‘सरकारी शिक्षक’को बकपत्र: गैर-राजनीतिक शिक्षक एक युटोपियामात्र – Nepal Press

‘सरकारी शिक्षक’को बकपत्र: गैर-राजनीतिक शिक्षक एक युटोपियामात्र

यही बैशाख पहिलो हप्ता मुलुकमा मौसममा परिवर्तन आई चर्को गर्मी बढ्न सुरु हुँदै थियो । मुलुकभरका सामुदायिक विद्यालय र शिक्षकहरु विद्यार्थी भर्ना अभियानमा पसिना चुहाउँदै लागिरहेका थिए । त्यही बेला शिक्षा मन्त्रालयको एउटा निर्णयले विद्यालय क्षेत्रमा झन गर्मी बढाइदियो । शिक्षामन्त्री सुमना श्रेष्ठले बैशाख ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै राजनीतिक दलका कार्यकारिणी सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्ने परिपत्र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमार्फत जारी गर्न लगाइन् । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइको नाममा जारी परिपत्रमा ७५३ वटै स्थानीय तहलाई आवश्यक सहयोग र सहजीकरणका लागि भनेर बोधार्थसमेत गरिएको थियो ।

राजनीतिक दलका सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गरिने उर्दी जारी भएपछि विद्यालय शिक्षा क्षेत्रमा गरमागरम बहस सुरु भएको छ । सामाजिक सञ्जालमा त पक्ष र विपक्षमा दोहोरो जुहारी चलिरहेकै छ । शिक्षक सम्बद्ध विभिन्न संघसंगठनका नेताहरुले अप्रत्यक्ष रुपमा यस निर्देशनको विरोध गरिरहेका छन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले मन्त्रालयको यो निर्णयविरुद्ध आन्दोलन नै गर्ने चेतावनी दिइसकेकी छन् ।

शिक्षकले राजनीति गर्न हुन्छ या हुन्न भन्ने विषयमा अनन्त बहस गर्ने ठाउँ छ । शिक्षकलाई निरपेक्ष रुपमा राजनीतिबाट अलग राख्नु अघि हाम्रो मुलुकको राजनीतिक व्यवस्थाको संरचना र यसको स्थापनाको इतिहासबारे बहस गर्नु अत्यन्त जरुरी छ । त्यसैगरी शिक्षक र शिक्षा सम्बन्धि प्रचलित ऐन, कानून र नीतिगत व्यवस्थाको व्याख्या पनि जरुरी छ । सबैभन्दा पहिला शिक्षक र शिक्षण पेशा के हो भनेर सामान्य बुझाइ राख्नु आवश्यक हुन्छ ।

को हुन् शिक्षक, के हो शिक्षण ?

शिक्षकलाई परिभाषित गर्न यो दुनियाँमा सर्वोत्कृष्ट निबन्ध रचना गरिएको छ, बेस्ट सेलर उपन्यास लेखिएको छ र ब्लकब्लस्टर फिल्म बनेको छ । ती तमाम परिभाषाको एउटै सार के हो भने शिक्षक भनेको यो ब्रह्माण्डको पथपर्दशक हो । शिक्षकविना हाम्रो समाजको कुनै एक पक्ष पनि अघि बढ्न सक्दैन । ढुङ्गे युगदेखि यो एक्काइसौं शताब्दीसम्म मानव सभ्यताले जति विकास गरेको छ, त्यो शिक्षकको योगदानले मात्र सम्भव भएको हो । वैदिक कालदेखि आधुनिक कालसम्म शिक्षकका अनेकौं रुप र नाम आए होलान्, तर शिक्षकको एउटै काम थियो- समाजलाई पथ प्रर्दशन गर्नु ।

शिक्षक भनेको यो ब्रह्माण्डको पथपर्दशक हो । शिक्षकविना हाम्रो समाजको कुनै एक पक्ष पनि अघि बढ्न सक्दैन । ढुङ्गे युगदेखि यो एक्काइसौं शताब्दीसम्म मानव सभ्यताले जति विकास गरेको छ, त्यो शिक्षकको योगदानले मात्र सम्भव भएको हो ।

आजको बहस भनेको समाजको पथ प्रर्दशक भनिएको शिक्षक वर्ग राजनीतिबाट अलग हुनुपर्छ या पर्दैन भन्ने हो । हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा राजनीति भनेको समाजको महत्त्वपूर्ण अंग हो । राजनीतिबाटै समाजको विकासका सिद्धान्त तथा आयामहरु निर्माण हुन्छ । चीनको साम्यवादी समाज र अमेरिकाको पूँजीवादी समाज भिन्न हुनुमा राजनीतिकै प्रमुख भूमिका छ । यतिमात्र होइन, हाम्रो जस्तो तरल राज्य व्यवस्था भएको मुलुकमा त झन् राजनीतिको महत्त्वपूर्ण भूमिका हुन्छ ।

शिक्षण कार्य भनेको कक्षा कोठामा गएर विद्यार्थीलाई पढाउने कार्यलाई मात्र बुझियो भने त्यो कोरा र जड बुझाइ हुन्छ । शिक्षक एक सामाजिक व्यक्ति भएको हुनाले उसले समाजको हरेक क्रियाकलापमा सरिक हुने गर्छ र आवश्यक परेको खण्डमा हरेक क्षण सिकाइमा सरिक हुनसक्छ । चार दिवालभित्रको बन्द कोठामा गरिने शिक्षणलाई मात्र शिक्षण भनेर बुझियो भने त्यो अपूर्ण हुन्छ । कक्षा कोठाभन्दा बाहिर पनि थुप्रै कुराको शिक्षण गर्नुपर्ने अवस्था आउनसक्छ । त्यसमध्ये राजनीति पनि एक पाटो हो । किनभने राजनीति हाम्रो समाज र राज्य व्यवस्थाको अभिन्न अंग हो ।

यस्तो महत्त्वपूर्ण पक्षबाट शिक्षकलाई अलग गर्नु निकै जटिल कार्य हो । निरंकुश जहानिया राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था हटाउनमा शिक्षकहरुको ऐतिहासिक भूमिका छ । अहिलेको लोकतान्त्रिक व्यवस्था निर्माणमा गाउँ-बस्ती र दूरदराजमा गएर जनचेतना जगाउने पहिलो संवाहक नै शिक्षक हो । तैपनि शिक्षकहरुलाई राजनीतिबाट अलग राख्नुपर्ने तर्क बलियो हुँदै गइरहेको छ । शिक्षकलाई राजनीतिबाट अलग राख्न विभिन्न कानूनी व्यवस्था पनि भइरहेका छन् । खासमा नेपालको फोहोरी राजनीतिका कारण शिक्षकहरुलाई गैर-राजनीतिक बनाउनुपर्ने बहस बलियो हुँदै गइरहेको छ ।

कानूनी व्यवस्था

मुलुकको समग्र शिक्षा क्षेत्रलाई समेट्न बनेको शिक्षा ऐन २०२८ को दफा १६ (ङ) को उपदफा ५ ले शिक्षकहरु गैर-राजनीतिक हुनुपर्ने व्यवस्था गरेको छ । उपदफा ५ को खण्ड (छ) ले कुनै पनि शिक्षक/कर्मचारी राजनीतिक दलको कार्यकारिणी सदस्य रहेमा पदबाट हटाउन सकिने प्रावधान राखेको छ । त्यसैगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले शिक्षकलाई राजनीतिक दलको सदस्य हुनबाट रोक लगाएको छ । उक्त ऐनको दफा १४ को उपदफा २ को खण्ड (ग) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी कुनै पनि राजनीतिक दलको सदस्य हुन नसक्ने प्रावधान राखेको छ ।

निरंकुश जहानिया राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था हटाउनमा शिक्षकहरुको ऐतिहासिक भूमिका छ । अहिलेको लोकतान्त्रिक व्यवस्था निर्माणमा गाउँ-बस्ती र दूरदराजमा गएर जनचेतना जगाउने पहिलो संवाहक नै शिक्षक हो । तैपनि शिक्षकहरुलाई राजनीतिबाट अलग राख्नुपर्ने तर्क बलियो हुँदै गइरहेको छ । शिक्षकलाई राजनीतिबाट अलग राख्न विभिन्न कानूनी व्यवस्था पनि भइरहेका छन् ।

उपर्युक्त कानूनी व्यवस्था लागू हुन नसकिरहेको भनी पाटन उच्च अदालतले २०७९ जेठ ४ गते एउटा उत्प्रेषण परमादेश जारी गर्दै कुनै पनि शिक्षकले राजनीतिक दलको सदस्य लिन नहुने फैसला गरेको छ । मुख्यगरी यी तीन वटा कानूनी आधारमा शिक्षामन्त्रीले निर्णय गरी राजनीतिक दल सम्बद्ध शिक्षकहरुलाई कारबाही गर्ने परिपत्र जारी गरेका हुन् । यो परिपत्र कुन हदसम्म लागू हुन्छ भन्ने कुरा अब निकट भविष्यमा नै देखिनेछ । अर्थात राजनीतिक दलका सदस्यता लिइएका शिक्षकहरुको जागिर जान्छ, जाँदैन त्यो हेर्न पाइएला नै । तर, मुख्य कुरो शिक्षक र राजनीतिबीचको सम्बन्धबारेको बहस भने अनन्तकालसम्म रहिरहने छ ।

गैर-राजनीतिक शिक्षक : एक युटोपियामात्र

हाम्रो जस्तो राजनीतिक, सामाजिक र आर्थिक अवस्था भएको मुलुकमा एउटा शिक्षकलाई गैर-राजनीतिक बनाउनु प्रायः असम्भव छ । अर्थात गैर-राजनीतिक शिक्षकको कल्पना एक युटोपियामात्र हो । हाम्रो समाज दक्षिण एसियामा अफगानिस्तानपछि दोस्रो स्थानमा पिछडिएको समाज हो । यस्तो समाजमा राजनीतिक चेतनाको विश्वसनीय संवाहक भनेको शिक्षक नै हो । हाम्रो समाजका एक तिहाइ समुदाय अझै पनि राजनीतिक व्यवस्थाप्रति अनभिज्ञ छन् । उनीहरुमा राजनीतिक चेतनाको प्रसार हुने भरपर्दो माध्यम शिक्षक नै हो । जुन समाजमा राजनीतिक चेतनाको जति विकास हुन्छ, त्यति नै मात्रामा सभ्यताको विकास पनि हुँदै जान्छ ।

शिक्षकलाई राजनीतिबाट अलग राख्नै नसकिने प्रमुख आधार भनेको हाम्रो लोकतान्त्रिक शासन व्यवस्था हो । लोकतन्त्रको प्रमुख आधार भनेको आवधिक निर्वाचन हो र निर्वाचनको मुख्य आधार भनेको मताधिकार हो । हाम्रो संविधानले प्रत्येक नागरिकलाई मताधिकारको हक प्रदान गरेको छ । एउटा शिक्षकले पनि आफूले मन पराएको दल र तिनका नेतालाई मत दिने अधिकार प्राप्त गरेको हुन्छ । मत दिने बेलामा प्रत्यक्ष, अप्रत्यक्ष राजनीतिक बहसमा एउटा शिक्षक पनि मुछिएको हुन्छ । शिक्षक भएकै नाताले एउटा शिक्षकलाई निर्वाचनमा मत दिनबाट वञ्चित गर्ने कानून बनाउनु संविधानविपरीत हुन्छ । हाम्रो संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता मौलिक हकअन्तर्गत प्रदान गरेको छ । यही अधिकार प्रयोग गरेर एउटा शिक्षकले पनि राजनीतिक दलसम्बन्धी आफ्नो मत राख्नसक्छ ।

हाम्रो संविधानले प्रत्येक नागरिकलाई मताधिकारको हक प्रदान गरेको छ । एउटा शिक्षकले पनि आफूले मन पराएको दल र तिनका नेतालाई मत दिने अधिकार प्राप्त गरेको हुन्छ । मत दिने बेलामा प्रत्यक्ष, अप्रत्यक्ष राजनीतिक बहसमा एउटा शिक्षक पनि मुछिएको हुन्छ । शिक्षक भएकै नाताले एउटा शिक्षकलाई निर्वाचनमा मत दिनबाट वञ्चित गर्ने कानून बनाउनु संविधानविपरीत हुन्छ ।

शिक्षकलाई राजनीतिबाट अलग राख्ने कुरा जति लोकप्रिय छ, व्यवहारिक हिसाबले त्यति नै जटिल छ । शिक्षण एउटा जागिरमात्र होइन, यो त पेशा पनि हो । हरेक पेशालाई ट्रेड युनियन अधिकार संयुक्त राष्ट्रसंघबाट नै प्रदत्त छ । हाम्रो संविधान र विभिन्न ऐन-कानूनले शिक्षकहरुलाई ट्रेड युनियन अधिकार प्रदान गरेको छ । शिक्षकहरुले विभिन्न ट्रेड युनियन गठन गरेर अप्रत्यक्ष राजनीति गरिरहेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ट्रेड युनियनमार्फत शिक्षकहरु राजनीतिकर्मी भइरहेका छन् । ट्रेड युनियनलाई खारेज गर्न संविधानले दिँदैन ।

अहिले हामीसँग विभिन्न शिक्षक संघसंगठन, परिषद्हरु छन् । तिनीहरु अप्रत्यक्ष रुपमा दलको भ्रातृ संगठन नै हुन् । यतिमात्र होइन शिक्षा ऐनअन्तर्गत गठन भएको शिक्षक महासंघसमेत राजनीतिक भ्रातृ संगठन जस्तो भएको छ । महासंघको गठन प्रक्रिया अप्रत्यक्ष राजनीति घुसाउने त्रुटिपूर्ण व्यवस्था छ । अर्थात महासंघको गठन स्वतन्त्र रुपमा हुँदैन । घटक संस्थाहरुबीच भागबन्डा लगाएरमात्र शिक्षक महासंघ गठन हुन्छ । एउटा शिक्षक सीधै शिक्षक महासंघको सदस्य हुन सक्दैन । पहिला ऊ घटक संस्थाको सदस्य बन्नुपर्छ । घटक संस्थाको सदस्य बन्नु भनेको राजनीतिक दलको भ्रातृ संगठनको सदस्य बन्नु नै हो ।

यसरी हेर्दा विद्यमान संरचनामै टेकेर चाहिँ शिक्षकलाई गैर-राजनीतिक बनाउन सकिन्न । शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी कानूनको आधारमै मात्र शिक्षकलाई कसैले गैर-राजनीतिक बनाउन खोज्छ भने त्यो प्राविधिक रुपमा सहज देखिए पनि व्यवहारिक रुपमा जटिल छ । हाम्रा शिक्षामन्त्री जुन राज्य व्यवस्थाअन्तर्गत मन्त्री बनेका छन्, त्यो व्यवस्था ल्याउन शिक्षकहरुले पनि धेरै रगत पसिना बगाएका छन् । राजनीतिक व्यवस्था स्थापनार्थ शिक्षकहरुले गरेको योगदानलाई नजरअन्दाज गर्दै कारबाहीको उर्दी जारी गर्नु मन्त्रीको लागि फलामको चिउरा चपाउनुसरह हुनसक्छ ।

निजी विद्यालयका शिक्षकलाई राजनीति गर्न छुट दिएर सामुदायिक विद्यालयका शिक्षकलाई मात्र कारबाही हुने गरी बनाइएको कानून विभेदकारी छ । सामुदायिक विद्यालयका शिक्षकले राजनीति गरे शिक्षा बिग्रने र निजी विद्यालयका शिक्षकले राजनीति गर्दा शिक्षा सप्रने भन्ने हुन्न ।

विभेदपूर्ण कानूनी व्यवस्था

शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानूनी व्यवस्था नै विभेदपूर्ण छ । नेपालमा हाल ३६ हजारभन्दा बढी विद्यालय छन्, जसमध्ये ७ हजार बढी निजी विद्यालय छन् । हालको विद्यमान कानूनले सामुदायिक विद्यालयका शिक्षकमात्र राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । तर, निजी विद्यालयका शिक्षकबारे कानून मौन छ । शिक्षक भनेको शिक्षक नै हो, चाहे सामुदायिक विद्यालयको होस् या निजी विद्यालयको । राजनीतिले शिक्षा खराब हुन्छ भने सामुदायिक विद्यालयको शिक्षा पनि खराब हुन्छ र निजी विद्यालयको शिक्षा पनि खराब हुन्छ ।

निजी विद्यालयका शिक्षकहरु पनि राजनीतिक दलको सदस्य रहेको र दलको विभिन्न कार्यकारिणी समितिमा बसेका कैयौं उदाहरण छन् । पूर्वशिक्षामन्त्री अशोक राई आफैं निजी विद्यालयका सञ्चालक/शिक्षक हुन् । निजी विद्यालयका शिक्षकलाई राजनीति गर्न छुट दिएर सामुदायिक विद्यालयका शिक्षकलाई मात्र कारबाही हुने गरी बनाइएको कानून विभेदकारी छ । सामुदायिक विद्यालयका शिक्षकले राजनीति गरे शिक्षा बिग्रने र निजी विद्यालयका शिक्षकले राजनीति गर्दा शिक्षा सप्रने भन्ने हुन्न ।

अहिलेको परिप्रेक्ष्यमा शिक्षकहरुलाई राजनीतिक दलको सदस्य बन्नबाट रोक लगाउन सकिए पनि शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्न सकिन्न । शिक्षकले देशको राजनीति बुझ्न सकेन भने देशको राजनीति सही बाटोमा हिँड्न सक्दैन । अर्कोतर्फ शिक्षकले राजनीति गरेर शिक्षा बिग्रेको हो भन्ने भाष्य नै गलत छ । शिक्षा बिग्रनुमा अनेकौं कारण छन् । ती तमाम कारणहरुलाई एकमुष्ठ सम्बोधन नगरेसम्म शिक्षा सुधार हुन्न ।

(मेवाहाङ मोरङको रंगेलीस्थित आदर्श माविका प्रधानाध्यापक एवं प्रिन्सिपल्स एसोसियसन अफ नेपाल (पान) कोशी अध्यक्ष हुन् ।)


प्रतिक्रिया

3 thoughts on “‘सरकारी शिक्षक’को बकपत्र: गैर-राजनीतिक शिक्षक एक युटोपियामात्र

  1. शिक्षकलाई शिक्षाको गुणस्तर विशिष्ट बनाउन, जनताको चेतना उत्कृष्ट बनाउन र देशको अवस्था सकारात्मक बनाउन उनीहरू क्षमता प्रयोग गर्न प्रेरित गर्नुपर्छ। यो पनि राजनीति नै हो। तर लोकप्रियतावादीहरू जनतालाई भ्रमित बनाउन शिक्षकले राजनीति गर्न हुन्न भन्दैछन्।#षडयन्त्र

  2. हाल नेपालमा रहेका ३६ हजारभन्दा बढी विद्यालयहरू मध्ये ७हजारभन्दा बढी नीजि विद्यालयहरू रहेका छन् । सरकारी वा सामुदायिक विद्यालयहरूमा प्रति विद्यालय १ जनादेखि पुरा कक्षा अनुसारका शिक्षकहरू रहेका देखिन्छन् भने नीजि विद्यालयमा कक्षा अनुसारका शिक्षकहरू रहेका देखिन्छन् । अब शिक्षा मन्त्रीज्यूको निर्देशन अनुसारको सर्कुलरले कति शिक्षकहरूलाइ कारवाही गर्ने हो अनभिज्ञता नै रहे जस्तो देखिन्छ । मन्त्रीज्यूको सर्कुलरले सरकारी वा सामुदायिक विद्यालयका शिक्षकहरूलाइ मात्र कारवाही गर्न सक्छ होला । नीजिक्षेत्रका शिक्षकहरूलाइ के गर्ने ? उनीहरू पनि राजनैतिक दलका भातृ संगठन शिक्षक संगठनको कार्यकारिणी समिति समेतमा रहेका छन् ।, फेरी शिक्षक त शिक्षक नै हो । उसले जहाँ जसरी पनि शिक्षा दिनु पर्छ चाहे त्यो मतपत्र, मतदान, मत गणना वा कक्षा कोठामा नै किन नहोस । यो अधिकारलाइ मन्त्रीज्यूले रोक्न सक्नुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *