यतीको सफलताको कथा : नेपाली बैंकले ऋण दिएन, जहाज बिक्रेताले पत्याएन – Nepal Press
पुस्तक चर्चा

यतीको सफलताको कथा : नेपाली बैंकले ऋण दिएन, जहाज बिक्रेताले पत्याएन

काठमाडौं । नेपाली पर्यटनमा एउटा ब्राण्ड हो यती समूह । त्यो समूहका मुली हुन् ल्हाक्पा सोनाम शेर्पा । उनै शेर्पाले आफ्नो आत्मकथा ‘हिम्बु’ बजारमा ल्याएका छन् । उनको आत्मकथा उनको निजीभन्दा माथि नेपालको पर्यटन उद्योग, त्यसमा उनको कम्पनीको प्रवेश, यती तथा तारा हुँदै हिमालय एयरलाइन्स स्थापनाका कथादेखि यती समूहका नाममा आएका ल्याइएका विवादको श्रङ्खलासम्म शेर्पाले व्याख्या दिएका छन् ।

टिकटमा एजेन्सीलाई लाखौं गएपछि जन्मेको विमान सपना

सन् १९८७ मा फ्रान्सेली समूहसँग मिलेर खुम्बु क्षेत्रको ६,६२३ मिटर अग्लो हिमाल चढेपछि थामसेर्कु नाममा मोहित भए शेर्पा । र, सन् १९८८ मा खोले थामसेर्कु कम्पनी । आफ्नै नामको कम्पनी खोल्न प्रोत्साहन दिने र दर्ता सहजीकरण गर्ने व्यक्ति थिए प्राध्यापक जनार्दन सुवेदी । त्यो कम्पनी बबाल चल्यो । वर्षमा सात हजार हाराहारी पर्यटकलाई सेवा दिन थाल्यो । त्यसको फलस्वरुस सन् १९९३ मै थामसेर्कु देशको तेस्रो ठूलो कम्पनीको रुपमा उभियो । विदेशीहरु खासगरी युरोपेली तथा अमेरिकी त्यसमा पनि अझ फ्रान्सेलीलाई सेवा दिनुपर्ने भएकाले हवाई टिकटको जोहोमा बढी ध्यान दिनुपर्थ्यो । समयको ख्याल गर्ने विदेशीहरुलाई दिने टिकट भएकाले अतिरिक्त ध्यान दिनुपर्थ्यो ।

थामसेर्कुले टिकटको जिम्मा नेपाल एक्सप्रेस ट्राभल्स नामक कम्पनीलाई दिएको थियो । एक दिन सोनामले हिसाब गर्दा टिकटको नाममा टन्न पैसा गएको देखे र सोचे- आफैं विमान कम्पनी किन नखोल्ने ? यो प्रश्नले नै विमान कम्पनीको भूत सवार भयो । चितवनका नेता जागृतप्रसाद भेटवालले तत्कालीन पर्यटनमन्त्री सलिम मियाँ अन्सारीलाई सोर्सफोर्स लगाएर लाइसेन्स दिलाए । केही थान आफ्ना मान्छेलाई जागिर लगाइदिनबाहेक उनले केही नलिएको सोनाम बताउँछन् ।

सोनामलाई विमान खरिद गर्न ३० लाख अमेरिकी डलर चाहियो । बैंकसँग गुहार गरे, खासगरी हिमालयन बैंकसँग । तर, दिएन । त्यसपछि उनले फ्रान्सका तीन साथीलाई पत्र लेखेर ३० लाख डलर मागे । फ्रान्सेली साथी बेनार्ड नोबेलले एकै वचनमा मिलाइदिए । सन् १९९८ को जुलाईमा सोनाम जहाज साहु भेट्न क्वालालम्पुर पुगे । उनको हुलिया हेरेर साहुले पत्याएनन् । यो कथा कोट्याउँदै शेर्पाले लेखेका छन्, ‘जहाजको मालिकले मलाई नपत्याएको होला । उसले तीनचार पटक अत्यन्तै अविश्वासी पारामा मलाई तलमाथि हेरिरह्यो- व्यक्तित्व नभएको, आर्थिक क्षमता नभएको मानिसका रुपमा ।’

उनले थपेका छन्, ‘जहाज किन्ने को हो मलाई हेर्दै एयरलाइन्सको मालिकले सोध्यो ।’ कुनै बेला बैंक तथा जहाज बेच्ने साहु दुवैले नपत्याएको जहाज कम्पनीमा हाल १ हजार १०० कर्मचारी रहेको र बजारको ४६ प्रतिशत हाराहारी हिस्सा भएको सोनाम सुनाउँछन् । विमान कम्पनीको नाम यती राख्नुमा चैं आफूसँग ठोकिएका धेरै विदेशीले यतीबारेमा चासो राखेको र यो नाम छोटो अनि सुन्दर हुनु मुख्य कारण भएको सोनामले सुनाएका छन् । आफ्नो परिवारमा आफ्नै जहाज हुनुपर्ने कान्छा भाइ आङ टेण्डीले जहाजै नदेखी फ्रान्सेली पर्यटक उद्धार सकेर काठमाडौं फर्किंदा हेलिकप्टरमा परेर मृत्युवरण गरेको तथा सन् २०११ मा तारा एयर जन्माएका साइँला भाइ आङछिरिङले आफ्नो पर्यटन सपना पूरै नगरी पाथिभराको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै ज्यान गुमाएका दुःखान्त कथा पनि विमानसँगै सोनामले किताबमा जोडेका छन् ।

भारतीयले नपत्याएपछि चिनियाँ साझेदारीमा खोलिएको हिमालय एअरलाइन्स

यती र ताराले नेपालमा मात्रै सेवा दिइरहेका थिए । नेपालको हवाई बजारको अन्तर्राष्ट्रिय हिस्साको व्यापार २६ विदेशी कम्पनीको हातमा थियो । नेपाल वायुसेवा निगम प्रभावकारी थिएन । कतार, दुबई, ओमनदेखि चीनसम्मको हवाई उडानमा नेपाली विमान कम्पनी आवश्यक ठानेर हिमालय एअरलाइन्सको कल्पना गरे शेर्पा र उनको समूहले । त्यसको लागि भारतीयसँग साझेदारी प्रस्ताव गरियो । पत्याइन । चीनसँग प्रस्ताव गरियो । पत्यायो ।

यो पनि पढ्नुहोस्- आङछिरिङको पाँचौं स्मृति दिवस : आत्मकथामा यसरी सम्झन्छन् दाइ सोनाम

योबारेमा ‘हवाई उड्ययनका कठिनाइ’ शीर्षकमा सोनाम भन्छन्, ‘भारतसँग साझेदारी गर्न खोज्यौं । उसले पनि हाम्रो लगानी र क्षमतामा पत्याएन । चीनको एक कम्पनीसँग सहकार्य गरी हामीले हिमालय एअरलाइन्स विस्तार गरेका हौं । न्यारोबडीका चार जहाज हिमालय एअरसँग छन् । यो पाँच वर्षमा हामीले चार वटा एयरबस लिएर सेवा दिइरहेका छौं । ५०० जनालाई रोजगारी दिएका छौं । जबकि सरकारको वायुसेवा निगमसँग चारमात्र जहाज छन् ।’

एमालेसँग जोड्ने पत्रकार डम्बर गिरी, दल खोल्न बाध्य बनाउने राजाका पर्यटनमन्त्री

सोनामले पुस्तकमा एमालेसँगको आफ्नो भावनात्मक साइनोदेखि आफैंले दर्ता गरेर चल्न नपाएको दल ‘हिमालयन ग्रीन पार्टी’बारे खुलाएका छन् । पत्रकार डम्बर गिरीले आफ्नो नाम एमाले र मदन भण्डारीसँग जोडिदिएको सोनामले लेखेका छन् । आफ्नी श्रीमती पासाङ ल्हामु शेर्पालाई सगरमाथा जान बधाई दिनेहरुमा एक प्रमुख अनुहार मदन भण्डारी भएको भन्दै सोनामले पासाङको दुःखद मृत्युपछि गरिएको स्वयम्भूको दाहसंस्कार र दासढुंगामा ज्यान गुमाएका मदनको दाहसंस्कार पशुपतिमा एकै दिन भएको दुःखद कथा पनि लेखेका छन् । यी र यस्तै कारण एमालेसँग भावनात्मक सम्बन्ध भएको बताएका सोनामले आफूलाई मनपर्ने मन्त्रीहरुमा भने जीवनबहादुर शाही, शक्ति बस्नेतलगायतका गैरएमाले मन्त्रीहरु पनि समेटेका छन् ।

आफ्नै पार्टी खोलेर अध्यक्ष भएको कथासमेत सोनामले सुनाउन छुटाएका छैनन् । तत्कालीन हरियाली पार्टीका अध्यक्ष कुवेर शर्मा पर्यटनमन्त्री थिए । काम लिएर सोनाम उनको कार्यालय पुगे । शर्माले पार्टीलाई चन्दा दिएमात्रै काम गर्ने बताए । काम खासै थिएन । ‘नेपाल माउन्टेनियरिङ फेडेरेसन’को उद्घाटनको मात्रै काम थियो ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका ती बाहुन मन्त्रीसँग बिच्केर सोनामका एक साथीले भने, ‘हरेक दलमा बाहुन-क्षेत्रीमात्रै छन् । उनीहरुको पेलानमा कति पर्ने ? हिमालको पीडा, शेर्पाको दुःख, वातावरण फेरिएको वेदना ती दलका नेतालाई थाहा छैन । अब यी सबै कुरा जोडेर घोषणापत्र तयार गर्नुपर्छ । नयाँ दल खोल्नुपर्छ ।’ उनको प्रस्ताव स्वीकार्य भयो । अन्ततः वकिल आङ कर्मासँग कानूनी सहयोग लिएर सोनाम अध्यक्ष भएको हिमालयन ग्रीन पार्टी दर्ता भयो । यद्यपि, हिमालका १६ जिल्ला लक्षित गरेर कम्तीमा पाँच सीट सांसद जित्ने आधार सोचिएको दल चल्न सकेन । दल सञ्चालन हुन नसक्नुका कारण र सञ्चालन भएको भए आउने फाइदाबारेमा सोनाम भन्छन्, ‘पार्टीले एउटा आकार लिने बेलामा सबै जना भागाभाग गरे । त्यो सपना त्यत्तिकै भयो । पार्टी अघि बढेको भए देश-विदेशबाट सहयोग पाइन्थ्यो । हामीले उठाएका मुद्दा ज्यादै सामरिक भएकाले दुवै छिमेकी देशबाट मद्दत पाउन सकिन्थ्यो । वातावरणीय प्रदूषणले विश्वको जलवायु प्रभावित भइरहेका बेला हामीले उठाएको विषयलाई धेरैले सुन्थे ।’

व्यवसायिक काममा आफ्नै समुदायबाट निरन्तर असहयोग

खुम्बु क्षेत्रका थामे र कोङ्देमा सोनामको समूहले होटल बनाउन थाल्दा उनकै समुदायबाट सबैभन्दा धेरै असहयोग भयो । थामेमा १८ कोठा भएको होटल सञ्चालनका क्रममा एक जना शेर्पाको जग्गा किनेर यती माउन्टेन लजको छ नम्बरको होटल योजनामा जोडिए । त्योसँगै जोडिए अनेक तनाव र असहयोग । गाउँलेलाई उचालेर बालुवा, गिट्टी, माटो, ढुंगा दिएनन् । त्यसको विकल्पमा भारतबाट प्रिफ्याबका सामान ल्याए । सन् २००८ मा बनेको होटलका कोठा २० पुर्‍याए । स्थानीयको असहयोगले महँगियो निर्माण । त्योबारेमा सोनाम भन्छन्, ‘भारतबाट १५ लाख प्रिब्याफ ल्याउँदा खर्च एकाएक बढ्यो । झण्डै तेब्बर खर्चमा मैले होटल निर्माण गराएँ ।’

सन् २००९ मा कोङ्देमा होटल खोल्ने योजनामा काम थालेदेखि विभिन्न बाधा आएको सोनाम सुनाउँछन् । सुरुमा वातावरणीय प्रभाव र मूल्यांकन (ईआईए)मा बखेडा झिक्दा आफूले धेरै धाएको र २२ लाख खर्चेर अनुमति लिएको भन्दै सोनामले नेपाली पर्यटन क्षेत्रको ईआईए गर्ने आफू पहिलो भएको दाबी गरेका छन् । कोङ्देमा आफूलाई तनाव दिएर मान्छे उचाल्न खुम्जुङ-४ का आङछिरिङ शेर्पाको भूमिका भएको सोनामले लेखेका छन् ।

यो पनि पढ्नुहोस्- जब फ्रान्सेली पूर्वराष्ट्रपति नेपाल ल्याउँछु भन्दा रमेशनाथ पाण्डेले प्रहरी लगाएर गलहत्त्याए

विवादको कारण बढेको लगानीबारे सोनाम भन्छन्, ‘थामे र कोङ्देको घटनाले ठूलो पाठ सिकाएको छ । कोङ्देमा लगानी गरेको पैसा काठमाडौंमा लगाएको भए कति फाइदा हुन्थ्यो । त्यसको कुनै हिसाब छैन ।’

सोनामको कम्पनीसँग मिलेर युरोकप्टरले सन् २००५ मा सगरमाथा क्षेत्रमा परीक्षण उडान गर्‍यो । त्यस क्रममा सगरमाथाको टुप्पोमा एक छेउले छोयो । यो मुद्दा चर्चित बन्यो । विवाद आयो । विवादको जरो आफ्नै समुदायका मान्छे भएको भन्दै सोनामले गुनासो गरेका छन् । उनले भनेका छन्, ‘तर सानो प्रसंग जोडेर मेरोविरुद्ध आफ्नै समुदाय ठूलै हुलहुज्जत गर्न लागिपरे । बदनाम गराउन कम्मर कसे । एसियन ट्रेकिङका आङछिरिङ शेर्पाको नेतृत्वमा मलाई चौतर्फी रुपमा खेदियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *