नलेखिने प्रेम कथा-३ – Nepal Press
कथा

नलेखिने प्रेम कथा-३

गाडीबाट ओर्लिएपछि समा निकै बेरसम्म त्यही ठाउँमा सुकसुकाउँदै बसिरही । उसकी साथी शिला केहि महिना अगाडि यही बसबाट नै झन्डै अपहरित भएकी थिई र रमणले गर्दा नै ऊ अपहरणबाट जोगिएकी थिई तर आज त यस्तो अप्रिय घटनाको कारक रमण आफै थियो । ‘रमण सही हो कि गलत ?’ छुट्याउन सक्ने कसी थिएन ऊसँग त्यस बखत ।

रमणको त्यो व्यवहार प्रेमिल थियो वा उत्ताउलोपन त्यो खुट्याउन पनि ऊसँगको विवेक पर्याप्त लागेन उसलाई त्यस बखत ।अनायास नै उसका खुट्टाले हिंडन शुरु गरे त्यहाँबाट र बिस्तारै ती आफ्नै घर तिर लम्किए निरुद्देश्य जस्तो गरी। उसको दिमाग त निलम्बित नै थियो तर मनले अप्रत्यक्ष रुपमा उसको शरीरलाई हिँडेरै घर जाने निर्देशन दिइसकेको थियो सायद ।जिजीविषाले भनौँ वा जीव धर्मले मानिसलाई बिकट मोडमा स्वचालितरुपमै कर्म गर्न सिकाउने रहेछ ।

घरमा पुग्दा साँझ पछिको अँध्यारो पोतिइसकेको थियो सबै चोटा र कोठामा । त्यसमाथि भर्खरै घटेको घटनाले मनमा अझ गाढा चुक नै घोप्टिएको थियो सायद ।

रातमा पनि दशौं पटक रमणलाई फोन गर्ने बिचार नआएको होइन तर आफ्नै कारणले गर्दा रमणलाई त्यस्तो भएको भन्ने लागेर फोन गर्ने आँट गर्न सकिन । रातमा उसमा यति धेरै बिचारहरू मडारिन लागे कि ती बाँध फुटे झैँ थिए, जसलाई उसले सम्हाल्न सकिरहेकी थिइन ।

बिचारमाथि बिचार यसरी खण्डित भैरहेका थिए कि यो के भएको हो उसले भेउ पाउन सकिरहेकी थिइन । बिचारमा स्थिरता ल्याउन ध्यानको आवश्यकता पर्दछ भनेर योगीहरूले आफ्ना प्रवचनमा भन्ने गरेको उसले त्यो बेलामा राम्ररी बुझेकी थिइन, तर आज विचारहरूमा नियन्त्रण पाउन ध्यानको कति जरुरत पर्ने रहेछ भन्ने कुरा छर्लङ्ग भएझैँ लाग्यो ।

कुनै पनि ध्यान विधि उसले सिकेकी थिइन तर कतै सायद कुनै योगीले नै भनेको हुनुपर्छ, यदि बिचारमा नियन्त्रण पाउनु भएन भने त्यही बिचारलाई मग्न भएर निरीक्षण गर्नुहोस्, त्यसैमा गहिरिनुहोस्, पढ्नुहोस्, तपाईँले केही हल्का पक्कै महसुस गर्नुहुनेछ, एकाग्रता बढ्ने छ ।

उसले पनि आफ्ना बिचारलाई नै निरीक्षण गरिहेर्ने बिचार गरी । उसलाई अप्ठ्यारो पारिराखेको प्रथम र अहम बिचार यतिखेर उही थियो, ‘रमणको र उसको सम्बन्धको’ बारेको बिचार । खासमा समयको यो बिन्दुमा आइपुग्दा उसलाई रमणसँगको आफ्नो सम्बन्धको परिभाषा खोज्न धेरै कठिन भइराखेको थियो । रमणले उसलाई प्रेम गर्छ भन्ने कुरा उसलाई प्रष्ट भैसकेको थियो तर ऊ नि ?

उसलाई रमण निकै अब्बल खालको मानिस हो भन्ने पक्कै लाग्थ्यो तर ऊसँगको प्रेमको बारेमा उसले कहिल्यै सोचेकी थिइन ।

साँच्चै नै ?

उसले आफैसँग एक पटक फेरी सोधी । हो नि, उसले कहिल्यै पनि रमण उसको प्रेमी हुन सक्छ भन्ने कुरा मनमा एक पटक पनि आउन दिएकी थिइन । के रमण त्यसको काबिल नभएर हो ? पक्कै होइन, तर उसले त्यसरी सोच्ने फुर्सद नै पाएकी थिइन भनौँ वा आवश्यकता नै महसुस गरेकी थिइन ।

तर माया त दिमागलाई थाहै नदिई मनमनै पनि त बस्न सक्छ नि । यस्तै सुनेकी थिई कतै । ‘कतै मेरो पनि मनमनै माया बसेको छ कि उसमाथि ?’ नियाल्ने प्रयास गरी आफैभित्र, तर यो पटक पनि असफल, निर्ख्यौलमा पुग्न । ‘कि मैले दिल र दिमागलाई छुट्याएर हेर्न जानेकै छैन ? के काम गर्छ दिमागले अनि के काम गर्छ मनले ?’ उत्तर कुन मनोविदलाई सोध्ने रुम प्रेम गर्न अक्षम त छैन कतै ? युवा मनले आफैलाई लगाउने संगिन आरोप लगाई उसले पनि आज आफैलाई ।

यो प्रेमको विचारोत्तेजक विमर्शको बिचमा पनि उसलाई आफूले उठाएको जीवनको महत्त्वपूर्ण अभियानको झल्याँस्स याद आयो । त्यो अभियानको अगाडी यो जैविक आवस्यकताले श्री जित ‘प्रेम’ भन्ने कुरा एउटा सानो कुरा मात्र हो भन्ने लाग्थ्यो । बिस्तारै उसलाई त्यो अभियानमा आएका समस्याले पो पिरोल्न लाग्यो ।

उसले पछिल्ला वर्षहरूमा वीर अस्पतालमा यति धेरै सहयोगी काम गरेकी थिई कि ती कामहरू सम्झँदा मात्र पनि कसैलाई मेडिटेसनले दिने आनन्द र ऊर्जा मिल्न सक्थ्यो । उसलाई सबैभन्दा मजा नै यस अस्पतालमा आएका त्यसता मानिसहरू जो गरिबी र अभावको जाँतोमा पिसिएर सामान्य उपचार, खानपान र बाटो खर्चको पनि जोहो मिलाउन सक्दैनन् तिनीहरूलाई सहयोग गर्दा आउँथ्यो । यसका लागि ऊ जुनसुकै आनन्द, सुखलाई तिलाञ्जली दिन सक्थी । यो काम त्याग्ने सर्तमा न ऊ कुनै करिअर शुरु गर्न सक्थी, न कुनै स्वर्गीय ठाउँ घुम्न जान सक्थी न त कुनै प्रेमीको प्रेमीका नै बनेर बस्न सक्थी ।

कति बिरामीहरू के बिमार, कुन डाक्टर केही बताउन सक्दैनथे, कोठा पत्ता लगाउन सक्दैनथे, डाक्टरले के गर्नु भनेको, कहिले आउनु भनेको, के औषधी, कसरी खानु भनेको त्यो पनि बुझ्दैनथे । कोही कोही त कमजोर भएकोले लाइनमा बसेर टिकट लिन पनि नसक्ने, डाक्टरको दफ्तरमा पुगेर उपचार गराउनु त परको कुरा । कति बिरामीका साथमा न पैसा न सहयोगी साथी । तिनीहरूको खानपान, फी, सुग्घर सफाइ । काम कति हो कति रु यति धेरै सहयोगी हात र मन कहाँ पाउने होला रु कहिले काहीँ दंग खान्थी ।

आज बिहान मात्रको कुरा हो । अस्पतालमा पुग्नसाथ गेटैनेर नीति सिस्टरले रोक्दै भनिन्, समा बहिनी न्युरो डाक्टर साहबले समालाई देख्यौ भने मलाई भेट्नु भन्नु भएको थियो । अहिले रुममै हुनुहुन्छ, जानु है । समा सिधै त्यतै लागी फेरि कुनै बिरामीलाई केही सहयोगको खाँचो परेको अनुमान लगाउन कठिन थिएन । प्रायजसो डाक्टरहरूले अन्य खाले सहयोगको लागि भन्नुहुन्थ्यो, जस्तै बिरामीलाई घर जाने गाडी चढाइदिने, अभाव भएको औषधी अन्य अस्पताल वा औषधी पसलबाट मगाइदिने, सिरियस बिरामीको रुँगालो बसिदिने, क्रिटिकल केसहरूमा प्रहरीसँग सहकार्य गराइदिने आदि ।

समालाई वीर अस्पताल वरपरका धेरै प्रहरीहरूले पनि चिन्दथे । तर बिरामीले सिधै सम्पर्क गरेको बेलामा चाहिँ पैसाकै आवश्यकताको कुरा हुन्थ्यो । सानोतिनो पैसाको लागि उसले आफैले गर्ने गरेको मासिक रु ५००० को योगदान, साथीहरू र सहयोगी मनहरूले गरेको चन्दाले काम गर्थ्यो तर ठूलो रकम चाहीँदा चाहिँ के गर्ने ऊसँग उत्तर थिएन । त्यसो त उसले आजसम्म चन्दा उठाउँदै हिँडेकी पनि थिइन, त्यसो गर्न उसलाई मन पनि थिएन । तर कसैले आफैले दियो भनेचाहिँ रसिद काटेर सहयोग कबुल गर्ने गरेकी थिई, उसैले खोलेको संस्थाको तर्फबाट ।

समा रुममा पस्नासाथ डाक्टरले अर्को मानिससँग कुरा रोकेरै समालाई बोलाएर भने ‘समा यहाँ एउटा क्रिटिकल बिरामी आउनु भएको छ, पुरानो न्युरो प्यासेन्ट हुनुहुन्छ, मैले नै हेराहेरीको । वास्तममा वहाँ जनआन्दोलन–२ को घाइते हो । राज्यले केही हेरेको जस्तो लाग्दैन । वहाँको आर्थिक अवस्था ज्यादै कमजोर भनौँ वा आर्थिक अवस्था नै छैन । बिहे गरेको पहिलो महिनामै आन्दोलनको क्रममा टाउकोमा गोली लागेको । वहाँको श्रीमतीले गाउँमा मेलोपात गरेर दुई जनालाई जीवित राख्ने बेजो गर्नु भएको छ । सन्तान भएनन् र परिवारमा अन्य सदस्य छैनन् । वहाँलाई तुरुन्त सर्जरी नगरे ठूलो दुर्घटना हुन सक्छ । सर्जरी गर्न रु ४ लाख रुपैयाँ लाग्छ । त्यसमा पनि डाक्टरको चार्ज हामी लिँदैनौँ र अस्पतालको सर्जन सामाजिक कोषबाट रु ५०००० सहयोग गर्न हामी तयार छौँ । अबको ३ दिन भित्रमा रु ३ लाख जम्मा गर्न सकिएन भने वहाँको अपरेशन हुन सक्दैनँ । अब तिमीले केही गर्न सक्यौ भने मात्र वहाँको ज्यान बचाउन सकिएला ।’

डाक्टरको यस्तो कुरा सुन्दा समालाई कसैले मुटुमा हाने झैँ पिडा भयो । यति धेरै रकम त म कसरी जम्मा गर्न सक्छु र डाक्टर साहब । मैले त स–सानो सहयोग गर्ने मात्र हो ।

तैपनि प्रयास गर । ज्यान बचाउने कुरा हो । कतैबाट केही जुटिहाल्छ कि रु डाक्टरले गम्भीर हुँदै भनेका थिए ।

रुने कि हाँस्ने रु समा विचारहरुको दास हुँदै थिई । कहिले एउटा विषयमा कहिले अर्को एजेन्डामा, विचारहरुले दिमागी घरमा ताण्डव नाच्दै थिए । समाले आफूलाई बिचारको भुमरीमा समर्पण नै गर्ने निर्णय गरी । बिचारको ताण्डवको नेतृत्व गर्ने शिव त उही रमण नै थियो ।

कहिले सपनामा लभ परेको कुरा त कहिले गुरुआमाको पगरी र गुरु दक्षिणा, कहिले साथीको समेत भाडा नलिने त कहिले गाडी बन्दै गरेर हुइँक्याउने उसकै लागि, अनि कहिलेकहीँ उसलाई देखेको सपनाको ह्याङओभर मनाउन कामबाट छुट्टी लिएर बिहानदेखि नै चियर्स ! अनि आज साँझको किस ! साथी एकतर्फी मायामा फसेको कुरा त लाटोले पनि अनुमान लगाउन सक्थ्यो, उसले ठोकुवा गरी । अब भने बाँकी कार्यभार समयले ऊ माथि नै थोपरिदिएको थियो । सम्बन्धलाई अगाडि बढाउने कि नबढाउने रु बढाउने भए कसरी बढाउने ? प्रेमी भएर वा साथी भएर वा कन्डक्टर र प्यासेन्जर मात्र भएर । विचारहरूको थलथले भाषमा अझै फस्दै गएको थाहा पाई उसले ।

रातको एक बजेको हुँदो हो उसको दिमागले एउटा जुक्ति निकाल्यो, भेट्ने अनि छलफल गर्ने । पहिला साथीहरूलाई भेट्ने, उनीहरूको सुझाव पनि सुन्ने अनि रमणसँग वान टु वान वार्ता गर्ने । त्यसो त शिला बाहेकका साथीहरूले दिने सुझाव त ऊ अहिल्यै अनुमान गर्न सक्थी । जस्तो कि त्यो खलासीको त्यत्रो आँट ! खलासीसँग प्रेम गरेर घरजम बसाउने भइस् है अब, आदि आदि । जे भनुन् आफ्ना साथीलाई नभनेर कसलाई भन्न जाने ? सुनेकी थिई, बादे बादे जायते तत्वबोध ! छलफलबाट सही समाधान निकाल्न सकिन्छ । वार्ताका एजेन्डाहरू चुनिँदै थिए, निद्रादेवीलाई इर्ष्या लागिसकेछ ।
बिहान ६ बज्न नपाउँदै शिलाको मोबाइलमा घण्टी बजिसकेको थियो ।

केभो समु डार्लिङ, कतै लभमा त परिनौ, एकाबिहानै अर्काको निद्रा बिगार्दिएर !

सटअप, आफू कस्तो प्रोब्लेममा परेको छु । तँलाई सहयोग गर्ने वकिल लिएर प्रहरी प्रभाग कालिमाटीमा आइज त, छिट्टो ।
किन र के भयो त्यस्तो ? हिजो राती तँ पार्टीबाट फर्केको होइन ?

त्यही पार्टीबाट फर्कँदाको त कुरो हो भन्दै समाले शिलालाई सबै बेलिबिस्तार लगाई ।

ओहो, रमणजीलाई त्यस्तो पो भएछ, तेरो गल्तीले त त्यस्तो भएछ नि त्यस्तो अशल मान्छेलाई ।

को गल्ती को सही छुट्याउने समय होइन के शिला यो । प्लिज, बुझ्ने कोशिस गर्न ।

ओके, म त्यो वकिल लाई लिएर १० बजे प्रहरी प्रभाग आइपुग्छु, तँ सिधै उतै आइज है ।

प्रहरी कार्यालयमा शिला साँढे दस बजे हस्याङफस्याङ गर्दै आइपुगी र आउनासाथ सरी पनि नभनी वकिललाई परिचय गराइदिएर आफूलाई अहिले नै अर्को ठाउँमा पुग्नु पर्ने भएकोले समालाई साथ दिन असर्मथ भएको बताउँदै ठाडै खुट्टा हिँडिहाली । समा एक छिन त जिल्ल परेर शिला गएको बाटोतिर हेरिरही तर एक छिन पछि आफ्नो समस्यासँग आफैले जुध्नुपर्ने रहेछ भन्ने महसुस गर्दै वकिलसँग कुरा गर्न लागि ।

(अघिल्ला २ वटा एपिसोड पढ्नु भएमा मात्र यो भाग अर्थपूर्ण हुने भएकोले अघिल्ला अंशहरुमा पनि समय मिलेमा नजर लगाइदिनु सविनय अनुरोध छ । लेखकको नाममा क्लिक गर्नु भयो भने (वा तलको लिंकमा लेख्नुहोस्) लेखकका यस मिडियामा प्रकाशित सबै रचनाहरु देखिने छ । धन्यवाद)

यो पनि पढ्नुहोस्- नलेखिने प्रेमकथा

यो पनि पढ्नुहोस्- नलेखिने प्रेमकथा-२


प्रतिक्रिया

One thought on “नलेखिने प्रेम कथा-३

Leave a Reply

Your email address will not be published. Required fields are marked *