सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने, एमाले पनि दिन तयार – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने, एमाले पनि दिन तयार

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भोलि विश्वासको मत लिने भएका छन् । यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म विश्वासको मत लिने समयमा प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

२१ गते र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ । उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

‘हामी भोलि विश्वासको मत दिन्छौँ ’ उनले भने, ‘आज त्यस विषयमा संसदीय दलका बैठक बस्छ । भोलि विश्वासको मत लिने निर्णय हुन्छ ।’
वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने करिब पक्का जस्तै भएको छ ।

सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुनेछ । अहिलेसम्म सोडारी हित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । ती बाहेकका माओवादी र एमाले अहिले पनि सरकार बाहिर छन् ।

सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ । यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रन्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर