क्रिकेट टिमभित्र चरम गुटबन्दी, सन्दीपलाई एक्ल्याउने प्रयास (अन्तरकथा) – Nepal Press

क्रिकेट टिमभित्र चरम गुटबन्दी, सन्दीपलाई एक्ल्याउने प्रयास (अन्तरकथा)

क्यान-खेलाडी विवादमा पारस ‘फ्याक्टर’

काठमाडौं । नेपाल क्रिकेट संघले चार खेलाडीहरूमाथि गरेको कारवाहीको विषयले राष्ट्रिय क्रिकेट टिमभित्र केही समययता देखिएको गुटबन्दीलाई सतहमा ल्याइदिएको छ । टिमबाट सन्न्यास लिइसकेका पूर्वकप्तान पारस खड्कासमेत विवादमा तानिएका छन् ।

ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान नियुक्त गर्ने क्यानको निर्णय धेरैका लागि अप्रत्याशित र विष्मयकारी थियो । तर, क्यान र खेलाडीहरूबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेकाहरू यसलाई अपेक्षित नै मान्छन् । खेलाडीहरूको गुटबन्दी र क्यानका पदाधिकारीहरूको पूर्वाग्रहले समस्या निम्त्याएको उनीहरूको भनाइ छ ।

क्यानले आचारसंहिता उल्लंघन आरोपमा चार खेलाडीहरूमाथि कारबाही गर्ने निर्णय लिएको थियो । कप्तान मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरिएको छ भने उनीहरूसहित चारजनालाई ६ महिना सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने निर्णय भएको छ । क्यानको यस्तो निर्णयले राष्ट्रिय टिमभित्रै विभाजन ल्याइदिएको छ ।

यो पनि पढ्नुहोस् : कान्छा कप्तान सन्दीप: ‘युथ आइकन’ को काँधमा नेपाली क्रिकेट

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र राष्ट्रिय क्रिकेट संघबीचको पुरानो द्वन्द्वले अहिलेको परिणाम ल्याएको जानकारहरू बताउँछन् । उनीहरूको भनाइमा खेलाडीहरूको वर्गीकरणलाई लिएर निकालिएको विवाद पनि ‘रेडिमेड’ हो ।

पारस फ्याक्टर

एक दशकभन्दा लामो समय नेपाली क्रिकेट टिमको कप्तान रहेका पारसले सन् २०१८ को सेप्टेम्बरमा अचानक पदबाट राजीनामा दिए । नेपाली क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको प्रतिबन्ध फुकुवा भएको भोलिपल्टै पारसको राजीनामा आउनु संयोगमात्रै थिएन ।

नेपाली क्रिकेटको नियामक निकायका रुपमा रहेको नेपाल क्रिकेट संघ क्यानसँग पारसको सम्वन्ध पहिल्यैदेखि खराब थियो । क्यानको कार्यशैलीसँग असन्तुष्ट थिए पारस । क्यानका पदाधिकारीहरूका गलत क्रियाकलापविरुद्ध उनले खुलेर बोल्ने पनि गरेका थिए । पारसकै नेतृत्वमा एकपटक तलब-सुविधाको विषयलाई लिएर खेलाडीले मैदानमै आन्दोलन गरेका थिए । तर, पारसको ‘हाइट’ र लोकप्रियताका कारण उनीमाथि कारबाही गर्ने हिम्मत क्यानले गरेन ।

जब अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानलाई प्रतिवन्धित गर्‍यो, पारस निकै शक्तिशाली बने । आईसीसीद्वारा नेपाल प्रतिनिधिको रूपमा नियुक्त गरिएकी भावना घिमिरेसँग उनको राम्रो ट्युनिङ मिल्थ्यो । टिम छनोटदेखिका हरेक कुरा पारसको हातमा थियो । उनी टिममा सर्वस्वीकार्य पनि थिए । आफ्नो कप्तानी भूमिकामा उनले कहिल्यै प्रश्न उठ्न दिएनन् । मैदानभित्र र बाहिर उत्तिकै प्रभावशाली थिए । सबै खेलाडीले पारसलाई लिजेन्डका रूपमा आदर र सम्मान गर्थे ।

आईसीसी निलम्बनको अवस्थामा प्रशिक्षक, कप्तान र आइसीसीका एक प्रतिनिधिले टोली छनोट गर्ने गरिएको थियो । सबै खेलाडीहरूको क्षमताबारे जानकार भएकाले टोली छनोटमा पारस नै हावी हुन्थे । राष्ट्रिय टिमको छनोट गर्दा पारसले भेदभावपूर्ण व्यवहार गरेको आरोप पनि लाग्यो । त्यसबेला राष्ट्रिय टिममा नपरेर असन्तुष्ट बनेका एक खेलाडी सुशील कँडेलले पारसविरुद्ध वक्तव्य नै दिएका थिए । धनगढी प्रिमियर लिगको पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी बनेका कँडेल टिममा नपरेपछि क्रिकेट नै छोडेर जापान पलायन भएका थिए ।

तर, यो अपवादको मात्रै घटना थियो । अन्यथा कप्तानका रुपमा पारसको योगदान नेपाली क्रिकेटमा अतुलनीय रह्यो । धेरै प्रतियोगिताहरूमा उनले नेपाललाई जिताए । नेपालले टि-२० विश्वकप खेल्नेदेखि ओडीआई स्टाटस प्राप्त गर्नेसम्मका उपलब्धी पारसको कार्यकालमा हासिल भए ।

पारसले अचानक राजीनामाको घोषणा गर्दा धेरै क्रिकेट समर्थक निराश बनेका थिए । त्यसबेला उनले निलम्बन फुकुवा भएको क्रिकेट संघलाई नयाँ तरिकाले अगाडि बढ्न बाटो खुलोस् भन्ने चाहनाले राजीनामा दिएको बताएका थिए । तर, मुख्य कारण चाहिँ क्यान पदाधिकारीसँग उनको पुरानो तुष नै थियो । क्यानले उनको राजीनामा फिर्ता गराउनका लागि गम्भीर प्रयास पनि गरेन ।

कप्तानी छोडेपछि एक वर्ष खेलाडीका रुपमा टिममा आवद्ध रहेका पारसले करिब ५ महिनाअघि राष्ट्रिय टिमबाटै सन्न्यास लिएका छन् । जबकि उमेरको हिसाबले उनीसँग अझै ४-५ वर्ष खेल्ने समय छ । पारस अब नेपाली क्रिकेटको व्यवस्थापनमा आउन चाहन्छन् । यसको अर्थ क्यानको नेतृत्व लिने नै हो । त्यसनिम्ति पृष्ठभूमि बनाइरहेका उनले अहिले पनि नेपाली क्रिकेट टिममा आफ्नो प्रभुत्व कायम राख्न खोजिरहेको क्यानका एक पदाधिकारीको आरोप छ ।

‘धेरै खेलाडीहरू अहिले पनि पारसकै इशारामा चल्छन्,’ ती पदाधिकारीले भने, ‘उहाँले खुलेआम क्रिकेट टिममा गुट चलाइरहनुभएको छ ।’

पारस र ज्ञानेन्द्रबीच राम्रो सम्बन्ध छ । टिमका प्राय खेलाडीहरूले पारसलाई मार्गदर्शक मान्छन् । यता, क्रिकेट संघमा पारससँग निकट सम्वन्ध भएका छुम्बी लामा बोर्ड मेम्बर छन् । यसरी पारस-ज्ञानेन्द्र-छ्म्बीको गठबन्धनले क्रिकेट संघविरुद्ध अभियान चलाइरहेको स्रोतको दाबी छ ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले हालै एक कार्यक्रममा पारसप्रति लक्ष्यित गर्दै गम्भीर आरोप लगाएका थिए । वाईवाई यू-१९ क्रिकेटका फाइनलमा भाषण गर्दै उनले क्यानलाई असफल पार्न र फेरि आईसीसीको प्रतिवन्ध नित्याउन सन्यास लिएका खेलाडीसमेत सक्रिय रहेको उनले बताएका छन् ।

पारस भने आफू सधैँ खेलाडीहरूको हकहितको पक्षमा रहेको बताउँछन् । तर, पछिल्लो विवादमा आफ्नो कुनैहात नभएको उनको प्रष्टीकरण छ ।

नेपाल प्रेससँग उनले भने, ‘हरेक घटनामा मलाई दोष देखाउने गरिन्छ । तर, अहिले मेरो राष्ट्रिय टिममा कुनै भूमिका छैन ।’

सन्दीपलाई एक्ल्याउने प्रयास

क्यानले कप्तान नियुक्त गरेका सन्दीप लामिछाने उत्साहित देखिएका छन् । उनी टिमको कप्तानी लिन पहिल्यैदेखि व्यग्र थिए । तर, उनका लागि टिमको कप्तानी सहज देखिएको छैन । टिमका अधिकांश खेलाडीहरू क्यानको निर्णयका विरुद्ध उभिएका छन् ।

क्रिकेट संघको कारबाहीपछि धेरै क्रिकेटरहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । उनीहरूले क्यानको कारबाही विज्ञप्ति इन्स्टामा सेयर गर्द एकैसाथ लेखेका छन्- ‘(आइ एम डन) मलाई पुग्यो । यसरी क्यान विरुद्ध उत्रिनेमा करण केसी, कुशल भुर्तेल, आसिफ शेख, अविनाश बोहरा, पृथु बास्कोटा, रोहितकुमार पौडेल, सन्दीप जोरा, ईशान पाण्डेलगायत छन् । उनीहरू सबै राष्ट्रिय टिमबाट खेल्दै आएका खेलाडी हुन् ।’

ज्ञानेन्द्र र दीपेन्द्रले भने सामाजिक सञ्जालमा केही पनि लेखेका छैनन् । क्यानको निर्णय सार्वजनिक भएयता ज्ञानेन्द्रको मोबाइल निरन्तर अफ छ । आज पत्रकार सम्मेलन गर्दै उनले आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । टिमका सबैभन्दा सिनियर खेलाडी शरद भेषावकर भने मौन छन् । उनी पारस-ज्ञानेन्द्रको समूहमा नरहेको बुझिएको छ ।

यता, नवनियुक्त कप्तान सन्दीप भने अहिले अष्ट्रेलियामा छन् । एक दैनिकलाई दिएको अन्तरवार्तामा उनले आफू कप्तानीको जिम्मेवारीका लागि तयार रहेको उनले बताएका छन् । सन्दीपका अनुसार यस विषयमा उनको क्यान र नयाँ प्रशिक्षक पुबुदु दासानायकेसँग पनि छलफल भएको छ । उनले टिमका सबै खेलाडीलाई मिलाएर लैजाने आत्मविश्वास पेस गरेका छन् ।

सन्दीप नेपाली राष्ट्रिय टिमको कप्तानीका लागि लालायित नै थिए । पारसले कप्तानी छाडेदेखि सन्दीपमा कप्तानीको महत्वाकांक्षा सवार भएको हो । क्यानले दीपेन्द्र ऐरीलाई उपकप्तानमा नियुक्त गर्दा सन्दीप केही निराश बनेका थिए । तर, धेरै सिनियर खेलाडीलाई उछिन्दै उनी २१ वर्षको उमेरमा कप्तान नियुक्त भएका छन् ।

सबैजसो खेलाडीहरू पारस-ज्ञानेन्द्रको पक्षमा भएकाले नयाँ नेतृत्वको छनोट गर्दा क्यानसँग धेरै विकल्प थिएनन् । सिनियर खेलाडीका रूपमा रहेका शरद भेषवाकरको प्रदर्शन खस्कँदो अवस्थामा छ । अर्का विनोद भण्डारीको प्रदर्शनमा एकरूपता छैन र टिममा उनको स्थान मजबुत छैन । यस्तो अवस्थामा क्यानको अगाडि सन्दीप निर्विकल्पजस्तै बनेका थिए ।

सन्दीपमा कप्तानीका प्रशस्तै गुण छन् । तर, उनलाई अरु खेलाडीले सहजरुपमा स्वीकार्नेमा प्रश्न उब्जिएको छ । अहिले सामाजिक सञ्जालमा खेलाडीहरूले ‘आई एम डन’ भन्दै हालेका पोष्टहरू हचुवा होइनन् भने उनीहरूबाट विद्रोहको सम्भावनालाई नकार्न सकिनन् । खेलाडी र सामाजिक सञ्जालबाट समेत दबाब बढेमा क्यान पछाडि फर्किन बाध्य हुन सक्छ ।

वर्गीकरणमा अन्याय भएकै हो ?

अहिले सतहमा आएको मुख्य मुद्दा भनेको क्यानले गरेको खेलाडीहरूको नयाँ वर्गीकरण हो । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीहरूको वर्गीकरणलाई लिएर असन्तुष्टि मिडियामा सार्वजनिक भएको थियो । यद्यपि, असन्तुष्टिका विषय खासै ठूला र धेरै छैनन् ।

बर्गीकरणमा तीन खेलाडीहरूलाई अन्याय भएको भनिएको छ । बलर सोमपाल कामीले आफूलाई ‘बी’ ग्रेडमा राखिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ब्याट्सम्यान रोहित पौडेललाई वर्गीकरणमै समावेश नगरिएको भनेर आलोचना भएको छ । यस्तै, कमल सिंह ऐरीले आफूलाई सी श्रेणीमा राखिएकोमा चित्त बुझाएका छैनन् । गुलशन झालाई पनि वर्गीकरणमा पार्नुपर्थ्यो भन्न माग रहेको छ । कप्तान ज्ञानेन्द्रसहित ४ असन्तुष्ट खेलाडीहरूले सेन्ट्रल कन्ट्राक्टमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

यी खेलाडीहरूमाथि अन्याय भएको हो वा होइन भनेर निष्कर्षमा पुग्न वर्गीकरणको विधि र प्रक्रियाबारे बुझ्नु आवश्यक हुन्छ ।

क्यानले गत वर्षबाट क्रिकेट खेलाडीरुको बर्गीकरण गरेर उनीहरूलाई नियमित तलव उपलब्ध गराउन थालेको हो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार निश्चित अवधिमा अन्तर्राष्ट्रिय म्याचहरूमा खेलाडीले गरेको प्रदर्शनलाई आधार बनाएर तीन श्रेणीमा विभाजन गर्ने गरिन्छ । क्यानले ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा १८-१८ जना पुरुष र महिला खेलाडीलाई विभाजन गरेको छ । ए श्रेणीका पुरुष खेलाडीलाई ५० हजार, बी श्रेणीलाई ४० हजार र सी श्रेणीलाई ३० हजार रुपैयाँ दिने गरिएको छ । यसरी वर्गीकरणमा परेका खेलाडीहरूलाई क्यानले सम्झौतामा हस्ताक्षर गराउँछ, जसलाई सेन्ट्रल कन्ट्राक्ट भनिन्छ ।

क्यानका तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठ नेतृत्वको समितिले मापदण्ड बनाएर गत साउनमा खेलाडी वर्गीकरणको सूची क्यानलाई बुझाएको थियो । उक्त खेलाडीको सूची अनुमोदन गर्न क्यानले निकै समय लगायो । समस्या उत्पन्न हुनुको एउटा प्रमुख कारण यो पनि हो । गत असोजमा बसेको क्यानको बोर्ड वैठकले २०२१ को अप्रिलदेखि डिसेम्बरसम्म नौ महिनाको लागि वर्गीकरण गरेको थियो ।

क्यानले सन् २०२१ को सम्झौता वर्षको सुरूआतमै गर्नुपर्ने थियो, तर वर्ष सकिनलाग्दा गर्‍यो । जुन अवधिको प्रदर्शन मूल्यांकन गरेर सूची बनाइएको थियो, सार्वजनिक हुने बेलासम्म नेपालले थप प्रतियोगिताहरू खेलेकाले त्यसमा राम्रो प्रदर्शन गर्ने खेलाडी छुटेका हुन् । क्यानले २०२० फेब्रुअरीमा भएको नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक श्रृंखला, मार्चमा भएको थाइल्यान्ड भ्रमण र २०२१ को अप्रिलमा भएको नेपाल, मलेसिया र ओमानबीचको त्रिकोणात्मक श्रृंखलामा गरेको प्रदर्शनलाई आधार बनाएर खेलाडीको वर्गीकरण गरेको बताएको छ ।

ती श्रृंखलामा रोहित पौडेल र गुलशन झा सहभागी थिएनन् । त्यसैले उनीहरू वर्गीकरणमा छुटेका हुन् । अर्को वर्गीकरणमा अवश्य पर्न सक्छन् । सोमपाल कामीको कुरा गर्ने हो भने उनी टोलीका प्रमुख बलर हुन्, तर पछिल्लो समय उनको प्रदर्शन सन्तोषजनक छैन । त्यसेले उनी एबाट बीमा झरेका हुन् । राम्रो प्रदर्शन गर्दा माथि उक्लिने र खराब प्रदर्शन गर्दा तल झर्ने क्रम भइनै रहन्छ । अरु देशमा पनि हुने यही नै हो ।

यद्यपि, यसमा खेलाडीले असहमति राख्नै सक्दैनन् भन्ने होइन । मिडियामा दिएका सामान्य प्रतिक्रियालाई आधार बनाएर क्यानले गरेको कारबाही उत्तेजनापूर्ण देखिन्छ, यदि अरु विषय नजोडिएका भए ।

क्यानले गरेको वर्गीकरणमा अघिल्लो वर्ष पनि विवाद उत्पन्न भएको थियो । त्यसबेला पनि मिडियावाजी भएको थियो । तर, क्यानले खेलाडीलाई कारवाहीको सट्टा आफैं वर्गीकरण सच्याउन तयारी भयो ।

यसपाली वर्गीकरणका विषयमा मिडियामा असन्तुष्टि राखेपछि क्यानले खेलाडीहरूलाई स्पष्टीकरण सोधेको थियो । दुईपटक सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै क्यानले कारबाहीको निर्णय लिएको हो । यता, खेलाडीहरूले पनि ११ बुँदे मागपत्र क्यानलाई बुझाएका छन् ।

१९ जना खेलाडीहरूको हस्ताक्षरसहित बुझाइएको मागपत्रमा एक हप्ताभित्र जवाफ दिन ‘अल्टिमेटम’ दिइएको थियो । खेलाडीको यो रवैयाले क्यानलाई थप आक्रोशित बनाएको हो । पारसले नै खेलाडीहरूलाई उचालेर यस्तो कदम चाल्न लगाएको बुझाइ क्यान पदाधिकारीहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर