काठको अवैध धन्दामा मुछिएका मेयरका छोरा जोगाउन कांग्रेसी नेताको दौडधुप – Nepal Press

काठको अवैध धन्दामा मुछिएका मेयरका छोरा जोगाउन कांग्रेसी नेताको दौडधुप

रुपन्देही । कपिलवस्तुको एक फर्निचर उद्योगबाट गैरकानूनीरूपमा बेचिएका काठसहित पक्राउ परेका व्यक्तिलाई छुटाउन नेपाली कांग्रेसका नेताको दौडधुप चलेको छ ।

बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठले सञ्चालन गरेको महेन्द्रकोट काष्ठ तथा फर्निचर उद्योगबाट दुई साताअघि चिरान काठ बुटवल पठाउन लाग्दै गर्दा गाडीसहित पक्राउ परेपनि गुपचुपमा मिलाउन खोजिएको थियो । तर, कर्मचारीले जतिसुकै दबाब आएपनि कानूनी प्रकृया अघि बढाउने अडान लिएपछि कारबाही अघि बढेको थियो ।

बुद्धभूमि नगरपालिकामा रहेका तीन सामुदायिक वन जुरपानी जयवन शक्ति वसन्तपुर सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताको हित र समूहको लागि महेन्द्रकोट काष्ठ तथा फर्निचर उद्योग सञ्चालन गरेका छन् । अहिले त्यो उद्योग मेयर श्रेष्ठका छोरा दीपु श्रेष्ठले चलाइरहेका छन् । यो फर्निचरमा समूहका काठ टाँचासहित आएर चिरान हुने पछि पनि टाँचा लगाएर बाहिर पठाउने गरिन्थ्यो । तर, वैशाख १ गते लु. १ च ८२१७ नम्बरको बोलेरोबाट गैरकानूनी रूपमा चिरान काठ बुटवल लैजाँदै गरेको अवस्थामा बुद्धभूमि नगरपालिका-३ बाट चालक मधु न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको प्रकृया अघि बढाइएको जिल्ला वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले बताए ।

‘चिरान काठ ३८.७ घनफिट कानूनविपरीत बुटवल लैजाँदै गरेको अवस्थामा गाडीसहित बैशाख १ गते पक्राउ गरिएको हो, गोरुसिंगे सवडिभिजन कार्यालयले यसको अनुसन्धान गरिरहेको छ, कानूनविपरीत भए सोही अनुसार अघि बढ्छ’, उनले भने ।

जुरपानी सामुदायिक वनका अध्यक्ष तथा उक्त फर्निचर उद्योगका साझेदार शालिकराम बन्जाडेले तीनै सामुदायिक वनले सञ्चालन गरेको फर्निचर उद्योगको सबै जिम्मेवारी मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठले लिएको र आफूले वन कार्यालयका अनुसन्धान अधिकृतसँग पनि यथार्थ कुरा बताएको जनाए ।

‘आफ्नो क्षेत्रभन्दा बाहिरको जिल्लामा बेच्न जान नपाइने कानून थाहा नपाएर यस्तो भएको भन्ने आयो, अब जिम्मेवारी जसले लियो उसैले त बहन गर्नुपर्‍यो, हामीले गर्ने पहल गर्‍यौं, सबैलाई नजानेर यस्तो भएको हो मिलाउनुस् भनेर अनुरोध गर्‍यौं । तर सबैतिरबाट कर्मचारीलाई दबाब भएपछि छिटो अदालत पठाइदिएजस्तो लाग्यो’, उनले भने, ‘वनको मुद्दा अदालतमा पुग्यो, अब सबैलाई समस्या पर्‍यो, कति धेरै समूहको काठ मिलमा छ, अब मिलमा पनि ताला लाग्यो, वनको मुद्दा त्यति सजिलो पार लाग्दैन ।’

उनले फर्निचर उद्योगका सञ्चालक दीपुले आफ्नो गाडीमा सामान नपठाएर भाडाको गाडीमा पठाएकाले पनि समस्या भएको बताए ।

दुई साताअघि पक्राउ परेपनि यसलाई आन्तरिक हिसाबले मिलाउने भन्दै सार्वजनिक गरिएको थिएन । कांग्रेस नेता तथा मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठलाई यो विषयमा जोगाउन नेताहरुले निकै कसरत गरेका छन् । पक्राउ परेका चालक मधु न्यौपाने यसको भरियामात्रै भएको, भ्याट बिल र कागज भएकाले सामान लिएर हिंडेकाले उनी निर्दोष रहेको दाबी निकटकाले गर्दै घटनाको छानबिन गरी दोषी पत्ता लगाउन माग गरेका छन् ।

‘आफैले गल्ती गरेको विषयलाई अनावश्यक रुपले दबार सृजना गर्न खोजियो, हामीले कानूनले जे भन्छ त्यही गर्ने हो, अनुसन्धान प्रकृयामा अगाडि बढेको छ’, वनका एक कर्मचारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर