धर्मगुरु निश्चलानन्द भन्छन् नेपाल सुरक्षित हुन हिन्दूराष्ट्र आवश्यक – Nepal Press

धर्मगुरु निश्चलानन्द भन्छन् नेपाल सुरक्षित हुन हिन्दूराष्ट्र आवश्यक

रुपन्देही । रुपन्देहीको भैरहवामा आयोजित हिन्दूवादीको भेलामा धर्मगुरु निश्चलानन्दनले नेपाल सुरक्षित हुन सनातन हिन्दूराष्ट्र आवश्यक रहेको बताएका छन् । धर्मनिरपेक्ष बिना अर्थको शब्द भएको तर्क गरेर उनले भेलामा सहभागीलाई हिन्दूराष्ट्रका लागि दबाब दिन आवश्यक रहेको बताए ।

हिन्दुहरुका सर्वोच्च धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल यसअघि पनि हिन्दुराष्ट्र रहेको, अहिले पनि हिन्दुराष्ट्र रहेको र भविष्यमा समेत हिन्दुराष्ट्र नै रहने दावी गरेका छन् । उनले नेपालबाट सुरु गरि यो अभियानलाई एशिया महाद्विपसम्म नै पुर्‍याउने बताए ।

हिन्दुहरुका सर्वोच्च धर्मगुरु जगन्नाथपुरीस्थित गोबद्र्धन मठका पिठाधीश निश्चलानन्द ३ दिने कार्यक्रम अन्तर्गत भैरहवामा आएका हुन् । विश्व ओमकार एकता महाअभियानको आयोजनामा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सहित धर्मगुरुको भैरहवा भ्रमण गराइको छ । भैरहवामा आयोजित आध्यात्मिक जागरण बिराट एकता धर्म सभामा प्रवचन दिदै शंकराचार्यले हिन्दुराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुनसक्ने जिकिर गरे । चीनको आँखा नेपालमा रहेको चीनबाट नेपाल असुरक्षित भए यसको असर भारतमा समेत पर्ने उनको भनाइ छ ।

उनले हिन्दुराष्ट्रबारे यहाँका कम्युनिस्टहरु पनि राजी भए पनि बाहिरबाट खुलेर लाग्न नसकेको बताए । कम्युनिस्टहरु बाहिरबाट नास्तिक रहेको देखाए पनि भित्रबाट उनिहरु धर्मप्रति आस्तिक नै रहेको शंकराचार्यले बताए । कुनै व्यक्ति वा बस्तु एक क्षणको लागि पनि धर्म निरपेक्ष हुन नसक्ने उनको भनाइ छ । यसर्थ धर्म निरपेक्ष भनेको एक शब्द मात्र भएको र यसको कुनै अर्थ छैन । उनले सबै धर्महरुको मूल धर्म सनातन धर्म नै रहेको हुदा यसको शान्तिपूर्वक प्रचारको लागि सबै लाग्न आग्रह गरे ।

नेपालका धर्मगुरु डाक्टर चिन्तामणि योगीले अहिले सबै नेपालीहरुको मूख्य उद्देश्य नेपाललाई हिन्दुराष्ट्र बनाउनु रहेको बताए । उनले यसको लागि विश्व ओमकार महाअभियान नै गठन गरी लागेको उनले बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गराउने अभियानमा हिन्दु धर्मका सर्वोच्च गुरु शंकराचार्यको पनि चासो रहेको र सोही अनुसार उनको नेपाल आगमन भएको उनले जानकारी दिए ।

आदि शंकराचार्यले सनातन धर्मको रक्षा र प्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए । ४ वटा पिठमा ४ जना नै शंकराचार्य छन् । भैरहवा आउने शंकराचार्य गोर्वधन धामका वर्तमान पिठाधिश हुन् ।

भारतका चर्चित र सबैभन्दा उच्च तहका हिन्दू धर्मगुरुसहित नेपाली धर्म गुरुले भैरहवामा आयोजित धर्मसभामार्फत् नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियान थालनीको सन्देश दिन खोजेका छन् । धर्मसभामा जगतगुरु शंकराचार्यले विशेष धर्मवचन दिएका छन् ।

नेपालका वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत सनातन ओमकार परिवारका एक सय जना भन्दा धेरै विभिन्न धर्मगूरु भैरहवा आएका छन् । धर्मसभाबाट कुनै जाति, सम्प्रदाय र राजनीति अभिप्रेरित नभएको आयोजकको दावी छ । विशुद्ध नेपाललाई हिन्दुराष्ट्र बनाउन सभा केन्द्रिय भएको धर्मगुरुहरुले जनाए । सनातन हिन्दूराष्ट्र पुनस्र्थापनासँगै हिन्दू धर्म संस्कृतिभित्र रहेका ओमकार परिवारबीच एकताको अभियान संचालन गर्ने मुख्य उद्देश्य धर्म सभाको रहेको आचार्य किशोर गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर