अवैध मोबाइल आयात रोक्न अर्थमन्त्री शर्माको निर्देशन – Nepal Press

अवैध मोबाइल आयात रोक्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गरेर तत्काल अवैध मोबाइल फोन रोक्न निर्देशन दिएका छन् ।

नेपाल मोबाइल वितरण संघको दोस्रो राष्ट्रिय महाधिवेशनको कार्यक्रमा बोल्दै अर्थमन्त्री शर्माले नेपाल सरकारले अवैध बाटो भएर आएको मोबाइल फोन तत्कालै रोक्ने बताए ।

अर्थमन्त्रीले भने, ‘विदेशबाट अवैध रुपमा आयात हुने मोवाइल फोन रोक्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छु । मैले अबैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागू हुने एमडिएमएसबारे हिजो मात्रै थाहा पाएँ । मैले हिजै तत्काल लागु गर्न निर्देशन दिइसकेको छु । तत्काल नै लागू हुन्छ । २ दिन मोबाइल फोन अफ गर्ने हो भने कतिलाई डिप्रेसनमा हुन्छ । आज राजनीति समेत मोबाइलबाट हुने गरेको छ । नेपालमा नै मोबाइल एसेम्बल गर्ने सरकराले के के गर्नुपर्छ हामी सहयोग गर्न तयार छौं । व्यवसायीले नेपालमा नै मोबाइल एसेम्बल गर्ने हो भने सरकारले सहयोग गर्छ ।’

विभिन्न ठाउँमा जादा २ वटा गेम बन्द गरिदिनु परो भनेर समेत सर्वसाधारणले आग्रह गर्ने गरेको अर्थमन्त्री शर्माले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोबाइल फोनको अवैध आयात रोक्न सके अर्थतन्त्रमा सहयोग पुग्ने बताए ।

उनले अहिले पनि ८० प्रतिशत रोजगारी लगायत अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रुपमा रहेको बताउदै यसलाई एक चरण सरकारले नै औपचारिक बनाउन प्रस्ताव गरे ।

सो कार्यक्रममा बौल्दै मोबाइल आयात कर्ता दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागू गर्नु अनिवार्य शर्त भएको बताए ।

उनले भने, ‘चालू आर्थिक वर्षको बजेट दस्तावेजमै समेटिएको विषय भएकाले एमडिएमएस लागू हुनेमा हामी ढुक्क थियौं । तर त्यसो हुन सकेन । अब बल्ल अर्थमन्त्री तात्नुभएको छ । लागु हुन्छ भन्ने विश्वास लागेको छ । मोबाइल बजार व्यस्थित गर्न यो अनिवार्य शर्त हो ।’

उनले बजारको अबैध कारोबारको सुरुवात क्यान्सर भाइरसजस्तै भएको बताउँदै समयमै काटेर नफाले क्यान्सर नै हुने खतरा बढेको बताए ।
व्यवसायी मल्होत्राले आफूले मोबाइल फोनको व्यवसाय सुरु गरेको २६ वर्ष वर्ष भएको प्रसङ्ग कोट्याउँदै भने, ‘मेरो त पहिचान नै मोबाइल व्यवसायी भइसकेको छ । मेरो पहिचान नै मोबाइल व्यवसाय हो ।’

कार्यक्रमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले मोबाइल फोन बिलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए ।

नेपाल बैंकर्श एशोसिएसनका पूर्व अध्यक्ष समेत रहेका शाहले भने, ‘मोबाइल फोन बिलासिता होइन । यति लामो लकडाउनमा सूचना र सञ्चारमा पनि मोबाइल फोनको ठूलो योगदान छ । टाढा टाढा रहेका आफन्तजनसँग भेटघाट भएको छ । आगामी दिनहरुमा मोबाइल फोनको माग अझैं बढ्नेछ । पूँजीका लागि नविल बैंक तयार छ ।’

कार्यक्रममा सशस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गजुरेलले पनि सीमा क्षेत्रमा हुने अबैध निकासी पैठारीलाई रोक्न संगठन तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागू गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै उनले भने ‘मोबाइल फोन सेवाको व्यवस्थापनमा काम गरिरहेका छौं । एमडिएमएस लागू गर्ने अन्तिम तयारी भइरहेको छ । कोरोना भाइरसका काराण सिस्टम लागू गर्न ढिलाइ भयो । यही महिनाको अन्तिममा यसलाई हामीले पूर्ण रुपमा लागू गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर