लुम्बिनीमा त्रियान सम्मेलन शुरु, आज राष्ट्रपति भण्डारी सहभागी हुने – Nepal Press

लुम्बिनीमा त्रियान सम्मेलन शुरु, आज राष्ट्रपति भण्डारी सहभागी हुने

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन शुरु भएको छ । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो ।

१७ औं वार्षिकोत्सवमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिले ९ करोड २० लाख लागतमा निर्माण भएको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्नेछिन् ।

यो कार्यक्रममका लागि राष्ट्रपति आज मध्याह्न १२ बजे लुम्बिनी आउने कार्यक्रम छ । सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको रजिष्टार तिलक आचार्यले जानकारी दिए ।

सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् । सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।

थेरवाद बौद्ध संस्कृति र समृद्धि विषयमा अनागारिका प्रितिवती र मदनरत्न बज मानन्धरले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा थेरवादी संस्कृतिलाई मुलुकको समृद्धिसँग जोड्न सकिने भन्दै थेरवादी परसम्पराको प्रर्वद्धनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरको अध्यक्षतामा भएको सेसनमा प्रस्तुत भएका कार्यपत्रमाथि भिक्षु वजिर र डा. रिना तुलाधरले टिप्पणी गरेका थिए ।

त्यस्तै थेरवाद बौद्ध शिक्षण पद्धति विषयमाथि प्रा.डा. भिक्ष्ुा सांकिच्च महास्थविरले कार्यपत्र प्रस्तुत गरे । सो कार्यपत्रमाथि इश्वरचन्द्र विद्यासागर श्रेष्ठले टिप्पणी गरेका थिए ।

महायान बौद्ध संस्कृति र समृद्धि विषयमा आचार्य सार्की शेर्पाले कार्यपत्र प्रस्तुत गरे । सो कार्यपत्रमाथि डा. शारदा पौडेलले टिप्पणी गरेका थिए । यो विषयमा प्रा.डा. रमेश ढुंगेल, लोपेन कर्मा यान्चेनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यको अध्यक्षतामा चलेको सेजनमा प्रस्तुत दुई कार्यपत्रमाथि वेदराज ज्ञवाली र डा. निमा शेर्पाले टिप्पणी गरेका थिए । त्यस्तै महायान बौद्ध शिक्षण पद्धति विषयमा डा. तेन्जिङ जिन्पा भूतियाले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्रमाथि प्रा.डा. बिजय वरुवाले टिप्पणी गरे ।

बज्रयान संस्कृति र समृद्धि विषयमा बिहीबार गोष्ठी हुनेछ । त्यसअघि सम्मेलनको शुभारम्भ कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने योजनासहि यो सम्मेलनको आयोजना गरेको बताए ।

रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने नीतिलाई यो सम्मेलनले टेवा पुर्‍याउने बताए । विश्वविद्यालयले पहिलो सम्मेलनबाट मन्थन भएका विचारहरुलाई नीति निर्माण तहसम्म पुराउने उनले बताए । बौद्ध शिक्षण पद्धतिको प्रवद्र्धन गरी बौद्ध दर्शनलाई जीवनयापनसँग जोड्नुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर