भान्सामा विषादीरहित तरकारी पुर्‍याउन रुपन्देहीका तीन महिला यसरी गर्दैछन् नमुना अभ्यास – Nepal Press

भान्सामा विषादीरहित तरकारी पुर्‍याउन रुपन्देहीका तीन महिला यसरी गर्दैछन् नमुना अभ्यास

रुपन्देही । तरकारी खेतीमा रासायनिक विषादीको प्रयोगले हरेक नागरिकको भान्सामा विष पुगेको गम्भीर विषयलाई सचेतना जगाउँदै बुटवलका तीन महिलाले संगठित रुपमा जैविक विषादीको उत्पादन थालेका छन् ।

उनीहरुले ठूलो मात्रामा तरकारी उत्पादन हुने स्थानमा मात्रै नभएर कौसी खेतीका लागि समेत प्रयोग गर्न सकिने जैविक विषादी बनाएका हुन् । उनीहरुले आफ्नै बारीमा परीक्षण गरेर नै उत्पादन तथा बिक्री वितरण थालेका हुन् ।

बुटवल उपमहानगरपालिका- १३ बेलबासका यी महिलाले लुम्बिनी जैविक विषादी तथा एग्रो सेन्टर संस्था बनाएर यसको उत्पादन थालेका छन् ।

गाईगोरुको काँचो मल तथा वनजंगल तथा घरछेउमा रहेका विभिन्न जडीबुटीजन्य वनस्पतिहरु कुहाएर यस्तो विषादीको उत्पादन गरिन्छ । यसरी उत्पादन गरिने विषादीमा कुन वनस्पतिको कति मात्रा राख्ने भन्ने विषयमा भने उनीहरुले विभिन्न परीक्षण तथा कृषि र जडीबुडी क्षेत्रमा काम गर्ने जानकारहरुसँग परामर्श लिने गरेका छन् ।

बेलबासका रीता घिमिरे, मधुकला कुँवर र शान्ता घिमिरे मिलेर यस्तो नमुना कामको थालनी गरेका हुन् ।

सेन्टरका अध्यक्ष रीताले गृहिणी महिलाले यसमा विशेष ध्यान दिए खेतबारीसँगै घरका छत तथा कौसी खेतीमा यो प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने र आफ्नो भान्सामा विषादीरहित तरकारी पुर्‍याउन सकिने बताउँछिन् । कोरोना महामारीपछि घरमै बसेर गरिएका विभिन्न अध्ययन अनि परीक्षणबाट यसप्रकारको काम गर्ने सोच आएको उनको भनाइ छ ।

‘स्थानीय तथा प्रदेश सरकारले हरेक क्षेत्रमा यसखालका योजनालाई प्राथमिकताका साथ अगाडि बढाउनसके एकातिर स्थानीयको आत्मनिर्भरता बढाउनेछ’, अध्यक्ष रीताले भने, ‘विषादीका कारण बढ्दो रोगहरु पनि घटाउँछ ।’

स्थानीय सरकारले यस्ता विषयमा बढी चासो दिनुपर्ने उनको अनुभव छ । उनका अनुसार जैविक विषादी थोरै खेतीका लागि थोरै र धेरै खेतीका लागि धेरै उत्पादन गर्न सकिन्छ । ‘यसबाट कम्पोष्ट मल पनि सँगै बनाउन सकिने भएकाले एकातिर घर वरिपरिको वातावरण स्वच्छ राख्छ भने अर्कोतिर उत्पादन बढाउन र विषादीरहित तरकारी भान्सामा लैजान सकिन्छ भन्ने हामीले प्रयोग गरेर ल्याएका छौं’, अध्यक्ष घिमिरले भनिन् ।

उनीहरुले गाईको गहुँतमा विभिन्न जडिबुटी तथा वनस्पतिजन्य वस्तुहरुको मात्रा मिलाएर ठूलो टयांकीमा निश्चित समय कुहाएर आवश्यकताअनुसारका भाडामा राखेर प्रयोग तथा बिक्री वितरण गरेका छन् ।

सेन्टरका सञ्चालक शान्ता घिमिरेले हरेक तरकारीमा जैविक विषादी र भिटामिनको प्रयोगले उत्पादन पनि बढ्ने र भान्सा विषादीरहित हुने भएकाले विशेष ख्याल गर्न आग्रह गर्छिन् । सानो लगानीमा पनि यो विषादीको उत्पादनले थोरै तथा थोरै तरकारी बालीमा प्रयोग गर्न सकिने र यसलाई व्यवसायिक रुपमै विस्तार गर्न सकिने बताउँछिन् ।

सानो लगानीबाट सुरु गरिएको यो अभियानले उनीहरुलाई अहिले भ्याइनभ्याइ भएको छ । उनीहरुको यो कामलाई देखेर अहिले प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिले चासो राख्न थालेका छन् । विभिन्न टोल-समूहमा पुगेर उनीहरुले यसबारे तालिमसमेत दिन थालेका छन् ।

वातावरण क्षेत्रका जानकार अग्रज पत्रकार डीआर घिमिरेले महिलाहरुको यो सक्रियता देखेर आफूले पनि विभिन्न क्षेत्रका जानकारहरुसँग यसबारे सूचना लिएर बताएको, विभिन्न जडीबुटी तथा वनस्पति संकलनमा हिंडेको बताउँछन् ।

महिलाहरुको यो सक्रियतापछि नेपालमा जैविक विषादी प्रयोग किन आएन ? यति सहज ढंगले उत्पादन हुने र प्रयोग गर्न सकिने विषयलाई जनप्रतिनिधिले किन चासो दिएनन् भन्ने विषयलाई चासोका साथ अगाडि बढाएको उनको भनाइ छ । उनले यस्तो खालको अभियानले तरकारीमा आत्मनिर्भरता बढाउनुका साथै नागरिकको स्वास्थ्यमा आउने सकारात्मक प्रभावका बारेमा नियामक निकायको ध्यान जान जरुरी रहेको बताए ।

रासायनिक मलको अभावले उत्पादन घटेको र रासायनिक विषादिको प्रयोगले बढाएको विभिन्न रोग यो खालको अभियानले केही कम गर्नेछ । हरेक दिन भान्सामा विष पिइरहेका नेपालीलाई सचेतना जगाउने यस्ता अभियानलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला पक्षको ध्यान जान जरुरी छ ।

कृषि प्राविधिक त्रिलोचन दाहालले जैविक मल र जैविक विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव नपार्ने बताउँछन् । जैविक मल र विषादीको प्रयोग बढ्न थालेको र यसले माटो, हावापानी, मानव तथा सबै जीवित प्राणीको संरक्षण गर्नसक्ने उनको भनाइ छ ।

‘रासायनिक मल र विषादी प्रयोगका कारण धेरै गम्भीर प्रकृतिका रोग देखिन थालेका छन्, मासुजन्य वस्तु प्रयोग गर्दा पनि उनीहरुले खाएको विषादी मानिसमा पुगेको छ’, उनले भने, ‘यस्ता गम्भीर विषयमा अब सबै सचेत बन्नुपर्ने भएको छ । जैविक मल र जैविक विषादीले केही असर गर्दैन । नियामक निकायले यसमा ध्यान देओस् ।’

नेपालमा जैविक विषादीको प्रयोग गर्ने हो भने त्यसको प्रशस्तै सम्भावना रहेको र शत्रु जीवलाई मार्न यसको भूमिका महत्वपूर्ण हुन्छ । यसका जानकारहरुका अनुसार जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्र जीव एवम् सूक्ष्म जीवहरु हुन्छन् । त्यस्तै विभिन्न जीव तथा वनस्पतिहरुको तत्व, उत्पादन वा सक्रिय तत्वहरु पर्दछन् । जैविक विषादी वातावरणमैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछन् । यसलाई एकीकृत शत्रु जीव व्यवस्थापनको महत्वपूर्ण अंश मानिन्छ । तर, यसको दीर्घकालीन प्रभाव नहेरेका कारण किसानहरुको वेवास्तामा परेको छ । रासायनिक विषादीले जस्तै यसले तत्काल असर गरेर प्रभाव नदेखाउँदा किसानहरु यसको प्रयोगतर्फ आकर्षित हुन सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर