नलेखिने प्रेमकथा
मलाई करेन्ट लागे झैं भयो । गाडीको पहिलो सीटमा थिई उही रिपु !
आजकी रिपु त रिपु जस्ती पनि थिइन । ओठमा मन्द मुस्कान, फिक्का हरियो सर्ट र ग्रे जीन्स पाइन्ट अनि खुट्टामा सेतो बोर्डरसहितको कन्भर्स । सेतो मोजा अलिअलि बाहिर चिहाइरहेको । कपाल उसै छोडिदिएकी भए थप राम्री देखिन्थी होली, मैले मनमनै अनुमान गरें ! तर, उसले कपाललाई पछाडिपट्टि कोरेर हरियो रबरब्यान्डले बाँधेकी थिई । कानमा टप स्क्वायर बोर्डर र बीचमा डायमण्ड सेपको दुई वटा हरियो स्टोन !
‘के क्वारक्वार्ती हेरिराखेको रमण तिमीले ? मान्छे देखेको छैनौ ?’
म बोल्न सक्ने अवस्थामै थिइनँ । अझ नामै लिएर बोलाउँदा त चक्कर लाग्ला झैं भयो । लाज र पसिनाले बोल्न नसक्नेमात्रै होइन, वरिपरि भएका मानिसको हेक्का राख्नसक्ने चेतसम्म पनि थिएन ।
के बोल्ने होला ! शब्द खोज्दाखोज्दै केटी नै बोली, ‘तिम्रो नाम कसरी जानें भनेर दंग खायौ होला हैन ? दंग खानुपर्दैन, आफूलाई मनपर्ने मानिसको सबै कुरा पत्ता लगाइन्छ ।’
फेरि उसैले सोधी, ‘कस्तो नबोलेको के यो मान्छे ? कतै मौन व्रत त राखेका छैनौ ?’
के आजका केही घण्टा मलाई दान दिन सक्छौ ? दान लिने र दिनेहरुको भिडमा समयको दान मात्र अमूल्य दान हो जस्तो लाग्छ मलाई त । एक दिन त बिदा मिल्छ होला नि कामबाट, त्यो पनि प्रेमिकासँग डुल्न । टाइम नदिनेले प्रेम गर्न पाइदैन है, पहिल्यै भन्द्या छु । मलाई मेरो प्रेमीको अरु कुनै कुरामा चाख छैन, सिबाय प्रेम । तर समयबिनाको प्रेम झन चाहिएन, किनकी त्यो नक्कली लाग्छ मलाई ।
म यन्त्रवत गाडीबाट बाहिर निस्किएँ, केही नबोली ।
‘श्रीधरलाई बोलाउनु है, म एकैछिन काममा निस्कें’, चालकको सीट मुन्तिर गएर केही जोडले कराएँ ।
‘गर्लफ्रेन्डसँग डेटिङ हो है उसको त ब्यारे’, रिपु चालकले सुन्ने गरी अगाडि गएर कराई !
बसका पेसेन्जरलाई पनि लाफिङ ग्याँस नचाहिने भो । म लाजले रातो भइसकेको थिएँ सायद । अनि लागें विस्तारै उसको पछि पछि ।
‘तिम्रो यही लजालु बानीमा त म फिदा छु नि रमू’, रिपु फेरि कराई ।
‘रमू रे !’, म फेरि दंग परें ।
आफूलाई त उसको नामसम्म पनि थाहा थिएन । तर, ऊ भने वर्षौंदेखिको प्रेम भए जसरी मेरो नाम (रमण) लाई समेत ऊकार लगाएर सम्बोधन गर्दैछे । ज्याद्रो जीवनमा नाटक चल्दैछ, म गम खाँदै थिएँ ।
एकै छिनपछि दुवै जना बागमती नदीको किनारामा पुग्यौं । म थप अचम्मित भएँ । किनकि बागमतीको पानी सफा र सङ्लो थियो । पानीमा माछा पनि भए झैं लाग्यो मलाई ।
अरे बागमती कसरी सफा भयो ? प्रेममा सब कुरा साफ र सुन्दर देखिन्छ भन्थे हो रहेछ ! म अझै पनि मनमनै टहलिइरहेको थिएँ ।
‘के सोचिरा त्यस्तो बुध्दु ! आज मोदी (भारतीय प्रधानमन्त्री) आउने भएर पूरै सुन्दरीजल बागमतीमा फर्काएको छ के ! बिहान धारोमा पानी नआएको थाहा पाएनाै ? मोदीले सफा बागमतीमा पौडी खेलेर आराध्यदेव पशुपतिनाथको पूजा आराधना गर्ने रे !’, उसले भनी ।
मोदीको लागि पूरै राजधानीवासी काकाकुल हुनुपर्ने ? यो पनि मनमनै सोधेछु । तर, उत्तर सबैले सुन्ने गरी गुञ्जियो ।
‘अरे रमु ! तिमीलाई गाडीमा पैसा उठाउँदैमा ठीक छ । यसो पढ्ने पनि गर न ! मोदीलगायतका कुनै पनि विदेशी नेताहरु खुसी भए भने हाम्रो देश विकास हुन्छ रे ! जनता सुखी हुन्छन् रे ! सरकार पनि दिगो हुन्छ रे ! त्यसैले त्यति सानोतिनो दुःख त जनताले सहनैपर्यो नि, आफ्नै उज्ज्वल भविष्यको लागि’, उसले भनी ।
काठमाडौंको सडकलाई रातारात नक्कली कालोपत्रे, तीनकुनेमा जस्ताको बार र केराका बोटहरुको नक्कली बगैंचा त देखेको थिएँ । कारण यस्तो पो रहेछ ! फेरि मनमनै गम खाएँ ।
खासमा गरिबी घटाउन गरिबी देखाउनुपर्ने हो कि लुकाउनुपर्ने हो ? मेरै मनले मलाई सोध्यो । अर्को मनले आफैंलाई उत्तर दियो, ठूल्ठूला नेताहरुका कुरा तँ बच्चोले कसरी जान्छस् र ? नेपालका नेतामात्रै होइन, भारतका नेताले पनि त्यसै गर्छन् रे ! देशलाई फाइदा हुने भएरै त होला ।
भारतका नेताले त कुन कुन विदेशी नेता आउँदा हो, हजारौं मिटर कपडाले ‘दिल्ली’ का गरिबहरुका सबै घर नै लुकाइदिएका थिए रे ! ती बासिन्दाले केही समय घरबाट बाहिर निस्कन पनि पाएनन् रे ! मन अक्क न बक्क थियो ।
फेरि प्वाक्क रिपू नै बोली, ‘तिम्रो यो प्रश्न चाहिँ सही छ है ! मलाई पनि त्यस्तै त्यस्तै अप्ठेरो प्रश्नमात्र गर्न आउँछ । त्यसैले त मलाई ठूला मानिसले मन पराउँदैनन् रे ! मेरी साथीले भनेकी ।’
‘अरे, यो केटी चुँडेल हो कि क्या हो ? मैले त केही सोच्नै भएन त ! खासमा अहिलेसम्म मैले एक शब्द बोल्नसमेत पाएको थिइनँ । अझ भनौं, बोल्ने आँट नै जुटाउन सकेको थिइनँ । बल्लबल्ल आँट गरेर केही भन्न खोजिहाल्यो भने पनि ऊ पहिल्यै मलाई ओभरटेक गरिहाल्छे’, मैले फेरि सोचें । यो पटक भने उसले केही भन्न सकिन । चुडेल चाहिँ होइन रहिछे । ढुक्क लाग्यो ।
‘तिमी पानीमा के हेर्दै छौ है यस्तरी गहिरिएर ? ओऊ ! कन्डक्टर साहबको बोली भाडा नउठाउँदा पनि निस्कँदो रहेछ त ?’, रिपुले फेरि आफ्नो रिपुगिरी पेश गरी ।
‘ठीक छ, तिमी नै बोल न त ! अब मलाई केही बोल्नु पनि छैन है ।’
‘अरे, रिस त नाकैको टुप्पामा रहेछ त ? रिस छोप्न पो मास्क लाउने गरेको ? अनि आज चाहिँ मसँग रिसाउन नै मास्क नलगाइ आको हो कि के हो ?’, रिपु बोली, ‘रमु, हेर न ! त्यो पानीमा हेर्दा मलाई ‘चपाइएका अनुहारहरु’ भन्ने उपन्यासका पात्रहरुको याद आयो के ? कतै तिमीले पनि मलाई ती पानीभित्रका गोहीको आहारा बनाउन धकेलिदिने त होइनौं ? किन किन मलाई पानीसँग खुब डर लाग्छ र मेरो काल पनि पानीमै त छैन जस्तो लागिरहन्छ ।’
सायद ऊ भावुक हुन खोज्दैछे ।
मौका यही हो भन्ने बुझेर म सुस्तरी बोल्न लागें, ‘हेर न, म त सपनामा बाँच्ने मान्छे । तर, आज मेरा सपनाहरु बिस्तारै मर्दैछन् जस्तो लाग्न थालेको छ । के सपना देख्नु गलत हो ? कि साना मानिसलाई सपना देख्ने छुट छैन ?’
अझ के के भन्नेवाला थिएँ, रिपुले बीचैमा रोकी र भन्न थाली, ‘महाशय ! आफूलाई सानो मान्छे भनेर मेरो प्रेमीको ‘इन्सल्ट’ नगरिदिनुहोला ।’
रिपु फेरि बोली, ‘अब रह्यो सपनाको कुरा । सपनालाई किन गाली दिन्छौ यार तिमी ? सपना त सक्रिय मन र निष्क्रिय दिमागको संसार हो, जुन सरल, स्वःस्फूर्त, निष्कपट, स्वछन्द, प्रेमिल र विशुद्ध हुन्छ । बरु विपना चाहिँ यसको ठीक उल्टो सक्रिय दिमाग र निष्क्रिय मनको संसार हो । यसैले यहाँ लोभ, मोह, छलकपट, घृणा र प्रतिस्पर्धा हुन्छ ।’
‘सपना त भावना र कामनाको स्वतन्त्र उडान हो, यो सङ्लो हुन्छ अनि यसमा सांसारिक पावन्दीहरु हुँदैनन् । तर, विपना भने चाहना र स्वार्थहरुको टकराव हुने संसार हो, जसमा मानिसका भावनाहरु समयसँगै खण्डित हुँदै जान्छन्’, रिपु निरन्तर बोलिरही ।
अब भने म रिपुको साहित्यिक उडानको पीडित हुँदै थिएँ ।
मैले भनें, ‘आहा, सपनाको कति राम्रो परिभाषा ! तर, अलि सीधै र सरल भाषामा त भन्न आउँदैन होला है म्याडमलाई ?’
रिसलाई पोको पारेर शब्दको गुलेली तानिदिएँ । तर, चोट चाहिनेभन्दा बढी नै लागेको प्रस्टै थियो ।
‘कस्तासँग प्रेम गर्न पुगेछु नि ! लेऊ मेरो गुरु दक्षिणा मलाई जान हतार भयो’, ऊ झर्किई ।
ए, हो त मैले उसलाई गुरु दक्षिणा पो दिनु थियो । तर, यो कुरा पनि रिपुले कहाँबाट थाहा पाई ? कतै मेरो कोठामा यसले पहिल्यैदेखि गुप्तचर त राखेकी छैन ?
‘कस्ता कस्ता कुरा सोचेर बसेको होला मनमनै ? कस्तो शंकालु के ? यस्ता चालले तिम्रो घरजम हुने छाँट छैन’, रिपुले घुर्की देखाई ।
‘देऊ मेरो दक्षिणा’ भन्दै ऊ मेरो खल्तीमै हात घुसार्न आइपुगी । आफूलाई भने काउकुती लागेर कस्तो गारो ! हात छुटाउन कति बल गर्दा पनि सकिरहेको थिइनँ । रिपु बलियी पनि रहिछे भन्ने सोच्दै हात निकाल्न जोडले बल गर्दागर्दै निद्राबाट बिउँझिन पुगेछु ।
आफ्नो दाहिने हातलाई आफ्नै शरीरले चेपेर सुतेकाले विपनामै पनि हात निकाल्न प्रयास गर्दै थिएँ ।
त्यो बिउँझाइ नै मेरो आजसम्मकै विषादपूर्ण बिउँझाइ थियो । सबैभन्दा बढी पीडा त त्यसबेला भयो, जब मलाई यो सम्झना भयो कि सपनामै भए पनि मैले रिपुको नाम सोध्न सम्झिएनछु । सपना जोड्न निदाउने प्रयास गर्नुभन्दा बाहेक अरु के नै गर्न सकिन्थ्यो र ! त्यसैले मैले निदाउन निकै कोसिस गरें, तर सकिनँ ।
म कमैमा पर्छु होला, जसले सपनाको ह्याङओभर मनाउन बिदा लिएको होस् । भोलिपल्ट म काममा गइनँ, बिदा लिएँ, सपनाको ह्याङओभर सेलिब्रेट गर्न । दिनभर रिपुमात्रै मेरो दिमागी डेस्कटपमा छाइरही । कहिले नायिकाको रुपमा त कहिले खलनायिकाको रुपमा । मैले बिहानबाटै चियर्स गर्ने निर्णय गरें आफैसँग, रिपुको यादमा । आज यादहरुले दशैँ मनाउनेवाला थिए, मेरो दिमागी घरमा ।
(यहाँ अप्रकाशित उपन्यासको केही अंश कथाको रुपमा प्रकाशित गरिएको छ । कथाकी पात्र निकै रिसाही लाग्ने र उसको नाम समेत थाहा नभएकाले ‘रिसकी पुरी’ को छोटो रूप ’रिपू’ नाम राखिदिएको हो ।)
अनि गज्जब लेख । अझै एस्तै लेखको प्रतीक्षामा छौ हामी। 💖
Your storytelling is really good! I didn’t know you were writing a book, but I’m happy to hear about it. After reading this part of your story, I’m sure the whole book will be interesting.
I liked how you described the streets of Kathmandu and talked about the city’s major issue like poverty and politics. And the characters talked in a way that felt real, and I was really into their stories.
I’m excited to read the whole book!
कथा पुरै पढे । निकै रोचक र मर्मस्पर्शी लाग्यो। यथार्थपरक यो कथाको रचनाकार दाजुलाइ हार्दिक बधाई । थप लेख्न उत्प्रेरणा मिलोस..।।।
Really so very beautiful loved it dada hajur❤️
It was such a compelling story that I ended up reading the entire in one sitting.
Dherai ramro lekh