नदीजन्य पदार्थ उत्खनन्‌को ठेक्का रद्द गर्न निजगढ नगरपालिकालाई चेतावनी – Nepal Press

नदीजन्य पदार्थ उत्खनन्‌को ठेक्का रद्द गर्न निजगढ नगरपालिकालाई चेतावनी

बारा । बाराको निजगढ नगरपालिकाले ५ वटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्का लगाएकोमा चुरे तथा वनजंगल संरक्षण अभियानले आपत्ति जनाएको छ ।

अभियानले आईतबार जनकपुरमा पत्रकार सम्मेलन गरी नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्का खारेजको माग गरेको हो । खोलाको ठेक्का खारेज नगरे कडा संघर्षमा उत्रने र संघर्षबाट हुने क्षतिको सम्पूर्ण जिम्मेदारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी समितिले दिएको छ ।

समितिका राष्ट्रिय संयोजक सुनिल कुमार यादवका अनुसार निजगढ नगरपालिकाले वडा ३ को बगरे खोला, वडा १२ को भक्तलाल खोला, वडा ४ को बकैया खोला, वडा १३ को शक्ति खोला र वडा १ को धन्सार खोला ठेक्का लगाएको हो ।

चुरेअन्तर्गत पर्ने कुनै पनि खोला ठेक्का लगाउनका लागि वन कार्यालयसँग समन्वय गर्नुपर्ने हुन्छ । त्यसैले नगरपालिकाले वन कार्यालयसँग सुझाव मागे । वन कार्यालयले आर्थिक लाभका लागि खोला दोहन गर्ने कुनै पनि कार्यक्रम नगर्न भनेपछि ठेक्का प्रक्रिया तत्काल स्थगित भएको थियो ।

पछिल्लो समय राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति खुलमटार, काठामाडौं र जिल्ला समन्वय समितिले नदी उत्खनन्का लागि सहमती दिएपछि नगरपालिकाले खोलाहरु ठेक्का लगाएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र जिल्ला समन्वय समितिले सहमती प्रदान गरेकोप्रति अभियानको आपत्ति छ ।

समितिका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र जिल्ला समन्वय समितिका पदाधिकारी आर्थिक प्रलोभनमा परेर नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्का लगाउन सहमती दिएको आरोप लगाए ।

उनले भने, ‘चुरे तथा वन जंगललाई संरक्षण र सम्बद्र्धनमा जोडदिनुको सट्टा चुरे दोहन र अवैध ठेक्का दिनु भनेको सिंगो मधेस र देशका लागि ठूलो दुर्भाग्य हो । त्यसैले ठेक्का तत्काल बदर गर्न माग गर्दछु ।’ लाखबकैया खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा निकासी गर्दा निजगढको दोस्रो अन्तराष्ट्रिय विमानस्थल परियोजनालार्य पनि असर पार्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर