चाक्सीबारीमा सिर्जना सिंहको कुकुरले टोकेर पुण्य गौतम घाइते, कसैले ‘सरी’ सम्म नभनेको गुनासो – Nepal Press

चाक्सीबारीमा सिर्जना सिंहको कुकुरले टोकेर पुण्य गौतम घाइते, कसैले ‘सरी’ सम्म नभनेको गुनासो

‘प्रहरीमा केस गर्न जाउँ कि भन्ने सोच्दैछु’

काठमाडौं । नेकपा एसका नेतासमेत रहेका सामाजिक सञ्जालका भाइरल म्यान पुण्य गौतम गत बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारीस्थित उनीहरुको निजी बंगलामा पुगे । राजनीतिक प्रयोजनले त्यहाँ पुगेका उनी शरीर र मनमा गहिरो चोट लिएर फर्किनुपर्यो ।

सिंह निवासको कम्पाउण्डमा गौतमलाई घरमा पालिएको कुकुरले आक्रमण गरेको थियो । गौतमका अनुसार ‘बाघझै अजंगका’ दुई कुकुर घरको कम्पाउन्डमा यत्तिकै खुल्ला छोडिएका थिए । आफूलाई आक्रमण गर्दा घरका मानिसहरु मुकदर्शक भएर हेरिरहेको र कसैले ‘सरी’ सम्म नभनेको उनको गुनासो छ ।

काठमाडौं महानगरमा सत्तारुढ गठवन्धनका तर्फबाट कांग्रेसकी सिर्जनाले मेयरको उम्मेदवारी दिएकी छन् भने उपमेयरमा नेकपा एसका उम्मेदवार छन् । नेकपा एसका सल्लाहकार गौतमले महानगरको चुनावी रणनीतिबारे छलफल गर्न र गणेशमान सिंहको आत्मकथा ‘मेरो कथाका पानाहरु’ को दोस्रो र तेस्रो भाग त्यहाँ छ कि भनेर दुई साथीहरुसहित सिंह निवासमा पुगेका जानकारी दिए ।

सिंह दम्पत्तिसँग समय लिएरै गएको भए पनि पुण्यलाई घरभित्र प्रवेश नगराइकन कम्पाउण्डमै राखिएको थियो । कम्पाउण्डमा प्रकाशमानका छोरा प्रभासमान सिंह थिए । प्रकाशमान घरभित्रै थिए भने सिर्जना घरबाहिर निस्किएकी थिइन् ।

गौतमले सुनाए, ‘हामीलाई बैठक कोठामा नलगिकन कम्पाउन्डमै रहेको कुर्सीमा राखियो । त्यहाँ दुईवटा अजंगका कुकुर देखेपछि मलाई सुरुमै डर लागेर तिनीहरुलाई बाँध्न भनेको थिएँ । तर कसैले वास्ता गरेनन् ।’

कुराकानीकै दौरान पुण्यको फोन आएपछि उनी कुर्सीबाट उठेका थिए । फोनमा कुरा गरिरहँदा अचानक पछाडिबाट एउटा कुकुरले झम्टिएको उनले सुनाए ।

‘सुरुमा मलाई खुट्टामा क्वाप्पै टोक्यो । धन्न मैले जिन्स पाइन्टभित्र ट्राउजर लगाएको थिएँ र ठूलो घाउ भएन,’ उनले भने ।

एकपटक टोकिसकेपछि आफू आत्तिएर कराउँदासमेत कसैले कुकुरलाई नसमातेको उनले बताए । गौतमका अनुसार उनीहरु उल्टै हँसिमजाक गरिरहेका थिए । पहिलोपटक टोक्दा पनि कसैले नरोकेपछि कुकुरले थप आक्रमण गरेको थियो ।

‘खुट्टामा टोक्नेवित्तिकै मैले यसलाई समाइहाल्नु भनेँ, तर उहाँहरु हाँसेर बस्नुभयो र केही गर्दैन भन्नुभयो । अनि एक पाइला सर्नासाथ फेरि झ्याप्पै आएर मेरो तिघ्रामा चढ्यो र पाखुरामा गहिरोसँग टोक्यो । मैले प्रतिकार गर्न खोजेको भए झनै नराम्रोसित घाइते बनाउने रहेछ ।’

पुण्यका अनुसार उनलाई टोकिसकेपछि एकजनाले मजाक गर्दै भनेका थिए, ‘यो कुकुरले ७२ जनालाई पहिल्यै टोकिसकेको छ । तपाईं ७३ नम्बरमा पर्नुभयो ।’ यसो भन्ने व्यक्ति भने उनले चिनेनन् ।

पुण्यलाई कुकुरले टोकेपछि हल्लाखल्ला सुनेर प्रकाशमान घरबाट बाहिर निस्किएका थिए । तर, उनले गौतमप्रति खासै सहानुभूति दर्शाएनन् ।

‘बाहिर आएर ल के कुरा हो गरौं न भन्नुभो । मैले तपाईंको कुकुरले भर्खर मलाई टोक्यो, एकदमै पीडा भइरहेको भनेर सुनाएँ । कहाँ छ अस्पताल भनेर पनि सोधेँ । तर, उहाँले कुनै महत्व नदिइकन ‘ए अँ अँ’ मात्रै भन्नुभयो । जबकि मेरो कोटबाहिरै रगत देखिएको थियो,’ उनले भने ।

कुकुरको टोकाइले घाइते भएपछि उपचारका लागि गौतम गणेशमान सिंह मेमोरियल अस्पताल पुगे । तर, त्यहाँ पनि राम्रो व्यवहार नभएको उनले बताए ।

‘म गणेशमानजीको स्मृतिमा खोलिएको अस्पतालमा म गएँ । उहाँहरुले त मच्छडले टोकेर आएजस्तो व्यवहार देखाउनुभयो,’ गौतमले भने, ‘प्रकाशमान सिंहको घरको कुकुरले टोकेको भनेर जानकारी गराउँदासमेत गतिलो रेस्पोन्स गरेनन् ।’

उनलाई पाँचवटा रेविजको र एउटा टिटानसको सुई लगाउन भनियो । एउटा सुईको पाँच सय पर्ने बताइयो ।

त्यसपछि गौतमले टेकु अस्पतालमा तीनवटा सुई लगाउँदा हुन्छ, यहाँ किन पाँचवटा भन्ने प्रश्न गरेका थिए । त्यसपछि उनलाई भनियो– त्यसो भए टेकु नै जानु ।

उनी पनि घाउ बोकेर टेकुतिर लागे । टेकु अस्पतालमा उनले टिटानस र रेविजको पहिलो डोज लगाएका छन् । रेविजको थप दुई डोज लगाउन बाँकी छ ।

कुकुरले टोकेको घाउ दुखेर खपिनसक्नु भएको पुण्यले सुनाए ।

‘हिजो राति त हनहनी जरो आएर झिम्मिकै निदाउन सकिनँ,’ उनले भने ।

घरको कुकुरले अतिथिलाई टोकेर घाइते बनाएपछि अस्पताल पुर्याएर उपचार गरिदिनु घरबेटीको कर्तव्य हो । तर, आफूलाई उपचार त परको कुरा सामान्य क्षमायाचनाको औपचारिकतासमेत पुरा नगरिएकोमा पुण्य दुखी छन् ।

‘न त्यहाँ कसैले सरी भन्यो, न एक कल फोन गरेर कसैले केही सोध्यो,’ गौतमले भने, ‘त्यत्रा महामानव गणेशमान सिंहको निवासभित्र न्यूनतम मानवीय संवेदनासमेत नभएका यस्ता दयाहिन मानिसहरु देखेर मलाई आश्चर्य लागेको छ ।’
आफूले माथि र तल तीनवटा लुगा लगाएको भएर घाउचोट कम भएको उनले बताए ।

‘पाखुरा नांगो भएको भए मासु नै लुछेर लैजाने रहेछ,’ गौतमले भने ।

उनले सिंह दम्पत्तिविरुद्ध प्रहरीमा केस गर्ने विचारसमेत गरिरहेका छन् ।

‘उहाँहरुले यति अमावनीयता देखाउनुभयो कि मलाई त कतै केस गरौं कि भन्ने भइरहेको छ,’ उनले भने, ‘घरमा बोलाएका गेष्टलाई कुकुरले टोक्दा उहाँहरु मनोरञ्जन लिएर मान्छे गनेर बसिरहनु भएको छ । भोलि अरुलाई पनि यस्तो नहोस भनेर पुलिसमा जाने विचार गर्दैछु ।’

प्रकाशमानको घरमा पालिएका कुकुर विदेशी नश्लका हुनसक्ने पुण्यको अनुमान छ ।

‘अहिले काठमाडौंको भीआइपीको घरमा ब्वाँसोसँग क्रस गरिएको कुकुर पालिन्छ । यस्ता कुकुरमा कतिबेला कुकुरको र कतिबेला ब्वाँसोको स्वभाव आउँछ थाहा हुँदैन । उहाँहरुले पालेको कुकुर पनि नेपालीजस्तो थिएन । सायद यस्तै क्रस कुकुर हुनुपर्छ,’ उनले भने ।

आफूलाई सिर्जना सिंहको कुकुरले टोकेको जानकारी दिँदै पुण्य गौतमले राखेको टिकटक भिडिओ :

@punyagautam_official_99

#punyagautam #punyagautamofficial #trendingvideo #viralvideos #tiktoknepal #srijanasingh #prakashmansingh

♬ original sound – Punya Raj Gautam


प्रतिक्रिया

One thought on “चाक्सीबारीमा सिर्जना सिंहको कुकुरले टोकेर पुण्य गौतम घाइते, कसैले ‘सरी’ सम्म नभनेको गुनासो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर