झलनाथको दस्तावेज- कांग्रेस मुख्य दुस्मन, पूर्वराजादेखि सीके राउत र रेशम चौधरी दलाल पुँजीवादी – Nepal Press

झलनाथको दस्तावेज- कांग्रेस मुख्य दुस्मन, पूर्वराजादेखि सीके राउत र रेशम चौधरी दलाल पुँजीवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले समाजवाद प्राप्तिको लागि अघि बढ्ने क्रममा मुख्य दुश्मन शक्ति र प्रधान अन्तरविरोध किटान गर्नुपर्ने भन्दै अध्यक्ष माधव नेपाललाई चुनौती दिएका छन् ।

नेकपा एसको आसन्न महाधिवेशनमा छलफलका लागि उनले पार्टीमा पेश गरेको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ नामक ६५ पेज लामो दस्तावेजमा नेपाली कांग्रेसलाई समाजवाद प्राप्तिको आन्दोलनको प्रमुख बाधक किटान गरेका छन् ।

अध्यक्ष माधव नेपालले कांग्रेसलाई प्रमुख विरोधी शक्ति किटान गर्नु नेकपा एस सकिने बाटो हुने भन्दै खनालको प्रस्तावको ठाडै विरोध गरेका छन् । नेपालको दस्तावेजमा एमालेको तीव्र विरोध गरिएको छ भने कांग्रेसको आलोचना छैन ।

यो पनि पढ्नुहोस्- माधव नेपालको प्रतिवेदन- एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी (पूर्णपाठ)

खनालले भने कांग्रेसलाई नव उदारवादी र दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने पार्टी भनेका छन् । उनले समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रममा कांग्रेससँग कम्युनिष्ट पार्टीहरूको अन्तरविरोध बढ्ने दावी गरेका छन् । खनालले एमाले र माओवादीसँग सहकार्य गर्ने प्रस्तावसमेत राखेका छन् ।

खनालले मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश गरेको प्रस्तावमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राप्रपालाई समेत दलाल पुँजीवादका प्रतिनिधि भनेका छन् ।

खनालको दस्तावेजमा भनिएको छ- यतिबेला नेपालमा पुँजीवादी संसदभित्र र बाहिर हेर्दा दलाल पुँजीवादलाई प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक गुटहरू छन । पूर्वराजाको गुट, राप्रपाको गुट, लोसपाको गुट, जनमत पार्टीको गुट, नागरिक उन्मुक्ति पार्टीको गुटलगायत साना, मझौला राजनीतिक गुटहरू छन् । तिनीहरू विभिन्न साना, मझौला राजनीतिक पार्टीका रूपमा संसदमा पनि प्रतिनिधित्व गर्दछ । यी सबै पुँजीवादी पार्टीहरू नै हुन । तर, तिनीहरू कोही पनि राष्ट्रिय पुँजीपति वा निम्न पुँजीपति पार्टीलाई प्रतिनिधित्व गर्ने चरित्र देखाउँदैनन । तर, उनीहरू सबैजसो आम रूपमा दलाल पुँजीवादलाई नै प्रतिनिधित्व गरिरहेका देखिन्छन् । यी कुनै पनि राजनीतिक गुटसँग नेपाली जनताको प्रमुख राजनीतिक अन्तर्विरोध छैन । उनीहरूका पनि गलत काम, कृयाकलाप र नीतिहरूको विरोध र भन्डाफोर गर्नुपर्छ । तर, उनीहरू कुनै पनि नेपाली जनता र समाजवादी क्रान्तिकारीहरूका मुख्य प्रतिद्वन्द्वी होइनन् ।

तर, जहाँसम्म नेपाली कांग्रेसको कुरा छ, यो उदारवाद/नवउदारवाद तथा दलाल पुँजीवादको हित प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक पार्टी हो । समाजवाद निर्माणको प्रक्रियामा त्यससँग लामोसमयसम्म अन्तरविरोध रहने छ । यो कम्युनिष्ट पार्टीसँग सँगै जस्तो जन्मिएर आएको पार्टी हो । यो पार्टीले पुँजीवादी जनवादी क्रान्तिको समग्र काल भरि नै उदार जमिन्दार र दलाल नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्दै आयो । यो उदार पुँजीवादी व्यवस्था र संसदीय लोकतन्त्रका पक्षमा छ । यो आजको पुँजीवादी शोषण, दमन र अन्यायपूर्ण सामाजिक व्यवस्थाको पक्षमा छ । तिनीहरूलाई संरक्षण गर्न चाहन्छ र समाजवादी क्रान्ति र रुपान्तरणका विरुद्ध छ । यो साम्राज्यवादीहरूसँगको सम्बन्धलाई बलियो बनाउने पक्षमा छ । पछिल्लो अवधिमा वामपन्थी आन्दोलन विभाजन हुँदै जाने क्रममा यो पार्टीले आफूलाई सुदृढ गर्दै ल्याएको छ ।


प्रतिक्रिया

2 thoughts on “झलनाथको दस्तावेज- कांग्रेस मुख्य दुस्मन, पूर्वराजादेखि सीके राउत र रेशम चौधरी दलाल पुँजीवादी

  1. अब एमालेले झलनाथ खनाललाइ एस पार्टीको अदक्ष बनाएर एमालेमा गाभ्ने निश्चित छ। प्रधान शत्रु एमाले भन्ने माकुनेको इतिहास मेटिन सक्छ ।

  2. माधवकुमार नेपाल र झलनाथ को राजनीतिक दस्तावेजमा रहेको फरकले नै राष्ट्रबादी धार र दलाल पुजीवादी धारको नेतृत्व कसकसले बोकेका छन नेपाल र नेपालीजनताले राजनीतिक रूपमा बुझेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर