हिटको ह्याट्रिक गर्ने ध्याउन्नमा रहेका रोहितलाई अनमोलको स्टार पावरमा भरोसा – Nepal Press

हिटको ह्याट्रिक गर्ने ध्याउन्नमा रहेका रोहितलाई अनमोलको स्टार पावरमा भरोसा

रोहित भन्छन्ः अनमोललाई फर्की फर्कीमा ५० लाख पारिश्रमिक दिएँ

काठमाडौं । रोहित अधिकारी फिल्मप्रतिको प्यासनका कारण निर्माता बने । आठ वर्ष पहिला हेमराज बीसी निर्देशित ‘गाजलु’मार्फत् निर्माताको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका उनले पहिलो गाँसमै मुनाफाको स्वाद चाखे । एक करोड २६ लाख लगानी गरेर बनाएको ‘गाजलु’बाट अधिकारीलाई ४० लाख खुद मुनाफा आयो ।

यसपछि हौसिएका अधिकारीले तीन वर्षपछि ‘छ माया छपक्कै’मा दीपेन्द्र लामा र दीपकराज गिरीको समूहसँग सहकार्य गरे । फिल्मले घरेलु बक्स अफिसबाट मात्रै १४ करोडमाथिको व्यापार ग¥यो । यस फिल्मबाट पनि अधिकारीले राम्रै मुनाफा लिए ।

वर्षमा ९० प्रतिशत हाराहारी फिल्मका निर्माता पुनः फिल्म निर्माण गर्न नसक्ने गरी डुबिरहेको वेला अधिकारी भने अहिलेसम्म ग्रीन जोनमै छन् । उनले अहिलेसम्म असफलताको स्वाद चाख्नु परेको छैन । यही सिलसिलामा उनी निर्माता रहेको फिल्म ‘फर्की फर्की’ आउँदो जेठ १० बाट प्रदर्शनको तयारीमा छ ।

ओस्कर कलेजमा फिल्म निर्देशन पढेर फिल्म निर्माणमा होमिएका अधिकारी ‘गाजलु’ निर्माणताकाको समय सम्झन्छन्, ‘हेमराज बीसी दाइ भर्खरै भारतबाट आउनुभएको थियो । म यता फिल्म पढिरहेको थिएँ । थर्ड इयरमा हुँदा भूइचालो गयो । त्यही वेला दाइले एउटा स्क्रिप्ट छ, बसौं भन्नुभएपछि बसियो । अनि गाजलु सम्भव भयो ।’

‘गाजलु’ निर्माणताका अनमोल केसीको ‘होस्टेल’ र ‘जेरी’ प्रदर्शन भइसकेको थियो । एक खालको स्टारडम हासिल गरिसकेका थिए । अधिकारी र बीसीले अभिनेताको रुपमा केसीलाई लिने निर्णय गरे । केसीलाई प्रस्ताव पनि गरे । अनमाेलले १० लाख पारिश्रमिक माग गरेका थिए । त्यसबेला त्याे मारिश्रमिक ठूलै थियाे ।

राेहित सम्झन्छन्, ‘हामीलाई उहाँले १० लाख माग्नुभएकाे थियाे। पछि नेगोसियसन गरेर सहकार्य गर्‍यौं ।’

आठ वर्षअघि १० लाख पारिश्रमिक माग्ने केसीलाई अहिले अधिकारीले पाँच गुणा बढी दिन तयार भएका छन् । अधिकारीका अनुसार अनमाेलले ५० लाख रूपैयाँ लिएर यस चलचित्रमा काम गरेका हुन् । यति ठूलाे रकम दिन उनी कसरी तयार भए ?

अधिकारीको तर्क छ, ‘त्यसवेला  एक सवा करोड लगानीमा बन्ने फिल्म अहिले ५ करोड पुगेको छ । सबै हिसाबले स्वाभाविक हो । उहाँले कर तिर्नेगरी विकास बोर्डलाई बुझाएको रकम ५० लाख हो ।’

न परिवार फिल्म क्षेत्रमा न त परिवारलाई फिल्म क्षेत्रप्रति चासो । दाङमा हुर्किएका अधिकारीको परिवारको फिल्मसँगको दूरदूरसम्मको पनि साइनो थिएन । कहिलेकाहीँ दर्शकको रुपमा फिल्म हेर्नु अर्कै कुरा ! तर, घरबाटै एक करोड २६ लाख ल्याएर निर्माता भएका अधिकारीले परिवारको विश्वास कसरी जिते ?

अधिकारी भन्छन्, ‘म घरमा यस्तो वातावरणमा हुर्किएँ कि कुनै पनि प्रकारको लत र कुलतमा फसिनँ । यही कारण पनि मलाई परिवारले विश्वास गर्‍यो । फिल्म पढिरहेको थिएँ, व्यापार व्यवसाय गर्नैपर्‍यो । केही न केही गर्नैपर्छ भनेपछि परिवारलाई धेरै फिल्महरुको उदाहरण दिएर विश्वस्त पारें ।’

अधिकारीका अनुसार ‘गाजलु’ले ओपनिङ नै ७० लाखको गरेको थियो । दोस्रो दिन शनिबार एक करोडमाथिको ग्रस कलेक्सन गरेको थियो । त्यसवेलादेखि अहिलेसम्म अधिकारीले महसुस गरेको एकै कुरा हो, स्क्रिप्टको अभाव । अधिकारी सुनाउँछन्, ‘स्क्रिप्ट सुनाउँदा एउटा तरिकाले सुनाइन्छ । यति राम्रोसँग प्रेजेन्ट गरिन्छ कि अहिले नै सुटमा गइहालौं जस्तो हुन्छ । तर पछि स्क्रिनप्ले आउँदा, डाइलग आउँदा यति खराब भएर आउँछ कि कामै गर्न नसकिने खालको हुन्छ ।’

तर, निर्माताको रुपमा आउन कलेज अध्ययनले निकै सहयोग गरेको अधिकारीको अनुभव छ । यदि कलेज गएर फिल्म नपढेको भए यो क्षेत्रबारे नै अनभिज्ञ भएर कुनै दुर्घटनामै जान सकिन्थ्यो पनि भन्ने उनलाई लाग्छ । कसैले कन्सेप्ट सुनाइदिएकै भरमा केही नबुझी फिल्ममा हाम फाल्ने खतराबाट आफूलाई कलेजको अध्ययनले बाहिर निकालेको बताउँछन् अधिकारी ।

– अनि अहिले पाँच करोड लगानी गरेर बनाएको ‘फर्की फर्की’बाट अपेक्षा के हो ?

अपेक्षा एकदमै बढी छ । हामीले टाइम ट्राभल, टाइम लुपमा काम गरेका छौं । हामीले इमानदारीसाथ काम गरेका छौं । ट्रेलरमा दर्शकले स्वीकार्नु पनि भएको छ ।

– अहिले सामाजिक कथामा आधरित फिल्महरु चलिरहेको छ । निर्माताहरु त्यतै लोभिएका छन् । तपाईंले चाहिँ फरक जनराको फिल्ममा हात हाल्नुको कारण केही छ ?

हाम्रोमा सोसल ड्रामा यति धेरै बने । ‘कबड्डी’, ‘जारी’, ‘छक्का पञ्जा’, ‘जात्रा’ राम्रै छ । तर, धेरैजसो अन्य फिल्म यी फिल्महरु जस्तै बन्दा दिक्कै लाग्दोरहेछ । हामीसँग कन्सेप्ट नै नभएको हो र ? नयाँ विषयमा लागौं, हलमा नयाँ पुस्तालाई आकर्षित गरौं भनेर हामी यता लागेका छौं ।

– निर्माता भएपछि लगानी फिर्ताको कुरा पनि होला । यही विधामा जोखिम लिने झोंक चाहिँ किन चलेको हो ?

मलाई मनपर्ने जनरा हो ‘फर्की फर्की’को । मलाई सोसल ड्रामा पनि मनपर्छ । नेपालमा मात्रै यस्तो भइरहेको छ, भारतमा एनिमल जस्तो फिल्म चल्यो । फरक जनराको फिल्म हाम्रोमा बनेकै छैन त ! जुन जनराको भए पनि राम्रो फिल्म बन्दा दर्शकले जहिल्यै स्वीकार्नुभएको इतिहास हामीसँग छ नि !

– निर्माताको दृष्टिकोणबाट ‘फर्की फर्की’मा कतिको जोखिम छ ?

जोखिम छ । पाँच करोड लगानी भएको छ । त्यसको आफ्नैखाले जोखिम हुन्छ । अनमोलको ‘छड्के २’ डिजास्टर नै भएको थियो । तर, हामीले उठाएको स्टोरीको ट्रेलर दर्शकले रुचाइदिनु भएकाले उत्साहित छौं ।

– पल शाह र प्रदीप खड्का स्टारर ‘पुजार सार्की’सँग तपाईंको फिल्म भिड्दैछ । निर्माताको कोणबाट त ठूला फिल्मसँग जुध्नु ठूलो आर्थिक पहिरो जानुहोला नि ?

हामीले पनि कोसिस गरेको हो त्यसरी नजुधाउनलाई । अर्को फिल्मको निर्माता, निर्देशक, लेखक साथीहरु हो । उहाँहरु मलाई शुभकामना दिन बंगलामुखी मन्दिरमा मुहूर्तको वेला आउनुभएको थियो । त्यसरी आएका साथीहरुको खै के कुरामा चित्त बुझेन ।

फिल्मका लागि जेठ १० को मिति त्यति राम्रो पनि होइन । हामीले त्यही डेटमा ‘गाजलु’ चलाएका थियौं । हामीले न नयाँ वर्ष, न चाडबाड न त केही महत्वपूर्ण डेट लिएका हौं । जेठको गर्मीमा सोलो प्रदर्शन गर्न डेट लिएका थियौं । खै कसको आँखा लागेर हो, हाम्रो फिल्मलाई प्रहार गर्नलाई ल्याइयो । तर, कसैलाई पनि क्षति पुर्‍याउने हाम्रो नियत छैन । अर्को फिल्म पनि चल्नुपर्छ । मेरो शुभेक्षा छ ।

– बजारमा त ‘पुजार सार्की’का निर्देशक दिनेश राउत र तपाईंको इगोका कारण फिल्म जुधेको भनिन्छ नि ! अनि इगोकै कारण दुवैको सिङ भाँचियो भने ?

म त जुधाउन गएको छैन । दिनेशजीलाई एउटा फिल्ममा सहकार्य गर्न अफर गरेको थिएँ । पछि केही कारणवश हामी अलग भयौं । तर, त्यही कारणले मात्रै यस्तो जुध्ने त हुँदैन थियो होला । उहाँहरुको पनि त्यो डेटमा ल्याउनुपर्ने बाध्यता थियो होला ।

– ‘छड्के २’ डिजास्टर भयो । तपाईंलाई अनमोलको स्टारडमप्रति कतिको विश्वास छ ?

राम्रो फिल्म बनाएपछि दर्शक आइहाल्नुहुन्छ । अनमोलको अघिल्लो वर्ष ‘ए मेरो हजुर ४’ ले त्यस्तो राम्रो व्यापार गरेको हो । केजीएफ २ सँग जुध्दा पनि नाफामा गयो । हुनत छड्के त्यस्तो भयो । यस्तो हुनुमा चाहिँ अनमोललाई एक्सन जनरामा दर्शकले स्वीकार नगर्नुभएको हो । तर, अनमोलको क्रेज एकदमै राम्रो छ । सुटमा जाँदा पनि दर्शकहरु पाँच मिनेटका लागि ८-१० घण्टा कुर्नुहुन्छ ।

– कतिपय समीक्षक अब चकलेटी अनुहारको समय गयो भन्छन् नि ?

त्यो कुरामा म विश्वास गर्दिनँ । रणवीर कपुरको ‘एनिमल’ चल्यो त ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *