सूचना चुहाएको आरोपमा नेपाल एयरलाइन्सका अध्यक्षले ‘ह्यारेसमेन्ट’ गर्दा कर्मचारी बेहोस (भिडिओ) – Nepal Press

सूचना चुहाएको आरोपमा नेपाल एयरलाइन्सका अध्यक्षले ‘ह्यारेसमेन्ट’ गर्दा कर्मचारी बेहोस (भिडिओ)

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पटकपटक मानसिक यातना दिएपछि विक्षिप्त बनेका निगमकै कर्मचारी देवराज ओझा कार्यकारी अध्यक्षकै कार्यकक्षमा बेहोस भएका छन् ।

यसअघि नै पटकपटक कार्यकक्षमा बोलाएर दुर्व्यवहार गरेकोमा सोमबार पुनः कार्यकारी अध्यक्षको कार्यकक्षमा बोलाइएका ओझा अचानक ढलेपछि उनलाई मोडेल अस्पतालमा लगिएको छ ।

निगमको नजिकै देशकै ठूलो वीर अस्पताल हुँदा हुँदै कार्यकारी अध्यक्ष अधिकारीले आफ्नै गाडीमा राखेर मोडल अस्पताल पुर्‍याएपछि कर्मचारी आक्रोशित बनेका छन् ।

मोडलमा अधिकारीकी पत्नी कार्यरत रहेकाले षड्यन्त्रपूर्वक ल्याइएको भन्दै कर्मचारीले अहिले अस्पताल घेराउ गरेका छन् । ओझामाथि मानसिक दबाब परेको र उनी बेहोस हुनुअघि कार्यकक्षमा के भएको थियो भन्ने थाहा नभएको कर्मचारी संघका अध्यक्ष मान कुँवरले बताए ।

केही दिनअघि कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पर्यटन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको र सो स्पष्टीकरणको सुचना बाहिर लिक गरेको आरोप अधिकारीले ओझामाथि लगाएका थिए ।

मिडियामा आएको समाचारका लिंक उनले कर्मचारी संघको मेसेन्जर ग्रुपमा हालेपछि अधिकारीले उनलाई बोलाएर मोबाइल खोस्ने तथा मानसिक यातना दिने काम गरेको कर्मचारीको आरोप छ ।

अधिकारी र निगमकै पाइलट उद्धव घिमिरेले उनलाई जागिर खाइदिने तथा भविष्यमा कतै काम गर्न नसक्ने बनाइदिने धम्की दिएको कर्मचारी संघको आरोप छ । अधिकारीनेपाल एयरलाइन्सको रियादको उडानमा अनावश्यक मान्छे लगेको, चार्टर्डमा प्राइभेट एयरलाइन्ससँग मिलेमतो गरेको तथा ट्वीनअटर विमान भाडामा लगाएको विषयमा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर