जब फ्रान्सेली पूर्वराष्ट्रपति नेपाल ल्याउँछु भन्दा रमेशनाथ पाण्डेले प्रहरी लगाएर गलहत्त्याए – Nepal Press
किताबी कुरा

जब फ्रान्सेली पूर्वराष्ट्रपति नेपाल ल्याउँछु भन्दा रमेशनाथ पाण्डेले प्रहरी लगाएर गलहत्त्याए

काठमाडौं । सुन्दै अचम्म लाग्छ । तत्कालीन पर्यटन राज्यमन्त्रीलाई एक पर्यटन व्यवसायीले फ्रान्सका भूतपूर्व राष्ट्रपति मेरा साथी हुन्, म उनलाई नेपाल ल्याउँछु, सहयोग चाहियो भने । हत्तपत्ती मन्त्रालय जानै सकस भएको समयमा एक दिन सुटुक्क मन्त्रालय पुगेका उनले मन्त्रीकै अगाडि यस्तो भने । मन्त्रीले पत्याएनन् मात्रै होइन, उल्टै गाली गरे । प्रहरी लगाएर मन्त्री कक्षबाट गलहत्त्याए ।

मन्त्री कक्षबाट निकालिने अनुहार थिए- यती एयरलाइन्सका संस्थापक ल्हाक्पा सोनाम शेर्पा । शेर्पालाई निकाल्ने अनुहार थिए- नेपालका पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे ।

पाण्डे पर्यटन राज्यमन्त्री भएको समयमा यो घटना भएको सोनामले हालसालै बजारमा ल्याएको आफ्नो आत्मकथा ‘हिम्बु’मा उल्लेख गरेका छन् । ‘हिम्बु’को अध्याय ‘थामसेर्कुको थालनी’ अन्तर्गतको पेज नम्बर ५४ र ५५ मा यो प्रसंग उल्लेख छ ।

सोनामको लेखन र मदन पुरस्कार विजेता लेखक युवराज नयाँघरेको सम्पादनमा तयार भएको पुस्तकका अनुसार सन् १९८७ मा फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का देस्ताँसँग सोनामको भेट भयो । पूर्वराष्ट्रपतिको जन्मस्थान किलेमो फेरोंसका १० फ्रान्सेलीसँगै ३ नेपालीको सम्बन्धले थामसेर्कु हिमाल चढेर थप उचाइ लियो । पूर्वराष्ट्रपति साथी भए । उनले नेपाल, बुद्ध, हिमाल र शेर्पाको विषयमा चासो दिए । नेपाल आउन चाहे । त्यसलाई महत्व दिन राज्यकै सहयोगको प्रयत्नमा लागे सोनाम ।

नेपालको पर्यटनमात्रै होइन, नेपाल र फ्रान्सको कूटनीतिक साइनोलाई कसिलो बनाउन उनले पर्यटनमन्त्रीको समूहसँग कुरा गर्ने प्रयत्न गरे । तत्कालीन त्रिपुरेश्वरमा रहेको पर्यटन मन्त्रालय पुगे । गार्डले मन्त्रालय छिर्न दिएन । पीएसँग कुरा गर्दा पनि उनले झुलाइदिए । एक दिन कसोकसो गरेर मन्त्रालयमा पुगे सोनाम । राज्यमन्त्री पाण्डेसामु पुगेर भने, ‘फ्रान्स पूर्वराष्ट्रपति मेरा साथी हुन् । उनलाई नेपाल घुमाउन निम्तो चाहिएको छ । निम्तो दिनुपर्‍यो ।’

यो कुरा राज्यमन्त्री पाण्डेले पत्याएनन् । र, भनिहाले, ‘यो मान्छे पागल जस्तो छ, के कुरा गर्छ ?’ उनले आफ्नो कुरा सत्य भएको भन्दा पनि पाण्डेले पत्याएनन् । कुरै सुन्न चाहेनन् । जबरजस्ती कोठाबाटै बाहिर निकाले ।

यसबारेमा सोनामले लेखेका छन्, ‘राज्यमन्त्रीले अन्त्यमा प्रहरी बोलाएर मलाई कोठाबाट निकाले । भारी मन लिएर मन्त्रालयबाट निस्किएँ ।’

आफूले पाएको यो अपमान फ्रान्सका पूर्वराष्ट्रपतिलाई सुनाएको र उनले दिएको प्रतिक्रियाबारेमा सोनाम लेख्छन्, ‘केही पछि फ्रान्स गएँ । पर्यटन राज्यमन्त्रीसँगको भेट र अरु सबै कुरा पूर्वराष्ट्रपति भालेरीसामु राखें । उनी पनि मेरा कुरा सुनेर स्तब्ध भए । प्रतिक्रियाविहीन भए, दुःखित भए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *