पोखरा स्पोर्ट्स अवार्डः मनोनयनमा क्रिकेटका अर्जुन कुमाल र भलिबलकी अरुणा शाही पनि – Nepal Press

पोखरा स्पोर्ट्स अवार्डः मनोनयनमा क्रिकेटका अर्जुन कुमाल र भलिबलकी अरुणा शाही पनि

पोखरा । आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पत्रकार सम्मेलन गर्दै स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन सार्वजनिक गरेको हो ।

पोखरा सभागृहमा वैशाख २८ गते हुने अवार्डअन्तर्गत पुरुष वर्ष खेलाडी विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् ।

महिला वर्ष खेलाडी विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर र १७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु छन् ।

स्पोर्ट्स अवार्डमा ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरू लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा केहि दिनमा सार्वजनिक गर्ने जनाएको छ ।

पुरुष वर्ष खेलाडी र महिला वर्ष खेलाडी हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने अध्यक्ष बरालले बताए ।

उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने समेत मञ्चले जनाएको छ । मञ्चले खेल क्षेत्रमा ऊर्जा थप्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *