मिडियाको दबाबले मन्त्री बनेँ, खुसीको अनुभूति गरेको छु : डोबाटे विश्वकर्माi – Nepal Press

मिडियाको दबाबले मन्त्री बनेँ, खुसीको अनुभूति गरेको छु : डोबाटे विश्वकर्माi

पोखरा । गण्डकी प्रदेशसभामा ६० सांसद रहेकोमा संविधानले २० प्रतिशत अर्थात् बढीमा १२ जनालाई मन्त्री बनाउने छुट दिएको छ । डोबाटे विश्वकर्मालाई सोमबार मन्त्रीमा नियुक्त गर्दै गण्डकीले आफ्नो कोटा पुर्‍याएको छ ।

अघिल्लो सरकार हुँदा ७ जनामात्रै मन्त्री थिए । एमाले नेतृत्वकै सरकारले मन्त्रालय फुटाएर ११ पुर्‍यायो । ७ बाट ८ सदस्यीय मन्त्रीमण्डल बन्यो । अन्तिम समयमा फुटाइएको मन्त्रालयमा मन्त्री पनि नियुक्त गर्न नपाउँदै सरकार ढल्यो र गठबन्धनको सरकार बन्यो ।

कांग्रेस नेतृत्वमा बनेको सरकारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको समर्थन छ । जसपा र माओवादी सरकारमै सहभागी छन् । स्वतन्त्र सांसद राजीव गुरुङ पनि मन्त्री पद सुनिश्चित गर्दै अघिल्लो सरकारको समर्थन छोडेर नयाँ गठबन्धनमा लागे । यहाँ झिनो बहुमत (३१ मात्रै) बाट सरकार बनेको हो ।

अहिले एमाले मात्रै विपक्षमा छ । एमालेसँग २७ सांसद छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई सोमबार विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै सपथ लिइसकेका छन् । दसैँलगत्तै मन्त्रीहरूको कार्यविभाजन पनि हेरफेर हुने बताइएको छ ।

डोबाटे साउन ८ मै मन्त्री बन्ने चर्चा थियो । अन्तिम समयमा उनको नाम मन्त्रीको सूचीमा परेन । त्यसपछि सञ्चारमाध्यमहरूले संविधान र समावेशी सिद्धान्तको विरुद्ध सरकार गएको भन्दै आलोचना गरे । सरोकारवालाको चासो पनि मन्त्रीपरिषद् विस्तारमा गयो । चौतर्फी दबाबपछि नेपालीले डोबाटेलाई मन्त्री बनाएका हुन् ।

डोबाटे कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा गनिन्छन् । तर प्रदेशसभामा सभापति शेरबहादुर देउवाको प्यानल बलियो छ । मुख्यमन्त्री पौडेल समूहबाटै भए पनि आन्तरिक दवावका कारण उनले डोबाटेलाई मन्त्री बनाउन सकेका थिएनन् । अहिले सत्तारुढ गठबन्धनसँग पनि सल्लाह नगरी उनले मन्त्रीमा नियुक्त गरिदिए ।

मन्त्री डोबाटेसँग गरिएको संक्षिप्त कुराकानीः

– मन्त्री त बन्नुभयो, जिम्मेवारी के हो ?

मन्त्रालयको टुंगो छैन । सपथ खाएँ । अब संविधानले जे भनेको छ, मुख्यमन्त्रीज्युले जे जिम्मेवारी दिनुहुन्छ, त्यही पूरा गर्छु । संविधानले दिएको अधिकारकै अधिनमा रहेर प्रदेशलाई समृद्ध बनाउन भूमिका खेल्छु ।

– दुई महिनाअघि मन्त्री बन्नबाट वञ्चित हुनुभयो । तपाईंको नाम अन्तिममा काटियो, अहिले कसरी मन्त्री बन्नुभयो ?

पार्टीमा छलफल भयो होला । मिडियाले धेरै चासो र चिन्ता गर्‍यो । मिडियाको दबाबले पार्टीलाई महसुस भयो होला । पार्टीले गल्ती गरेको महसुस गरेर मन्त्री बनायो भन्ने ठानेको छु । यो संविधानको कार्यान्वयन हो । समानुपातिक सिद्धान्तलाई पालना गर्‍यो, गण्डकी सरकारले भन्ने बुझ्नुपर्छ । यो स्वाभाविक प्रक्रिया हो, खुसीको अनुभूति गरेको छु । पार्टीभित्रको आन्तरिक कुरा हो । गौणरूपमा लिनुपर्छ ।

-प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पोखरा आउनु र तपाईं मन्त्रीमा नियुक्त हुनुमा कुनै तादम्यता छ ? कि मुख्यमन्त्रीले स्व:विवेकले गर्नुभएको हो ?

प्रधानमन्त्रीज्यू पनि आउनुभएको थियो । त्यहाँ कुरा भयो । मैले पनि प्रधानमन्त्रीलाई भेटेँ । अरु कुरा त गरिनँ । आशीर्वाद मागेँ । प्रधानमन्त्री र सभापतिलाई कार्यकर्ताको हैसियतले भेट्नु सामान्य भयो । मैले आशीर्वाद चाहियो हजुर भनेँ । उहाँले आशीर्वाद दिनुभयो । मन्त्री भएँ । खुसी छु । दसैँको बेला मागेको आशीर्वाद लाग्दो रहेछ । मलाई पूरा भयो । एउटा विश्वास नै त रहेछ आखिर ।

– मन्त्रालयको पनि छलफल भएको छ र ? कुन मन्त्रालयमा जाने चाहना छ ?

त्यस्तो कुनै कुरा भएको छैन । तर, सल्लाह होला । मैले यो देउ भनेर भएन । सरकारले निर्णय गर्ने हो । प्रदेश सरकारले छिटै जिम्मेवारी दिन्छ भन्ने विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर