मण्डलामा ‘बाखाम्मा : मुन्दुममा मान्छे’- तस्बिरमा हेर्नुस् सुम्‍निमा-पारुहाङको प्रेमकथा – Nepal Press

मण्डलामा ‘बाखाम्मा : मुन्दुममा मान्छे’- तस्बिरमा हेर्नुस् सुम्‍निमा-पारुहाङको प्रेमकथा

काठमाडौं । वैशाख १४ गतेबाट थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘बाखाम्मा : मुन्दुममा मान्छे’ को मञ्चन सुरू भएको छ । किरात राई जातिमा प्रचलित मुन्दुमी पात्र ‘बाखाम्मा’ मा आधरित यस नाटकका लेखक राजन मुकारुङ हुन् भने निर्देशक किरण चाम्लिङ हुन् ।

मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रामुहाङ (पारुहाङ) ले खरानी र माटोले शीत जमेर बनेको पानीमा मुछेर बनाएको आकृति नै बाखाम्मा हुन् । किरात राई जातिको जन्मदेखि मृत्युसम्मका जुनसुकै कर्म गर्दा पनि मुन्दुमी कथा-कैरनहरू भन्नै पर्ने हुन्छ । विशेष गरेर ‘हेत्छाकुप्पा, तायामा र खियामा’ का कथाहरू, अझ बढी ‘सुम्निमा-पारुहाङ’का अनेकौं कथाहरू भनिने गरिन्छ । फरकफरक स्थान र सन्दर्भहरूमा फरकफरक नाम, पारा र बिम्बहरूमा भनिने गरिए पनि राईहरूका लागि सुम्निमा-पारुहाङ नै सृष्टिकर्ता हुन् भन्ने कुरामा लगभग साझा मत छ ।

तसर्थ, किरात राईहरूको एकता, साझा आस्थाका प्रतीकका रूपमा ‘सुम्निमा-पारुहाङ’लाई लिने गरिन्छ । उनै सुम्निमा-पारुहाङले मानव-सृष्टि गर्ने सन्दर्भमा शुद्ध र पवित्र स्थानका रूपमा छानेको स्थान ‘साल्पा-सिलिचुङ’लाई किरात राईहरूले उत्तिकै आस्था र विश्वास गर्दछन् । अर्थात् सुम्निमा-पारुहाङकै प्रतीकका रूपमा मान्ने गर्दछन् । यही मुन्दुमी जगमा टेकेर निर्माण गरिएको नाटक हो ‘बाखाम्मा : मुन्दुममा मान्छे’ ।

नाटकको विषयमा लेखक र निर्देशकले भनेका छन्, ‘हामीले नाटकमा किरात राई समुदायले विवाहकर्म गर्दा आजसम्म विश्वासका साथ बचाइआएको संस्कार, सभ्यता विकासको क्रममा निर्माण गरेको रैथाने संस्कृति, अनुभव, ज्ञान अथवा सांस्कृतिक सौन्दर्य, यीनै कुरालाई मौलिक दृष्टिबाट हेर्ने, बोध गर्ने खास उद्देश्य राखेका छौं । मुन्दुमअनुसार पहिलो मान्छेको कथा अर्थात् किरात राईहरूको आफ्ना अनेकौं उत्पत्तिकथाहरूमध्ये एउटा रहस्यात्मक कथा भन्ने कोसिस यहाँ गरिएको छ । यो कोसिसले पनि जराको खोजी गर्ने सांस्कृतिक पहिचानको आन्दोलनलाई बल दिन्छ भन्ने विश्वास गरिएको छ । नाटकमा हामी भन्छौं- हाम्रो रैथाने सौन्दर्य र मौलिकतामा विश्वास गरौं, काम गरौं । बहस गर्ने कुरा त जति पनि रहिहाल्छ ।’

नाटकको कथासार भने यस्तो छ,

साल्पा-सिलिचुङको सांस्कृतिक यात्रामा निस्केका सिखुम र सायाबीच भैरुङपाती टिप्न जाने सन्दर्भमा प्रेम सम्बन्ध स्थापित हुन्छ । उनीहरू भागेर जान्छन् । उनीहरूको भागी विवाहलाई सामाजिक-सांस्कृतिक वैधानिकता दिन कलिया (लमी) ‘चोरको सोर’ रित बुझाउन सायाको माइतीघरमा आउँछन् । गाउँसमाज बीच कलियाले आफ्नो रित थाल्छन् । सायाको बाउ पहिले साल्पा-सिलिचुङ जाँदा नै हराएको कुरा र छोरीले पनि त्यही ठाउँबाट भागेर गएकोमा सायाको आमाले दुःख व्यक्त गर्छिन् । आफूहरूले पनि साल्पा-सिलिचुङ जाँदा नै भागी विवाह गरेको कुरा उक्काउँछिन् ।

साल्पा-सिलिचुङप्रति केही सन्देह व्यक्त गर्छिन् । तब कलियाले साल्पा-सिलिचुङ त सुम्निमा-पारुहाङले मायाप्रेम गरको पवित्र ठाउँ हो भनेर मुन्दुमी कथा थाल्छन् । मिथकीय कथाहरूबाट नाटक अघि बढ्छ । साल्पा-सिलिचुङ क्षेत्रमा नै सृष्टिमा पहिलो मानिस बनेको कुरा मुन्दुमको कथाबाट भनिन्छ । सुम्निमा-पारुहाङ प्रेमकथालाई देखाइन्छ । उनीहरूकै प्रेमबाट मानव-सृष्टि सुरू भएको कुरा जिकिर गरिन्छ । अनि मात्रै सायाको आमाले रित स्वीकार गर्छिन् । सिखुम र सायाको प्रेमविवाहलाई सामाजिक-सांस्कृतिक रूपमा वैधानिकता दिइन्छ ।

नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, शुभम चाम्लिङलगायत कलाकारको अभिनय रहेको छ । यस नाटकलाई केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको हो ।

हेर्नुहोस् नाटकका केही तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर