ए डिभिजन लिगः थ्री स्टारलाई हराउँदै सातदोबाटो तालिकाको शीर्ष स्थानमा – Nepal Press

ए डिभिजन लिगः थ्री स्टारलाई हराउँदै सातदोबाटो तालिकाको शीर्ष स्थानमा

काठमाडौं । नवप्रवेसी सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा थ्री-स्टार क्लबविरुद्ध १-० गोलको नजितामा ऐतिहासिक जित हासिल गरेको छ । पहिलो पटक शहीद स्मारक लिग खेलिरहेको सातदोबाटोले शीर्ष डिभिजन लिगमा पहिलो जित निकालेको हो ।

शुक्रबारदेखि सुरु भएको लिगको दोस्रो चरणअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङको एक मात्र गोल निर्णायक बन्यो ।

सुदिपले २९औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । पेनाल्टी एरिया भित्रबाट अजयी मार्टिन्सले दिएको पासलाई पेनाल्टी बक्सको ठीक अगाडिबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए । उनको एक मात्र गोल सातदोबाटोलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो ।

बलियो आँकिएको थ्री-स्टारलाई दबाबमा राखेको सातदोबाटोका शुशिल राइले ३५औं मिनेटमा हेडरमार्फत दिएको उत्कृष्ट पास निरज चौधरीले सदुपयोग गर्न सकेनन् । उनले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार टार्गेटमा परेन ।

थ्री–स्टारका रितिक कुमार खड्काले ३७औं मिनेटमा करिब २५ यार्ड टाढाबाट गरेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरेका थिए ।

थ्री–स्टारमाथि दबाब बनाएको सातदोबाटोका निरज चौधरीले ६३औं मिनेटमा गरेको प्रहार गोलकिपर प्रिसोसो बचाएका थिए । त्यसको ९ मिनेटपछि मार्टिन्सले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा पुनः थ्री–स्टारका गोलकिपर प्रिसो बाधक बने ।

दोस्रो हाफमा सातदोबाटोको दबाबमा परेको थ्री स्टारले बिरलै आक्रमणका मौका बनाएको थियो । निर्धारित ९० मिनेटको खेल बाँकी रहँदा निशान खड्काले कर्नरमार्फत दिएको क्रसमा कप्तान विक्रम लामाको हेडर क्रसबार नजिकबाट बाहिरिएको थियो ।

जितसँगै पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो युथ क्लबले दुई खेलबाट चार अंक जोडेको छ । चार अंक जोडेसँगै सातदोबाटो लिगको शीर्ष स्थानसमेत उक्लिएको छ । गत सिजन बी डिभिजन लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनमा आइपुगेको सातदोबाटोले पहिलो खेलमा गत साता फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

पराजित थ्री-स्टारको भने दुई खेलबाट ३ अंक छ । गत साता भएको पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले पराजित गर्दै शानदार सुरुआत गरेको थियो ।

शुक्रबार नै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन् । फ्रेन्ड्सले पहिलो खेलमा सादतोबाटोसँग गोलरहित बराबरी खेलेको थियो भने पनि हिमालयन शेर्पा क्लबसँग संकटा १–१ को बराबरीमा रोकिएको थियो ।

खेलपछि थ्री–स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बल पोसेसन होल्ड गर्न नसकेकाले हार्नु परेको बताए ।

‘आज गाह्रो नै भयो । मुख्य त हेमन्त (थापा मगर) लाई डाइरिया भएर सुरुमा खेल्न सकेन । बल होल्ड गर्न सकेनौं । बल होल्ड गर्ने कोही होइन,’ उनले भने, ‘स्ट्राइकिङमा समस्या अस्ति जस्तै भयो । मिसपास पनि धेरै भयो ।’

गतसाता च्यासलविरुद्ध दुई गोलका लागि असिस्ट दिएका हेमन्तको कमी आजको खेलमा खड्एिको उनले बताए ।

आजको खेलमा अट्याकिङ थर्डमा खेल्नै समस्या भएको र विपक्षी टोलीको पोष्टमा पनि अट्याक गर्न नसकेको प्रशिक्षक श्रेष्ठले बताए ।

‘सातदोबाटो युवा टोली हो, रामो फुटबल खेल्यो,’ सातदोबाटोको प्रदर्शन बारे बोल्दै उनले भने, ‘हाम्रो भन्दा राम्रो खेलेर नै आज सातदोबाटोले जित्यो ।’

सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले भने प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

‘नयाँ टोलीले थ्री स्टार जस्तो टोलीलाई पराजित गर्यौं । आज निकै राम्रो खेल्यौं । जितेर मात्रै राम्रो खेल्यौं भनेको होइन,’ उनले भने, ‘उनीहरूले एक लामो सट हान्दा हामीले ६ यार्ड बक्सबाट ६÷७ वटा प्रहार गर्यौं । आजको खेलबाट सन्तुष्ट छु ।’

थ्री स्टारको पूर्व प्रशिक्षक रहेका केसीले पूर्व क्लब भएर सजिलो÷अप्ठेरोबारे बोल्दै भने, ‘१३ वटा विपक्षी टोली देखेको छु, प्रत्येक टोलीसँग हामीले जित्नुपर्छ, खेलाडी र कोचले पनि मेहेनत गर्नुपर्छ । पहिलेको क्लब हो वा होइनले खासै फरक पार्दैन ।’

पहिलो चरणको खेलमा फ्रेन्ड्ससँग बराबरी खेल्दै २ अंक गुमाउनु परेको बताउँदै आजको खेलमा आफ्नो पूरा ध्यान तीन अंक हासिल गर्नेमा रहेको प्रशिक्षक केसीले बताए ।

सुरुआती दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा पुगेकोबारे प्रशिक्षक केसीले अहिले नै टेबल हेर्ने बेला भइनसकेको बताए ।

‘यो म्याराथन हो १/२ किलोमिटरमा हिसाब गर्दिन, ४० किलोमिटर पार गरेपछि मात्रै टेबल तिर हेर्ने बेला हुन्छ जस्तो लाग्छ मलाई,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर