झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा ३६ हजार ५३ मत गन्दा नेकपा एसले ३ सय कटाउन सकेन – Nepal Press

झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा ३६ हजार ५३ मत गन्दा नेकपा एसले ३ सय कटाउन सकेन

काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाएको थियो। पछिल्लो मतपरिणामअनुसार राईले २९९ मत ल्याएका छन्।

इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला पनि हो। उनलाई पार्टीले चुनावी कमान्डर समेत बनाएर पठाएको थियो। तर, नेता खनाल कमान्डर बनेका उम्मेदवार राईको जमानत जफत हुने अवस्थामा छ।

तर, चुनावअघि इलाम खटिएका खनालले आफ्नो पार्टीका उम्मेदवार राईले सबैलाई चकित पार्ने गरी जित्ने दाबी गरेका थिए।

उनले भनेका थिए, ‘इलाममा हाम्रो पार्टीले जित्दै छ, जितबहादुर, नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ। धेरै चकित हुनेछन्।’

अहिले यो नेता खनालको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यसो त नेता खनाल आफैँ गएको निर्वाचनमा गठबन्धनको बलमा निर्वाचन लड्दा पनि इलाम १ बाट पराजित भएका थिए।

पछिल्लो मत परिणाम अनुसार इलाममा एमालेका सुहाङ नेम्वाङले १४ हजार ६१३ मत पाउँदै अग्रता कायम राखेका छन्।

कांग्रेसले ९ हजार ३११, स्वतन्त्र उम्मेदवार डकेन्द्रले ८ हजार ५७० र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले २०५७ मत प्राप्त गरेको छन्। ६९ हजार २८७ खसेको मतमध्ये अहिलेसम्म ३६ हजार ५३ मत गनिसकिएको छ।

यस्तै, नेकपा एसको बझाङमा पनि जमानत जफत भइसकेको छ। त्यहाँ पार्टी सचिव गरिमा शाहलाई चुनावी कमान्डर बनाएर पठाएको थियो। इलामको तुलनामा बझाङको उल्लेख्य मत ल्याए पनि जमानत जोगाउन असफल बन्यो।

बझाङमा नेकपा एसका उम्मेदवार दिलबहादुरले २ हजार ५१४ मतसहित चौंथोमा सीमित रहे।

त्यहाँ एमालेका उम्मेदवार दमन भण्डारी ११ हजार ६१२ मत ल्याएर विजयी भए भने कांग्रेसका अभिषेकबहादुर सिंह ११ हजार ३४३ मा रोकिए। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर