लगानी सम्मेलन : ८ करोड छुट्याएकोमा ७१ लाखमात्र खर्च, किन भयो कम ? – Nepal Press

लगानी सम्मेलन : ८ करोड छुट्याएकोमा ७१ लाखमात्र खर्च, किन भयो कम ?

काठमाडौं । वैशाख १६-१७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा ७१ लाख खर्च भएको छ । सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले नेपाल प्रेससँग भने, ‘तेस्रो लगानी सम्मेलनमा ३ वटा शीर्षकमा ७१ लाख खर्च भएको छ । जसमा बैठक व्यवस्थापनमा ८ लाख, लगानी सम्मेलका लागि विभिन्न देशमा भएको प्रि-इभेन्टमा १८ लाख र कर्मचारी परिचालन तथा प्रोत्सानमा ४५ लाख छ ।’

समय अभावले खर्च कम भएको उनले बताए । छोटो समय भएकाले सार्वजनिक खरिद नभएको साथै सम्मेलनमा प्रयोग भएको कोक-फेन्टालगायतका पेय पदार्थ निजी कम्पनीलाई व्यवस्थापन गर्न लगाइएको उनले बताए ।

‘स्टल राख्ने खर्च पनि निजी क्षेत्रले गरेको थियो । इभेन्ट म्यानेमेन्ट र खाना लगातको खर्च बेलायत सरकारको फरेन कमनवेल्थ एण्ड डिभलपमेण्ट अफिसले सहयोग गरेको थियो । हामीले सहयोग गर्न अनुरोध गरेका थियौं । त्यसै अनुसार सो दातृ निकायले सहयोग गरेको हो । सो संस्थाले कति खर्च गरेको हो हिसाब दिन अनुरोध गरेका छौं । फरेन कमनवेल्थ एण्ड डिभलपमेण्ट अफिसले गरेको खर्च पठाउछ होला ।’

यो खर्चमा ४/५ प्रतिशत तलमाथि हुन सक्ने उनले बताए ।

लगानी सम्मेलको तयारी पूरा नभएको भनेर प्रश्न उठिरहेको बेला बोर्डले समय अपुग भएर सार्वजनिक खरिद अनुसार समान किन्न नसकिएको बताएको छ । बोर्डसँग बजेट हुँदाहुदै पनि खर्च नगरेर विदेशी दातृ निकायसँग सहयोग मागिएको छ ।

पहिलो लगानी सम्मेलनमा १ करोडभन्दा धेरै खर्च भएको थियो । दोस्रोमा ४ करोड खर्च भएको उपाध्यायले बताए । तेस्रोमा खर्च कम हुनुमा सार्वजनिक खरिद अनुसार सामान खरिद नगर्नु, निजी क्षेत्रले सहयोग गर्नु र दातृ निकायले सहयोग गर्नु हो ।

तेस्रो लगानी सम्मेलनमा लगानी गर्न ९ खर्ब बराबरका १५१ परियोजना सोकेसमा राखिएको थियो, जसमा ९ अर्ब १३ करोड रूपैयाँ बराबरको लगानीमात्रै स्वीकृत भएको छ ।

सम्मेलनमा ४० देशका ८ सयभन्दा धेरै विदेशी लगानीकर्ता आएका थिए । आयोजकका अनुसार विदेशी र नेपाली गरी २ हजारको जमघट थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *