फूलकाे अनियन्त्रित आयात रोक्न पुष्प कृषक आन्दोलनमा, आयातकर्ता प्रहरीमा – Nepal Press

फूलकाे अनियन्त्रित आयात रोक्न पुष्प कृषक आन्दोलनमा, आयातकर्ता प्रहरीमा

गत साउन १६ गते पुष्प व्यवसायीहरूले भारतबाट अवैधरूपमा आयात भएको सजावटमा प्रयोग हुने कपडा, सयपत्री फूलमाला, गुलाफको ताजा फूल र लक्की ब्याम्बोसहितको गाडी त्रिपुरेश्वरबाट नियन्त्रणमा लिए । भारतबाट अवैध तथा अनियन्त्रितरूपमा पुष्प आयात भएको भन्दै उनीहरूले नियन्त्रणमा लिएका फूल तथा सजावटका सामानहरू ललितपुरको बुङमतीमा लगेर नष्ट गरिदिए ।

जफत गरिएका केही सामान राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र पुल्चोकलाई बुझाइएको छ । पुष्प व्यवसायीहरूले फूल जफत गर्ने क्रममा भन्सार लाग्ने सामानहरू पनि लुकाएर ल्याइएको भेटाएका थिए ।

कोरोना महामारीले थलिएका पुष्प व्यवसायीहरू नर्सरीमा भएको फूलले बजार नपाएर चिन्तित छन् । आफ्नो उत्पादनले बजार नपाएको बेला भारतबाट अवैध आयात भइरहेको सूचना पाएपछि उनीहरूले हस्तक्षेप गरेका हुन् । उनीहरूले आयातकर्तालाई आगामी दिनमा अनियन्त्रित तथा अवैधरूपमा आयात गर्नुको साटो स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्न अपिल गरेका छन् ।

पुष्प व्यवसायीको कारवाहीपछि उक्त सामानका आयातकर्ताले काठमाडौं प्रहरी परिसर टेकुमा जाहेरी दिएका थिए । उनीहरूले विलअनुसार ३ लाख बराबरको क्षतिपूर्ति दिलाउन उजुरी गरेपछि फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघका पुष्प व्यवसायीहरू आइतबार आन्दोलनमा उत्रिए । आफूहरूविरुद्धको उजुरी फिर्ता गर्नुपर्ने र अवैधरूपमा फूल आयात कार्य बन्द गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

आन्तरिक उत्पादनले बजार नपाइरहेका बेला भारतबाट अनियन्त्रित रूपमा आयात भइरहँदा पुष्प कृषकहरु पिल्सिनु परिरहेको छ । सामान आयात गर्ने व्यक्तिलाई पटक-पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएपछि कारवाही गरिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । नर्सरी तथा पुष्प उत्पादक किसान संघका अध्यक्ष मोहन सिलवालले स्थानीय उत्पादनले बजार नपाएको हुँदा किसानले भारतबाट ल्याइएको फूल नष्ट गरेको बताए ।

उजुरी गर्ने कम्पनीले माफी मागेमा मात्रै आन्दोलन टुंगिने उनको भनाइ छ । उनले नेपाल प्रेससँग भने, ‘उनीहरूले नै माफी मागे र केही कागज भयो भने टुंगिन्छ । नत्र हाम्रो आन्दोलन लम्बिन्छ ।’

भारतीय सामान आयात गरी बेच्ने व्यापारीबाट भएको झुटा जाहेरी खारेज गर्न उनीहरुको माग छ । नेपाली पुष्प उत्पादनलाई क्षति हुने गरी भारतबाट फूल आयात रोक्नुपर्ने उनीहरू बताउँछन् । आयातकर्ताले मागेबमोजिमको क्षतिपूर्ति नतिर्ने अध्यक्ष सिलवालले बताए ।

उनले भने, ‘भारतबाट सामान ल्याउन बन्द गर भनेर दबाबस्वरूप हामीले आन्दोलन गरेका हौं,’उनी भन्छन्,‘उनीहरूले क्षतिपूर्तिको दावी गरेका छन् । तर, हामी तिर्दैनौ । उजुरी फिर्ता नलिए आन्दोलन लम्बिन सक्छ ।’

उनका अनुसार पहिलादेखि नै अवैधरूपमा फूल ल्याउने गरिएको थियो । व्यवसायीहरूले यसअघि पनि निरन्तर भारतबाट अवैध फूल आयात गर्ने आयातकर्तालाई आगामी दिनमा यस्ता काम नगर्न सचेत गराएका थिए । साथै नेपाली पुष्प उत्पादनलाई प्राथमिकता दिने सहमति भएको थियो । तर सहमतिविपरीत अवैध फूल साथै अन्य सामानहरू पनि आयात भइरहेको पुष्प व्यवसायीको आरोप छ ।

पुष्प व्यवसायी कृषकले विभिन्न माग राख्दै बुधबार ललितपुरका सीडीओलाई ज्ञापनपत्र बुझाए् । सरकारको ऐन-कानूनको परिधिबाहिर गएर कारोबार गर्दै आइरहेको भएता पनि सरकार मौन रहेको नर्सरी तथा पुष्प उत्पादक किसान संघको भनाइ छ । राज्यलाई कर छली गर्दै आयात हुने फूलको भुक्तानी प्रणालीको समेत गहिरो अनुसन्धान गर्न उनीहरूले माग गरेका छन् ।

नेपाली फूलको स्वदेशी उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजारको माग पूरा गरिरहेको छ । तर, फूलमा आत्मनिर्भरता उन्मुख भइरहेकै बेला कोरोना भाइरसको माहामारीले पुष्प व्यवसायमा समेत क्षति पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर