आङछिरिङको पाँचौं स्मृति दिवस : आत्मकथामा यसरी सम्झन्छन् दाइ सोनाम – Nepal Press

आङछिरिङको पाँचौं स्मृति दिवस : आत्मकथामा यसरी सम्झन्छन् दाइ सोनाम

काठमाडौं । २०७५ फागुन १५ मा नेपालको पर्यटन वृत्तमै एक ठूलो दुर्घटना हुन पुग्यो । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्रीका सुरक्षा गार्ड अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको पाथिभरा पुगेर दर्शन गरेर फर्किंदा ज्यान गएको थियो ।

आङछिरिङ परिवारमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउने पहिलो अनुहार होइनन् । आङछिरिङका कान्छा भाइ आङटेण्डी पनि सन् २००१ मा हेलि दुर्घटनामा परेर बितेका थिए । आङछिरिङका माइला दाइ ल्हाक्पा सोनाम शेर्पा पनि सन् २०१३ मा हेलिकप्टर दुर्घटनामा चैँ परे । तर, उनी बाँच्न सफल भए ।

उनै सोनामको अहिले पुस्तक आएको छ । ‘हिम्बु’ नाम दिइएको उनको आत्मकथामा उनले आफ्ना साइला भाइसँगको व्यक्तिगत, व्यापारिक तथा पारिवारिक सम्झनालाई एक अलग अध्याय बनाएर लेखेका छन् । ‘साथी जस्ता आङछिरिङ’ नामको अध्यायमा उनले यो प्रसंग ल्याएका छन् । उनले आफू र भाइको यती एयरमा साझेदारी सन् २००० मा सुरु भएको र भाइकै कारण २० वर्षको अन्तरमा १४ जहाज पुगेको सोनाम बताउँछन् ।

दाजुभाइको सम्बन्ध कति सहज थियो भन्ने उदाहरण दिँदै सोनामले लेखेका छन्, ‘भाइ आङछिरिङ र मेरो सम्बन्ध मान्छेले पत्याउनै नसक्ने खालको थियो । हामी ठूल्ठूला कारोबारको कुराकानी पनि फोनमै गर्थ्यौं । ज्यादै गहकिला र गम्भीर निर्णयसमेत फोनमै पनि गर्थ्यौं । उभिइ उभिइकन पनि निकै ठूल्ठूला निर्णय गर्थ्यौं ।’

मन्त्रीको जोडबलले बनेको थियो तात्तातो कार्यक्रम, त्यसैले लग्यो ज्यान

हेलिकप्टर दुर्घटना भएको दिन आङछिरिङको व्यापारिक कार्यक्रमकै सवालमा उनी राति फ्रान्स जाँदै थिए । साथी जस्तै रहेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले हेलिकप्टरमा तेह्रथुमको आठराईको चुहान डाँडा जान कर गरे । यो सवालमा सोनाम लेख्छन्, ‘मन्त्रीले फोन गरेर तेह्रथुम जाउँ भनेछन् । भाइले म बेलुकी बाहिर जाँदैछु भनेर नजाने मन गरेछन् । तर, मन्त्रीले अलि ढिपी गरेर भरेसम्ममा आइहालिन्छ । तेह्रथुमको आठराई, चुहान डाँडामा विमानस्थलको शिलान्यास छ । त्यहाँ पुगेर फर्किहालुँला भनेछन् । मन्त्री साथीको अनुरोध टार्न नसकी भाइ गएछन् ।’

विमानस्थल शिलान्यास सकेर पाथिभरा पुगेको, त्यहाँ पूजाआजा गर्दा मौसम नराम्रो भएको र नजान पुजारीले भन्दा पनि जोरजुलुम गरेर उडेको केही समयमै दुर्घटना भएको सोनामले लेखेका छन् ।

माओवादी युद्धकालमा सेनामलाई भेडा पाल्न अस्ट्रेलिया जान रोकेका थिए आङछिरिङले

कुरा सन् २००१ को हो । माओवादी ‘युद्ध’ र राज्यको प्रतिहिंसाले देश तनावग्रस्त थियो । पर्यटन व्यवसाय उस्तै तनावमा थियो । यही मेसोमा एक अस्ट्रेलियाली साथीले सोनामलाई सात लाख डलरमा ‘सात दिन हिँडेर नसकिने’ भेडा पाल्ने जग्गा किन्न सल्लाह दिए । सोनाम सकारात्मक भए । साइला भाइ आङछिरिङसँग सल्लाह लिए । साइला भाइले भने भावनात्मक कुरा गरे । उनले भने, ‘यै देशले हामीलाई यति धेरै दियो । हिजोका सुखका दिनमा यही समाजबाट हामीले धेरै पायौं । आज यो देशमा अप्ठ्यारो पर्दा किन बाहिर जाने दाइ ?’

भाइको यो प्रश्नले सोनाम पग्लिए । निर्णय बदले । यसबारेमा उनले लेखेका छन्, ‘भाइका कुराले ठूलो आत्मबल पाएँ । मलाई अत्यन्तै आडभरोसा पाएको लाग्यो । साइला भाइका कुराले ढुक्क भएँ । भाइको निष्कर्ष मानें । उनका कुरालाई सहर्ष स्वीकारें । अहिले सम्झन्छु- ‘भाइले मानेको भए त्यो लगानी अस्ट्रेलियामा कहाँ पुग्थ्यो होला ?’

वाम एकता गर्न रातदिन खटेका थिए आङछिरिङ

सोनाम अन्तरमुर्खी छन्, आङछिरिङ बहिर्मुखी । सोनाम पर्दा पछाडि रहेर काम गर्थे । आङछिरिङ बाहिर रहेर । सोनाम शान्त थिए । तिब्बती पात्रोको बाघ वर्षमा जन्मेका आङछिरिङ भने आवश्यक ठाउँमा कडा मिजासका पनि थिए । राजनीतिमा सोनामको खासै चासो नभए पनि आङछिरिङको भने व्यापक चासो थियो । धेरै नेताहरुसँग त उनको चिनजान व्यक्तिगत थियो । उनले वाम दलहरुलाई एकै स्थानमा ल्याउन पहल पनि गरेको सोनामले लेखेका छन् ।

उनी लेख्छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई एकीकृत गराउनमा भाइको पनि ठूलो योगदान थियो । भाइले निकै मेहनत गरेका थिए । त्यो कुरा मलाई धेरै थाहा छ । उनी रातदिन नभनी नेताहरुसँग भेटघाट गर्ने, छलफल गर्ने, बीचको मध्यमार्गी बाटो खोजेर दुवै पार्टीलाई एक बनाएर राजनीतिक स्थायित्वका निम्ति मरिमेटेका थिए ।’

गृहजिल्लाको रोजगारी, गोत्रको कोलोनी र धराने विमानस्थलका असफल सपना

माइला सोनाम, साइँला आङछिरिङ र कान्छा आङटेण्डीको एउटै सपना थियो, तीन दाजुभाइ मिलेर एकै कोलोनी बनाउने । सपनाको कोलनीको नाम दिएका थिए- पोलदोर्जे । आफ्नो गोत्रको नाममा बनाएको कोलोनीमा बस्ने उनीहरुको सपनालाई बखत बखतमा आएका हेलिकप्टर दुर्घटनाले पूरा हुन दिएनन् । सोनाम र आङछिरिङको अर्को साझा सपना थियो- सोलुखुम्बुका दश हजारलाई रोजगारी दिने । यो सपना पनि अपूरो रह्यो ।

आङछिरिङको अर्को सपनामा एक सपना थियो- धरानमा विमानस्थल बनाउने । निजी क्षेत्रले जग्गा दिएर केही सकारात्मक संकेत पनि आएको थियो । तर, विमानस्थल बन्न सकेन । यसबारेमा सोनाम लेख्छन्, ‘त्यहाँ (धरानमा) विमानस्थल बनाउने र पूर्वी भेगका सबै जहाजको संयोजन गर्ने, जनजीवनलाई सेवा सुविधा दिने लक्ष्य थियो । यस कार्यका लागि भाइले खुबै मेहनत पनि गरे । उनले पटक पटक मन्त्री, सचिव र सम्बन्धित निकायसँग छलफल गरे । तर, सरकारले निजी क्षेत्रलाई विश्वास गरेन । काम अघि सरेन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *