दुई सचिव बढुवाका लागि ६ जना सिफारिस – Nepal Press

दुई सचिव बढुवाका लागि ६ जना सिफारिस

काठमाडाैं । नेपाल सरकारको रिक्त रहेको दुई सचिव पदमा बढुवाका लागि ६ जना सहसचिवको नाम सिफारिस भएको छ ।

सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम र कृषि तथा वन सेवातर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिव लोकनाथ पौडेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस गरेको छ । पौडेल बढुवा सिफारिस समितिबाट यस अघि दुई पटक सचिव बढुवाका लागि सिफारिस भइसकेका छन् ।

बढुवाका लागि सिफारिस भएका सहसचिव पौडेल मधेश प्रदेशमा कामु प्रमुख सचिवको जिम्मेवारीमा, कार्की बागमती प्रदेश कायम मुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारीमा छन् भने पन्थ गृह मन्त्रालय अन्तर्गतको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक थिए । यद्यपी केहि दिन अघि मात्रै ६० जना सहसचिवको सरुवा हुँदा पन्थको लुम्बिनी प्रदेशमा कामु प्रमुख सचिवमा सरुवा भइसकेको छ ।

यस्तै कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवका लागि सहसचिव सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रको नाम सिफारिस भएको छ । तीनै जना सहसचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नै कार्यरत छन् ।

जसमा कर्ण खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै योजना तथा विकास सहायता समन्य महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

सम्भव त अब बस्ने मन्त्रिपरिषद् बैठकले ६ जना सहसचिवमध्ये दुई जनालाई सचिवमा बढुवा गर्नेछ । यदि सरकारले बरिष्ठताका आधारमा सचिव बढुवा गरेमा प्रशासनतर्फ लाेकनाथ पाैडेल र कृषि तथा वन सेवातर्फ सञ्जीवकुमार कर्ण बढुवा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर