एक घुट्को पानीले दिएको खुसी – Nepal Press
ब्लग

एक घुट्को पानीले दिएको खुसी

‘कहाँ हुनुहुन्छ ?’ बिहानै एक मित्रले टेलिफोनमा सोध्नुभयो ।

‘अफिस जाँदै छु’ मोटरसाइकल हाँकिरहेकाले संक्षिप्त जवाफ दिए र फोन राखे ।

केही समयपछि फेरि फोन आयो । त्यतिबेला अफिस पुगिसकेको थिएँ ।

‘भेटौँ न’ मित्रको प्रस्ताव ।

‘हुन्छ । तर, कता ?’

‘यतै आउनु होस् न । एक दुईजना साथी छौँ । अनि सल्लाह गरौँला ।’

म पुगें । त्यहाँ केही नेता, कार्यकर्ता र शुभचिन्तकहरू पनि थिए ।

‘कैलालीमा बाढी प्रभावित क्षेत्रहरूमा तत्काल राहत र उद्धारमा खटिनु पर्ने भयो’ त्यहाँ पुगेलगत्तै कुरा चल्यो ।

‘यो काम त तत्काल नै गर्नु पर्छ । तर, चन्दा उठाउनु हुँदैन है’ हल भित्र सकारात्मक सन्देश पनि सुनियो ।

यसअघि कुनै पनि समाजसेवाको नाममा गरिने काममा कुन–कुन व्यक्तिसँग कति रकम माग्ने ? भन्ने कुरा मात्रै सुन्दै आइरहेको मलाई त्यहाँ रहेका युवाहरूको सकारात्मक सोचले मन जित्यो ।

‘चन्दा संकलन नगरी ठूलो मात्रामा राहत कसरी दिने ?’ कसैले प्रश्न गर्यो ।

‘हामी आफैं उठाउँ न ! ल मेरो तर्फबाट १० हजार भयो’ सुरुमै एक युवाले घोषणा गरे ।

त्यसपछि केहीबेर सन्नाटा छायो ।

‘मेरो तर्फबाट ५० हजार’ अर्का युवाले भने ।

त्यसपछि त एकपछि अर्को गर्दै गक्षअनुसार सहयोग घोषणा हुन थाल्यो ।

‘मैले चार हजार दिन्छु’ मेरो छेउमै रहेकी एक किशोरीले भनिन् । उनले ब्याग खोलेर चारवटा हात्ती चित्र भएका नोट झिकिन् र दिइन् ।

पैसामा अबीर रंगिरहेको थियो । सायद दसैंमा दक्षिणास्वरुप आएको पैसा हो । पछि थाहा भयो, सौराहा जाने खर्च काटेर उनले बाढी पीडितको राहतका लागि रकम दिएकी रहिछिन् ।

क्षणभरमै तत्कालको लागि पर्याप्त रकम उठ्यो । त्यहीं रकमले पानी, चाउचाउ, चिउरा, बिस्कुट र भुजासहितको एक ट्रक सामान बोकेर एउटा ट्रक बुधवार कैलालीको क्षतिग्रस्तस्थल टिकापुर हुइँकियो ।

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुको नेतृत्वमा गएको राहत सामग्री वास्तविक पीडितसम्म पुर्याउनु चुनौतीपूर्ण थियो । यसअघि पनि कसैले पटक–पटक राहत बुझेको त कसैले पाउँदै नपाएको समाचार कयौँ पल्ट लेखेको थिएँ । त्यस्तै समाचार लेख्न नपरोस् भन्ने मनमा थियो ।

यता आफ्नै पैसाले खरिद गरेका सामग्री छिटो वास्तविक पीडितहरुलाई बुझाउन युवाहरू आतुर थिए ।

बाढीग्रस्त क्षेत्र कैलालीको धनगढीबाट करिब एक सय किलोमिटर टाढा थियो । तर, ठाउँठाउँका सडकमा पनि बाढीले क्षति पुर्याएपछि बुधबार राति मात्रै पीडित भएको स्थानमा पुगियो ।

‘राति वितरण गर्दा समस्या हुन्छ होला । सबैले नपाउन पनि सक्छन्’ अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले भने ‘भोलि बिहानै वितरण गरौँ ।’

युवा संघ कैलालीका अध्यक्ष गणेश महराले पनि त्यसै भने । उनी पनि वास्तविक पीडितले राहत पाउनु पर्छ भन्नेमा दृढ थिए । बाढी प्रभावित क्षेत्रको माउन्टेन होटलमा सबै सामान झारियो ।

हुलाकी सडक कर्णालीको भंगालो फुटेर आएको पानीले बगाइसकेको थियो । हामी वारि थियौँ । पारि पीडितहरू थिए । तत्काल त्यहाँ जान सम्भव थिएन ।

‘यो त अजिङ्गरको वासस्थान हो ।’ एक स्थानीयले सुनाए । मेरो शरीरमा काँडा उम्रियो ।

‘अजिङ्गर बस्ने स्थानमा अरू पनि विषालु सर्प हुन सक्छन् । जो बाढीले बगाएर जहाँ पनि पुर्याएको हुन सक्छ’ उनले थपे । म सचेत बनें ।

स्थानीयले परिबाट राति अबेरसम्म चम्किला लाइट बालिहरेका थिए । सडकमा कर्णाली बगिरहेको थियो । सडकमै नदीको भेल बगिरहेका बेला बस्तीको अवस्था कस्तो होला ? अनुमान मात्रै गर्न सकिन्थ्यो ।

‘सायद उनीहरूले हामीलाई उद्धार गर्नुहोस् भन्ने इसारा दिएका हुन सक्छन्’ मैले अरूलाई सुनाएँ ।

‘त्यहाँ त अहिले कोही पनि जान सक्दैनन् सर । यो त अजिङ्गरको बासस्थान हो’ ती व्यक्तिले फेरि भने । मनमा चिसो पस्यो ।

मैले इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटासँग सम्पर्क गरे ।

डिएसपीले उनीहरू सुरक्षित छन् । त्यहाँ प्रहरी पुगिसकेका छन् भनेपछि हामीलाई केही राहत भयो ।

बिहीबार बिहान त्यही भेट्ने भन्दै बुधबार केही युवा धनगढी फर्किए । हामी त्यही बस्यौँ ।

बिहीबार बिहानै पत्रकार महासंघ प्रदेशका अध्यक्ष योगेश रावल र अर्का पत्रकार एकेन्द्र तिमिल्सेनासँग भेट भयो ।

उहाँहरूले पनि बाढी पीडितहरूको अवस्था दर्दनाक भएको बताउनु भयो ।

त्यो बेलासम्म पनि राति चम्किला बत्तीको इसारा आँखै अघि घुमिरहेको थियो । फेरि डिएसपीको भनाइले मन शान्त हुन्थ्यो ।

बिहीबार बिहान ९ बजे त्यहीं स्थानमा सबै भेला भयौँ ।

धन्न, बिहानसम्म हुलाकी सडक बगाएको ठाउँमा कर्णालीको बेग कम भएको थियो । तर रोकिएको थिएन ।

पर्याप्त युवा तथा विद्यार्थी भएको हुँदा केहीबेरमै एक ट्रक राहत पारिको बस्ती पुग्यो । हामी केही सामानसँगै सडकमा उर्लिरहेको कर्णाली तर्न नसकेका महिला तथा बालबालिकाहरूलाई बोकेर वारपार गराइरहेका थियौँ ।

बेगमै कर्णाली तर्दा राति अजिङ्गर को बासस्थान हो भन्ने कुराले मनमा चिसो पारिरहेको थियो । त्यहीं बेला खुट्टामा ठोकिन आउने साना, मसिना ढुङ्गा र पात पतिङ्गरहरूले जिउँ नै सिरिङ्ग हुन्थ्यो ।

एक ट्रक राहत पारि पुग्यो । त्यो बेलासम्म त्यहाँ दर्जनौँ परिवारहरू राहतको आसमा पुगिसकेका थिए । उनीहरूले पानीसमेत पिउन नपाएको पीडा पोख्दै थिए ।

‘मेरो सानो बच्चा छ । मैले र यसले केही खाएका छैनौँ’ ओठ सुकाएरै राहतको आसमा बसेकी महिलाको बोलीले मन कटक्क खायो । एउटा काखे बालक बोक्दै र अर्कोलाई हातमा डोहोर्याउँदै आएकी ती महिला भन्दै थिइन् ‘धन्न बच्चा त बचाएँ । समान केही रहेन ।’

उनी बोल्दाबोल्दै रोकिइन् । अनि ‘सुक्क… सुकक..’ गर्न थालिन् ।

‘भयो नरुनुहोस्’ युवाहरूले सान्त्वना दिँदै भने । सबैभन्दा पहिले उनले राहत पाइन् । पलभरमै उनको मुहारमा बदलाव आयो ।

‘भोको पेटले चारो पायो । हजुरहरूको धन्य होस्’ उनी बोलिन् र लागिन् आफ्नै बाटो ।

त्यसपछि फरक–फरक स्थानमा फसेका र विस्थापित भएकाहरूलाई राहत पुग्न थाल्यो । भोको पेटमा तत्कालका लागि चाउचाउ, भुजा, बिस्कुट र पानी परेपछि केही राहत पक्कै भयो होला । अनुमान गरिरहेका थियौँ ।

स्वासै नबिराइ घटघट आवाज आउने गरी पुरै बोतलको पानी सक्दा र त्यसपछि मलिन मुहारमा मन्द मन्द मुस्कान देखिँदा युद्ध जितेर गन्तव्यमा पुगेकोभन्दा बढी सन्तुष्टि, सुख र आनन्द आएको हुँदो हो ।

महिना दिन पनि नपुगेका शिशुलाई काखमा च्यापेर अनि दुई दिनसम्म भोकै रहेका आमा–बुवाका मलिन मुहारले मन पोल्थ्यो ।

पानीको सतह केही कम भएपछि बस्तीमा देखेको पीडाले हामीलाई पनि गालेको थियो । दुई दिनसम्म खेपेको डर, त्रास र पीडा पीडितको मुहारमा झल्किरहेको थियो ।

‘मेरो छोराले हिजोदेखि पानी खान पाएको छैन’ स्थानीय गीता चौधरी राहत बुझ्दै गर्दा भन्दै थिइन् ‘हिजो पनि यहाँ राहत लिएर आएका थिए । तर हामीलाई पानी पनि दिएनन् ।’

उनी जस्ता कयौँ थिए । सयौँ घरबारविहीन भएका छन् । हजारौँले लगाएको बाली नष्ट भएको छ । कोही बासी खाएर बसेका छन् । कोही केही नखाएरै रात काटिरहेका छन् । कसैको घर बगाएको छ । कसैको भत्किएको छ ।

घरबारविहीन भएर पशु चौपायासहित सडकमा आश्रित भएकाहरू अधिकांश भोकै छन् । उनीहरूले चाउचाउ, चिउरा, भुजा र पानी पाउँदा पनि ठूलै कुरा भएको जसरी खुसी व्यक्त गरिरहेका थिए ।

केही बेरलाई भए पनि भोक मार्न पाउँदाको आनन्द उनीहरूको बोलीमा नभइ मुहारमा झल्किरहेको थियो ।
करिब २ सय परिवारलाई दिनभरि राहत वितरण गर्दा पनि थकानको कुनै महसुस भएन । कारण उनीहरूको पीडाको अघि हाम्रो थकाइको केही अर्थ थिएन ।

त्यो राहतले एउटा बस्तीका नागरिकलाई तत्कालको भोक मेटाएको हो । उनीहरूको दैनिकी त्यसपछि पनि उस्तै छ ।

अहिले पनि घर फर्किन सकेका छैनन् । एकातर्फ भोकले सताइरहेको छ अर्कोतर्फ विभिन्न रोगको संक्रमणको डर छ ।

कैलालीको टिकापुर क्षेत्र मात्रै होइन । भजनी जानकी, र कैलारी गाउँपालिकामा पनि बाढीले वितण्डा मच्चाएको छ ।

धान काटेर भित्र्याउन नपाउँदै बाढीले सखाप पारेपछि यसवर्ष कसरी गर्जो टार्ने भन्ने चिन्ताले पनि किसान पिल्सिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । दुई मन्त्री र पार्टीका नेतासहित लाखौँको हेलिकप्टर सवारमा खर्च गर्ने सरकारले त्यहाँका पीडितहरूको गाँस, बास र कपासका लागि के गर्छ ? त्यो हेर्न बाँकी नै छ ।

यहाँ सरकारले केही गर्ला भनेर चुप बस्नुभन्दा आफैं अघि सरेर केही राम्रो कामको सुरुवात गर्नु पर्छ भन्ने सोच भएका युवाप्रति यो ब्लग समर्पित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *