेपाली टेलिभिजनमा सरकारले क्लीन फिड लगाउनुअघि दर्शकले टेलिभिजनमा अतिरिक्त शुल्कबिना विश्वकप हेर्न पाएका थिए । केवल व्यवसायीले थोरै शूल्क लिएर धेरै च्यानल वितरण गर्ने अवस्था थियो । तर, नेपालको विज्ञापन बजार उकास्न भन्दै क्लीन फिड लागू गरिएपछि टेलिभिजन व्यवसाय सुकेको छ भने विज्ञापन बजार बढ्नुको साटो थप खुम्चिएको छ । यसैको फलस्वरुप विश्वकपका लागि समेत उपभोक्ताले शूल्क तिर्नुपर्ने अवस्था आएको हो ।

क्लीन फिड लागू हुनुअघि सम्म नेपालमा २ देखि ३ करोडरुपैयाँमा फिफाले नेपालमा प्रशारण अधिकार दिँदै आएकोमा यसपाली उक्त शुल्क अचाक्ली बढाएर १५ लाख डलर पुर्याएको बुझिएको छ । देशमा वैदेशिक विनिमय सञ्चितिको खडेरी परेको बेला सरकारले यति ठूलो रकम विदेश पठाउन अनुमति कसरी दियो भन्ने पनि प्रश्न उठ्छ । यसमा राष्ट्र बैंक तथा सञ्चार मन्त्रालयसमेत जिम्मेवार देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर