हिमालयन रि-इन्स्योरेन्सको सेयरमा वार, सुलभविरुद्ध प्रशासनमा मुकुन्दको गुहार – Nepal Press

हिमालयन रि-इन्स्योरेन्सको सेयरमा वार, सुलभविरुद्ध प्रशासनमा मुकुन्दको गुहार

कानूनी उपचार खोज्ने मुकुन्दको तयारी, सुलभ भन्छन्- कुनै समस्या छैन

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरको विषयमा दुई ठूला व्यवसायीबीचको विवाद सतहमा आएको छ ।

जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र सम्राट सिमेन्टको सेयर बिक्री गरेर सूर्यतारा सिमेन्ट उद्योग खोल्ने तयारीमा रहेका मुकुन्द तिमिल्सिनाबीच सेयर किनबेचलाई लिएर विवाद भएको हो । सुलभको बुबासँग तिमिल्सिनाको निकट सम्बन्धका कारण हिमालयन रि-इन्स्योरेन्समा लगानी गरेको मुकुन्दको भनाइ छ ।

उनले आफूमाथि सुरक्षा थ्रेट बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदनसमेत दिएका छन् । प्रशासनले जिल्ला प्रहरी परिसर टेकुलाई आवश्यक कारबाहीलाई लागि निर्देशन दिएको छ ।

तत्कालीन बीमा समिति (बीमा प्राधिकरण) ले २०७६ जेट २३ गते हिमालयन रि-इन्स्योरेन्स लाइसेन्स दिएको थियो । लाइसेन्स पाएपछि कम्पनी सञ्चालनको लागि १० अर्ब पैसा जम्मा गर्नुपर्ने भयो । जसमा ३० प्रतिशत सर्वसाधारणलाई छोड्दा ७ अर्ब जम्मा गर्नुपर्थ्यो । त्यो रकमको जिम्मा लिएको जगदम्बा ग्रूपले इन्स्योरेन्सको लाइसेन्स पाएपछि तिमिल्सिनाले आफू पनि सो कम्पनीमा जोडिने प्रस्ताव लगेको बताए ।

आफ्नो प्रस्ताव सुलभले स्वीकारेको तिमिल्सिनाले बताए । इन्स्योरेन्सले कम्पनी सुरू भएपछि ३ सय प्रिमियमा सेयर जारी गर्ने र त्यसबाट आएको पैसाले आव २०७८/७९ र ७९/८० मा ५० प्रतिशत बोनस दिन अग्रवालले भनेको उनको दाबी छ ।

तिमिल्सिनाले भने, ‘कामाख्या फिनकर्प नामक कम्पनीबाट मलाई सुलभ अग्रवालले ३४ करोड ८० लाख रूपैयाँमा ३४ लाख कित्ता संस्थापक सेयर दिने सहमति भएको थियो । अग्रवालले माडवारीको बोली हो, धोका हुँदैन भने । तर, कम्पनीमा ९ लाख कित्ता सेयर थियो । त्यसमध्ये पनि मलाई ६ लाख ७५ हजार कित्तामात्रै दिए । २ लाख २५ हजार कित्ता सुलभको श्रीमती सुभीको एकल निर्णयले जफत गरियो । अहिले सुलभले मेरो फोन पनि उठाउँदैन । अहिले जति सेयर पाएको छ त्यसै अनुसारको सेयर मूल्य भएको भन्दै अग्रवाल हिँडेका छन् । १ सय रूपैयाँ कित्ता भनेर किनेको सेयर ५१७ रूपैयाँ मूल्य हुन्छ ? म अब कानूनी बाटो समाउँछु ।’

तिमिल्सिनाले आफ्नो र छोरा प्रज्ञातको नामबाट पटक-पटक गरी ३४ करोड ८० लाख पैसा ७ वटा चेकबाट सुभी अग्रवालमार्फत फिनकोर्प कम्पनीमा जम्मा गरेको बताएका छन् । सम्राट सिमेन्टको सेयर चौधरी ग्रूपलाई बिक्री गरेर आएको रकमबाट उक्त रकम लगानी गरेको उनको भनाइ छ ।

सुलभ अग्रवालले भने संस्थापक सेयर बिक्रीमा कुनै समस्या नरहेको बताए ।

अग्रवालले इन्स्योरेन्सको लाइसेन्स पाएपछि तिमिल्सिनाले त्यो कम्पनीमा लगानी गर्दा ठगीमा परेको बताएका छन् । अग्रवालले ठूलै खर्च गरेर रि-इन्स्योरेन्सको लाइसेन्स पाएको चर्चासमेत छ ।
नेपाल धितोपत्र बोर्डमा अहिले अध्यक्ष नहुँदा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोकिएको छ ।

रमेश हमाल बोर्डको अध्यक्ष हुँदा नै जगदम्बा ग्रूपलाई लाइसेन्स दिने तयारी थियो । तर, कर्पोरेट वारकै कारण नयाँ लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *