क्रिकेट विवादको राजनीतिकरण, कारबाहीमा पुनर्विचार गर्न बाध्य बन्दै क्यान – Nepal Press

क्रिकेट विवादको राजनीतिकरण, कारबाहीमा पुनर्विचार गर्न बाध्य बन्दै क्यान

कप्तान परिवर्तनको निर्णय यथावत राखेर ४ खेलाडीको कारबाही फुकुवा हुन सक्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीहरूमाथि गरेको कारबाहीका कारण उत्पन्न विवादले अझै निकास पाएको छैन । खेलाडीहरूले निर्णयमा पुनर्विचारका लागि आग्रह गरिरहेको बेला क्यानमाथि राजनीतिक दबाब पनि बढेको छ ।

क्यानले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चारजना खेलाडीहरूलाई आचारसंहिता उल्लंघनको आरोपमा कारबाही गर्ने निर्णय लिएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त भइसकेका छन् । यस्तै, चार खेलाडीहरूलाई कारबाही स्वरूप सेन्ट्रल कन्ट्राक्टबाट ६ महिना बाहिर राख्ने क्यानको निर्णय छ ।

यो पनि पढ्नुहोस् : कान्छा कप्तान सन्दीप: ‘युथ आइकन’ को काँधमा नेपाली क्रिकेट

क्यानको निर्णय बाहिर आएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । लगत्तै सत्तारुढ दल माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस विषयमा ‘चासो’ राखेका थिए । देउवाले पनि क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग चासो राखेका छन् । अर्कोतर्फ खेलकुदमन्त्रीको चासो छँदैछ । यसरी राजनीतिक तहबाट चासोमाथि चासोको घानमा परेको कान निर्णयमा पुनर्विचार गर्न बाध्य बन्ने देखिएको छ ।

क्यानका अध्यक्ष चन्द सत्तारुढ दल नेपाली कांग्रेसका बैतडी जिल्ला सभापतिसमेत हुन् । उनी गत महिना भएको जिल्ला अधिवेशनमा शेखर कोइराला नेतृत्वको गैरसंस्थापन खेमाबाट सभापति निर्वाचित भएका थिए । यस हिसाबले उनलाई पार्टीभित्रैको पनि दबाब छ ।

नेपाल प्रेससँग कुरा गर्दै क्यानका अध्यक्ष चन्दले खेलाडीहरूसँग आफू संवादमा रहेको बताए ।

उनले भने, ‘अनौपचारिक कुराकानी भइरहेको छ । चाँडै निकास निस्किन्छ ।’ चन्दले थप प्रतिक्रिया दिन चाहेनन् ।

क्यान सुरूमा कारबाहीको निर्णयमा अडिग थियो । कुनै पनि हालतमा निर्णयमा पुनर्विचार नगर्ने भने पनि राजनीतिक दबाबकै कारण खेलाडीसँग संवादका लागि चन्द तयार भएका हुन् । कारबाहीमा परेका चार खेलाडीले दुई दिनअघि पत्रकार सम्मेलन गर्दै निर्णयमा पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका थिए ।

खेलकुदमन्त्रीको मध्यस्थता प्रयास

खेलकुदमन्त्री महेश्वरजंग गहतराजले क्यान र खेलाडीबीचको विवाद समाधानका लागि पहल अगाडि बढाएका छन् । उनले अस्ति क्यानका पदाधिकारीसँग र हिजो खेलाडीहरूसँग भेटेर कुराकानी गरेका थिए ।

मन्त्री गहतराज दुवै पक्षबीच समझदारीका लागि आफूले मध्यस्थ भूमिका निभाइरहेको बताउँछन् । यसलाई राजनीतिक हस्तक्षेप भन्न नमिल्ने उनको तर्क छ ।

उनले नेपाल प्रेससँग भने, ‘देशका लागि समर्पित भएर खेल्ने खेलाडीहरूमाथि यसरी कारबाही गर्नु ठीक भएन भनेर मैले भनेको छु । क्यानका अध्यक्षले सकारात्मक जवाफ दिनुभएको छ । सम्भवतः चाँडै निकास निस्कने छ ।’

विभागीय मन्त्रीको हिसाबले क्रिकेट विवादलाई समाधानतर्फ लैजानु आफ्नो दायित्व भएको उनले बताए ।

यो पनि पढ्नुहोस् : क्यानको कारबाहीले क्रिकेट टिममा हलचल, सन्दीपसँग खेलाडीहरुको ‘कोल्ड वार’

मन्त्री गहतराजले भने, ‘अरुको विषयमा मलाई थाहा भएन । तर, मैले दवावका रुपमा भन्दा पनि सुझावका रूपमा भनेको हुँ । खेलाडीहरूमाथि गरिएको कारबाहीलाई जनस्तरमा पनि राम्रो मानिएको छैन । यसर्थ कारबाहीमा पुनर्विचार गर्नुपर्छ भन्ने नै हो ।’

खेलाडीहरूले पनि आफ्नो अनुशासनमा बस्नुपर्ने र धेरै मिडियावाजीमा उत्रिन नहुने गहतराज बताउँछन् ।

‘यो कुरा मैले उहाँहरूलाई भेटेर सम्झाएको छु । सबैले मिलेर विवाद समाधान गरौं भन्ने प्रयास हो,’ उनले भने । खेलाडीहरूबाट अनुशासन उल्लंघनको गम्भीर विषय आफूले नपाएको गहतराजले बताए ।

बीचको बाटो खोजी

यतिबेला विवाद समाधानका लागि सर्प पनि मर्ने र लाठी पनि नभाँचिने बीचको बाटो आवश्यक देखिएको छ । खेलाडीहरूको आत्मसम्मानमा चोट नपुग्ने र क्यानको प्रतिष्ठामा पनि आँच नआउने गरी ‘विन-विन’ को समाधान के हुन सक्छ ?

यदि क्यानले ज्ञानेन्द्रलाई कप्तानबाट हटाउने मात्रै निर्णय लिएर नयाँ कप्तान नतोकेको भए उसलाई निर्णयबाट ब्याक हुन खासै समस्या हुने थिएन । तर, सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेर यसको जानकारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्म पुगिसकेको छ । त्यसैले अब सन्दीपलाई दिएको कप्तानी खोसेर फेरि ज्ञानेन्द्रलाई सुम्पिन जटिलता छ । यसले अस्थिरता निम्त्याउने मात्रै होइन, आईसीसीबाट क्यानमाथि नै कारबाहीको खतरा समेत उत्पन्न हुन सक्छ ।

यसअघि क्यानले नेपाल क्रिकेट संघलाई राजनीतिक हस्तक्षेपकै कारण लामो समय निलम्बनमा राखेको थियो । यदि अहिले पनि राजनीतिक दवावमा निर्णय फिर्ता लिन बाध्य पारिएको खण्डमा आईसीसीले झन् कडा कदम चाल्न सक्ने क्यानका पदाधिकारी बताइरहेका छन् ।

क्यान अहिले कप्तान परिवर्तनको निर्णय यथावत राखेर चार खेलाडीहरूलाई ‘सेन्ट्रल कन्ट्राक्ट’ बाट बाहिर राख्ने निर्णय फिर्ता लिन सकारात्मक रहेको स्रोतले दाबी गरेको छ । यसैलाई ‘विन विन’ को समाधानका रुपमा व्याख्या गरिएको हो । सेन्ट्रल कन्ट्राक्टमा पुनः समेटिएपछि खेलाडीहरूले राष्ट्रिय टिमबाट आत्मसम्मानपूर्वक खेल्न सक्नेछन् ।

बन्द प्रशिक्षण रोकियो

क्यान र खेलाडीहरूबीचको विवादका कारण आजबाट सुरू हुने भनिएको खेलाडीहरूको बन्द प्रशिक्षण रोकिएको छ । पोखरामा गर्ने भनिएको बन्दसत्र कहिलेबाट सुरु हुन्छ भन्ने औपचारिक जानकारी क्यानले दिएको छैन ।

नेपाली क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायेके नआइपुगेकाले बन्द प्रशिक्षण हुन नसकेको क्यानको दावी छ । यद्यपि, प्रशिक्षक नहुँदैमा बन्द प्रशिक्षण सामान्यतया रोकिँदैन । नेपालले आगामी फेब्रुअरीमा टी-२० विश्वकपछि र विश्व क्रिकेट लिग-२ खेल्नुपर्ने भएकाले बन्द प्रशिक्षण सुरू गर्न ढिला भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर