विकास साझेदारले भने- नेपालमा लगानीको वातावरण बनेको छ – Nepal Press

विकास साझेदारले भने- नेपालमा लगानीको वातावरण बनेको छ

काठमाडौं । विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग साइड लाइट वार्ता गरेका थिए ।

त्यस क्रममा उनीहरूले सरकारले हालै मात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानी वातावरण बनाएको बताए । यस्तै उनीहरूले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेरै प्रशंसा गरे ।

सम्मेलन उद्घाटन सत्रमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएका तर्फ उनीहरूको संकेत थियो । उनीहरूले कानूनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए ।

नेपालका दलहरूमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरूको भनाइ थियो ।

बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव वैकुण्ठ अर्याल, अर्थ सचिव मधुकुमार मरासिनी, राजश्व सचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह-सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर