लाउरेको समूहबाट १३.१ ग्राम ब्राउनसुगर बरामद, पक्राउ पर्ने अरु ३ जना को हुन् ? – Nepal Press

लाउरेको समूहबाट १३.१ ग्राम ब्राउनसुगर बरामद, पक्राउ पर्ने अरु ३ जना को हुन् ?

काठमाडौं । चर्चित र्‍यापर आशिष राना लाउरेलाई पक्राउ गरिएको विषयमा प्रहरीले आधिकारिक जानकारी दिएको छ । लाउरे र उनीसँगै पक्राउ परेकाहरूको तस्बिर पनि प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

कास्की प्रहरीले फेसबुकमा दिएको जानकारीअनुसार बुधबार बेलुकी ७ बजे पोखराको वडा नम्बर ८ जाल्पारोडबाट लाउरेसहित चारजना पक्राउ परेका थिए । उनीहरूले लागुऔषध खरिद-बिक्री गरिरहेको सूचनाका आधारमा जिप्रका कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको शरीर खातलासी गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम ब्राउनसुगर फेला परेको थियो । त्यसपछि थप अनुसन्धानका क्रममा वडा नं. ८ स्थित सुस्मिता गुरुङको कोठाभित्र लुकाइ-छिपाइ राखेको अवस्थामा १२.५० ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । यसैगरि, डिजिटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान स्कुटर १ थान बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

को- को पक्राउ परे ?

लाउरेसँगै पक्राउ परेका चारजनामा एक महिला छन् । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारका ३२ वर्षीय लाउरे भन्ने आशिष राना, वडा नं. २१ घर भइ हाल वडा नं. १७ छोरेपाटन बस्ने ३८ वर्षीय ध्रुवबहादुर थापा र कास्की रुपा गाउँपालिका वडा नं. ७ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय बिक्की भनिने नविनकुमार गुरुङ पक्राउ परेका छन् ।

यस्तै स्याङ्जा भीरकोट नगरपालिका-७ घर भइ हाल पोखरा महानगरपालिका ८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरुङ पक्राउ परेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर