किन अडिदैनन् संवैधानिक आयोगमा सचिव ? – Nepal Press

किन अडिदैनन् संवैधानिक आयोगमा सचिव ?

दलित आयोगमा मात्रै दुई महिनामा चार सचिव फेरिए

काठमाडौं । राष्ट्रिय दलित आयोगमा दुई महिनामा चार जना सचिव फेरिएका छन् । यसरी छिटोछिटो सचिव फेरिँदा काम प्रभावित भएको भन्दै आयोगका पदाधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् ।

गत बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै आयोगमा एक महिनाअघि मात्रै सचिवको जिम्मेवारीमा गएका सहसचिव विश्वप्रकाश अर्याललाई सरुवा गरेका छन् । अर्यालयको अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तरगत सरुवा भएको हो ।

आयोगमा बिरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहसचिव प्रदिपकुमार निरौलालाई सचिवको जिम्मेवारी दिइएको छ । उनी पनि अबको १४ दिनपछि अर्थात मंसिर २८ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउदैँछन् । मंसिर २९ गते अर्थात अबको १५ दिन पछि फेरी आयोगमा सचिवको पद रिक्त हुनेछ ।

तत्कालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव पठाएमा अयोगमा १५ दिन पछि नयाँ सहसचिवले सचिवको जिम्मेवारी सम्हालेछन् भने ढिलाई गरेमा फेरी केहि दिन आयोगलाई सचिव विहिन भएर काम गर्नुपर्ने अवस्था आउनेछ ।

आयोगबाट सरुवा भएका सहसचिव अर्यालको सोमबार नै बिदाइ भए पनि अहिलेसम्म आयोगमा सरुवा भएर आएका सचिव हाजिर नभएका आयोगका सदस्य सुन्दर पुर्कुटीले नेपाल प्रेसलाई जानकारी दिए ।

हाजिरै नगरी सरुवा

गत भदौ २९ गते तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय दलित आयोगमा सचिवको जिम्मेवारीमा सहसचिव मदन भुजेलको सरुवा गरेका थिए ।

उनी त्यसअघि वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । तर, भुजेलले दलित आयोगमा सरुवा भएकोमा चित्त नबुझाएपछि हाजिर नै नभएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा मिलाएका थिए । आयोगमा अहिले उनी वित्तीय व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

त्यसपछि आयोग केही समय सचिवविहीन भयो । त्यो बीचमा उपसचिव मनिता श्रेष्ठलाई कार्यवाहक सचिव बनाइयो ।

दसैंपछि भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भन्सार कार्यालय वीरगञ्जका प्रमुखको जिम्मेवारीमा रहेका विश्वप्रकाश अर्याललाई आयोगमा सचिवको जिम्मेवारी दिएर पठायो । आयोगका एक सदस्यका अनुसार सहसचिव अर्याललाई भन्सार कार्यालयबाट सरुवा भएको चित्त बुझेको थिएन ।

कर्मचारी थन्काउने ठाउँ मात्र भयोः आयोगका अध्यक्ष विश्वकर्मा

अहिले आयोगको सचिवको जिम्मेवारीमा रहेका अर्यालको सरुवा भएको पाँच दिन भयो । तर आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई सचिव सरुवा भएको जानकारी छैन । उनले भने, ‘म केही दिनका लागि बाहिर निस्किएको छु । सचिवलाई केही कामको जिम्मेवारी दिएको थिएँ । केही कार्यविधि र निर्देशिका बनाउन निर्देशन दिएको थिएँ । सरुवा भएको कुरा मलाई थाहा नै छैन ।’

विश्वकर्माका अनुसार आयोगका अधिकांश सचिवलाई थन्काउनका लागि मात्रै सरकारले पठाउने गरेको छ । उनले भने, ‘आयोगमा साधन स्रोतको कमी भएका कारण पनि अधिकांश सचिव बस्न मान्ने गरेका छैनन् । कतिपय सहसचिवलाई कारवाही गर्ने ठाउँका रुपमा आयोगमा सचिवको जिम्मेवारी दिने गरिएको छ । अधिकांश सहसचिव आउन नै चाहँदैननन् । आएको व्यक्ति पनि मन लगाएर काम गर्दैनन् । गरिहाले पनि सरुवाका लागि पहल गरिहेको हुन्छ ।’

मुस्मिल आयोगमा सचिव हाजिर भएको १० दिनमा सरुवा

मुस्लिम आयोगमा केही सयमअघि सरुवा भएर आएका सचिव हाजिर भएको १० दिनमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री स्तरीय निर्णयबाट एक साताअघि मात्रै हाजिर भएका सहसचिव होमप्रसाद लुइँटेलको संस्कृति, पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयमा सरुवा भएको छ । आयोगबाट लुइँटेलको सरुवा भएपछि उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्तमा रहेका सहसचिव रेखा दास आएकी छन् ।

असोज २० गते मात्रै आयोगको सचिवको जिम्मेवारीमा रहेका सहसचिव सुनिता नेपालको गृह मन्त्रालयमा सरुवा भएपछि लुइँटेलको आयोगमा सरुवा भएको थियो । आयोगमा सरुवा हुनुअघि लुइँटेल लमजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए ।

आयोगका एक सदस्यका अनुसार लुइँटेललाई आयोगमा आउन खासै रहर थिएन ।

आयोगमा सरुवा भएका सहसचिव लुइँटेल नआएपछि आयोगका अध्यक्ष समिममियाँ अन्सारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गएर सचिव पठाइदिन आग्रह गरेका थिए । त्यसपछि मात्र लुँइटेल नचाहँदा नचाहादैँ आयोगमा हाजिर भएका थिए ।

अन्सारीले अन्य आयोगको तुलनामा मुस्लिम आयोगमा सचिव हेरफेर धेरै नभएको बताए । उनका अनुसार आयोगमा उनले जिम्मेवारी सम्हालेको अहिलेसम्मको अवधिमा दुई जना सहसचिवले सचिवको जिम्मेवारी सम्हालको र लामो समय बसेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अन्य आयोगमा जस्तो मुस्लिम आयोगमा सचिव फेरिने गरेको छैन । पहिलोपटक यस्तो भएको हो । म आएपछि शम्भु खड्का र सुनिता नेपालले एक–एक वर्षभन्दा बढी बसेर काम गर्नुभयो । मैले सुनेअनुसार अहिलेको सहसचिवलाई आउन मन थिएन । तर पनि मन्त्रालयले सरुवा गर्यो । त्यसपछि उहाँ आफैं बस्न नचाहेर सरुवा मिलाउनुभएको हो । नत्र धेरै सरुवा भएको छैन ।’

महिला र जनजाति आयोगमा पनि सचिव फेरिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय महिला आयोग, मुस्लिम आयोग र आदिवासी तथा जनजाति आयोगमा पनि सचिव हेरफेर गरेको छ । महिला आयोग र जनजाति आयोगमा लामो समयपछि सचिव सरुवा गरे पनि मुस्लिम आयोगमा भने दुई महिनाकै अवधिमा अवधिमा सचिव हेरफेर गरेको छ ।

महिला आयोगमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्तमा रहेका सहसचिव देवराज जोशीलाई पठाएको छ भने आयोगमा कार्यरत सहसचिव मनोज आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत सरुवा गरेको छ ।

आदिवासी तथा जनजाति आयोगका सचिव राजेन्द्रप्रसाद घिमिरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा गरेको छ । उनी करिव दुई वर्षदेखि आयोगको सचिव थिए । आयोगको सचिवको जिम्मेवारीमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका भोला दाहाललाई दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर