सुपर कपमा चेल्सी र भिलारियाल भिड्दै – Nepal Press

सुपर कपमा चेल्सी र भिलारियाल भिड्दै

काठमाडौं । गत सिजनको युइएफए च्याम्पियन्स लिग च्याम्पियन चेल्सी र युरोपा लिग च्याम्पियन भिलारियाल बुधबार राति सुपर कपमा आमनेसामने हुँदैछन् ।

गत सिजन च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस प्रतिद्वन्दी म्यानचेस्टर सिटीलाई १–० गोलको नजितामा पराजित गर्दै चेल्सीले २०१२ पछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । त्यस्तै, स्पेनिस क्लब भिलारियालले पनि युरोपा लिगाको फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको थियो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएसँगै युरोपा लिगको फाइनल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत लिइएको थियो ।

रोमाञ्चक पेनाल्टी सुटआउट–सडन डेथमा ११–१० को जित निकाल्दै भिलारियालले पहिलो पटक युरोपियन फुटबलको उपाधि जितेको थियो ।

आज राति नर्दन आयरल्यान्डको राजधानी बेलफास्टस्थित विस्डोर पार्कमा हुने खेलमा भिलारियाल दोस्रो युरोपेली फुटबलको उपाधि जित्ने दाउमा छ । यद्यपि, सन् १९९८ यताका तीन सुपर कपमा पराजित चेल्सी खराब इतिहास परिवर्तन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ ।

यसअघि सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिग जितेको चेल्सी युरोपा लिग विजेता एथ्लेटिको मड्रिडसँग पराजित भएको थियो । त्यसपछि पुनः २०१३ मा युरोपा लिग जित्दै सुपर कप खेलेको चेल्सीविरुद्ध जर्मन महारथी बायर्न म्युनिखले बाजी मारेको थियो ।

त्यस्तै सन् २०१९ मा पनि युरोपा लिग जित्दै सुपर कपमा पुगेको चेल्सी च्याम्पियन्स लिग विजेता लिभरपुलसँग पराजित भएको थियो ।

चेल्सीले अन्तिम पटक सन् १९९८ मा रियाल मड्रिडलाई १–० को नतिजामा पराजित गर्दै सुपर कपको उपाधि जितेको थियो ।

अर्कातिर पहिलो पटक सुपर कप खेल्न लागेको भिलारियालका प्रशिक्षक उनै एम्रीले भने तीन पटक सुपर कपको अनुभव लिइसकेका छन् । सन् २०१४ देखि १६ सम्म लगातार सेभिया युरोपा लिग च्याम्पियन बन्दा एम्री नै प्रशिक्षक थिए ।

यद्यपि, तीन पटक नै सुपर कपमा सेभिया पराजित भएको थियो । तीमध्ये एक पटक बार्सिलोना र दुई पटक रियाल मड्रिडसँग एम्री नेतृत्वको सेभिया पराजित भएको थियो ।

आज राति नेपाली समयअनुसार १२ः ४५ बजे सुरु हुने खेलमा दुवै टोली जित हासिल गर्दै उपाधिसहित नयाँ सिजनको सुरुआत गर्ने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *