‘मिटू’को अर्को दर्दनाक कथा : स्कुलका प्रिन्सिपलबाटै छात्रामाथि दुई वर्षसम्म यौन शोषण ! – Nepal Press

‘मिटू’को अर्को दर्दनाक कथा : स्कुलका प्रिन्सिपलबाटै छात्रामाथि दुई वर्षसम्म यौन शोषण !

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजकबाट भएको यौन शोषणको घटनाले व्यापक चर्चा पाइरहँदा अर्को उस्तै दर्दनाक घटना सार्वजनिक भएको छ ।

एक युवतीले आफूमाथि सात वर्षअघि विद्यालयका प्रिन्सिपलले नै दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा आफ्नो कथा सुनाएकी छन् ।

आफ्नो पहिचान नखुलाईकन फेसबुकमा युवतीले दिएको बयानअनुसार इटहरीका ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्काले २०७२/७३ मा उनीमाथि यौन शोषण गरेका हुन् ।

१५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला आफूमाथि प्रिन्सिपलले गिद्धे दृष्टि लगाएको उनको भनाइ छ । प्रिन्सिपलको तस्बिरसमेत उनले सार्वजनिक गरेकी छन् ।

युवतीका अनुसार पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थाले ।

उनले लेखेकी छन्, ‘यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्‍यो ।’

उनले आफूमाथि भएको शोषणका विषयमा सुरुमा साथीहरूलाई सुनाउँदा पनि विश्वास नगरेको बताएकी छन् । स्कुलमै तीन पटक आत्महत्या प्रयास समेत गरेको उनको भनाइ छ ।

एसईई सकेपछि उनले हिम्मत जुटाएर घटनाबारे परिवारलाई बताइन् । र, प्रहरीमा उजुरी पनि गरिन् । तर, लगत्तै आरोपी फरार भएका थिए । अहिलेसम्म प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले यस घटनाबारे २०७४ सालमा जिप्रकामा मुद्दा दर्ता भएको पुष्टि गरे । यद्यपि, मुद्दा दर्ता भएको दुई वर्षपछि मात्रै आफू सरुवा भएर सो कार्यालयमा आएकाले पूर्ण रूपमा जानकारी नरहेको उनको भनाइ छ ।

उनले नेपाल प्रेससँग भने ‘मुद्दा २०७४ मा नै जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको रहेछ । हद म्यादमा नै अदालतमा प्रवेश पाइसकेको भन्ने पनि मैले सामान्य बुझ्दा थाहा पाए । आज बिदा भएको हुनाले भोलि अदालत खुलेपछि मात्र प्रक्रिया के कहाँ पुगेको रहेछ बुझेर जानकारी गराउन सक्छु ।’

पीडितको पूरा बयान यस्तो छ:

७ वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले सुस्मिताका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ ।

घटना वर्ष २०७२/७३ को आसपासको हो।

म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यति बेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो, (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनुभयो भनेर म पछि बताउनेछु) त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो । प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिन । म डराइरहेको थिए र मलाई पसिना आइरहेको थियो र उसले मलाई ‘यता आऊ यहाँ गर्मी हुँदैन’ भन्दै कोठा तिर जान भन्यो । त्यति बेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्‍यो ।

उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याक मेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्‍यो । यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्‍यो ।

उसले मलाई बिदामा पनि घर जान दिएन, घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चैँ छोरी राम्रो पड्दै छ र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो, त्यही भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थ्यो ।

मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधैँ होस्टेलमै हुन दिनु, मेरो आमा स्कुलबाट ५ मिनेट टाढा बस्नु हुन्थ्यो र पनि मलाई प्रिन्सिपलले अस्पताल लैजान दिनु भयो, यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन रु तर यो मेरो जीवनको वास्तविक कथा हो ।

मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन् । म बाल्यकालदेखि नै हकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ । मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने (उसको त्यति बेला श्रीमती र एक छोरा थिए), तर उनले पनि मेरो लागि बोलिन। मैले स्कुलमा ३ पटक (२ वर्ष भित्र) आत्महत्या गर्ने असफल प्रयास गरे। न म मरे, न मेरो समस्या समाधान भयो ।

एसईई सकेपछि परिवारलाई यो कुरा भन्ने हिम्मत जुटाए तर न्याय पाइनँ, त्यो बलात्कारी फरार भयो र मेरो मुद्दा अझै चलिरहेको छ, उनीहरू भन्छन् । जब म फलो अप गर्थेँ, प्रहरीले कहिले बलात्कारीलाई खोज्दै छौ भन्छ। ७ वर्ष भइसक्यो तर बलात्कारी कहाँ छ ??? अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलो अप गर्न छोडेँ, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।

बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु ।

न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मै सँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दै छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर